प्रेमचन्द (१८८०–१९३६) आधुनिक भारतीय साहित्यका एक साहसी आवाज र सुप्रसिद्ध आख्यानकार थिए । प्रेमचन्द जन्मदिवस (जुलाई ३१) को सन्दर्भमा उनको सम्झना :
श्रीधरले घाँटीमा दखिनेगरी ट्याटु खोपाएको थियो । त्यो थियो– प्रेमचन्दको अनुहार, जो बडो आकर्षक देखिन्थ्यो । कामको चपेटामा पनि प्रेमचन्दकै उपन्यासमा भुलिरहने उसको बानीदेखि मलाई बडो रिस उठ्थ्यो । त्यसैले म उसलाई सधैंजसो अफिसमा झपारिरहेकी हुन्थें ।
प्रेमचन्दझैं भोला थियो श्रीधर । लुखुरलुखुर चुपचाप आउँथ्यो र पढ्दै गरेको प्रेमचन्दलाई मेरो टेबुलमा छाडेर जान्थ्यो । म पनि साहित्य अनुरागी बाउकी छोरी न थिएँ, उसले राखेर गएको किताब नपल्टाई बस्नै सक्दिनथें, सर्रर त्यो किताब पल्टाएर हेर्थें नै । त्यसरी हो, प्रत्यक्ष–अप्रत्यक्ष तौरमा मैले प्रेमचन्दलाई पढ्दै आएको । यस पटक मेरो ‘अफिसियल टुर’को साथी बन्न पुगेको थियो– प्रेमचन्द । प्रेमचन्दले एक ठाउँ लेखेका रहेछन्, ‘मेरो कसौटीमा त्यो साहित्य उत्तम हो, जसमा उच्च चिन्तन, स्वाधीनताको भाव, सौन्दर्यको सार, सृजनको आत्मा प्रवाहित हुन्छ ।’ यत्ति पढ्दै मात्रै थिएँ, रेल कोलकाताको अति व्यस्त रेलवे स्टेसन स्यालदहमा पुगेर रोकियो । मेरो गन्तव्य स्थल त्यही थियो । हतारमा यात्रारत मानिसको भीड ठोक्किँदै, मिचिँदै, पिसिँदै एक सुरमा दौडिरहेको थियो । मानौं त्यो भीड प्रेमचन्दले लेखेको फिल्म ‘मजदुर’ कै भीड हो, जसमा पिसिएर दर्शकलाई नायक प्रेमचन्द खुट्ट्याउन गाह्रो परिरहेको छ । बडो अशान्त देखिन्थ्यो भीड । तर, अधीरतामै पनि कुन्नि किन मेरो नजरचाहिँ अल्लि परको मैलो भित्तातिर टाँस्सिएको प्रेमचन्दको बान्कीमा मुस्कुराइरहेको तस्बिरमा पुगेर थामियो ।
त्यो रहेछ, स्यालदहको पुरानो पुस्तक पसलको भित्ता, जसको भुइँमा बंगला साहित्यका प्रसिद्ध लेखिका महाश्वेता देवीको ‘हजार चुराशिर मा’ छेउ प्रेमचन्दको प्रसिद्ध उपन्यास ‘गोदान’ पनि सजिएको थियो । त्यो मेरो मूर्खता थियो वा साहित्यप्रतिको लगाव वा प्रेमचन्दप्रति हुर्किसकेको मेरो प्रेम, म आफ्नो गन्तव्य भुलेर प्रेमचन्दको उपन्यास ‘गोदान’ को एक प्रति प्राप्त गर्न स्यालदहको पुरानो पसलतिर सोझिइरहेकी थिएँ । त्यस क्षण मलाई लाग्यो, प्रेमचन्द जन्मेको १४३ वर्षपछि पनि उनको उत्कृष्ट कामलाई बंगालजस्तो साहित्यप्रेमी सहरमा देख्न पाउनु, आधुनिक हिन्दी साहित्यका पिता मुन्सी प्रेमचन्दप्रतिको सच्चा सम्मान हो । र, हो त्यो उनको स्थायी स्थितिको प्रामाणिकता ।
•••
मुन्सी प्रेमचन्द वास्तवमा एक जीवन्त रचनाकार थिए । उनका प्रत्येक कथा र उपन्यासका पात्र सजीव लाग्छन् । ‘गोदान’ जस्तो उनको त्रासदीपूर्ण उपन्यास पढ्दा म पनि उत्तिकै विचलित बनेकी थिएँ । लाग्यो म पनि उनका पात्र होरी, धनिया, गोबर, रूपा, सोना, भोला, झुनिया, हीरा, दत्तदान, मत्तादान, सेलिया, राई शैब, मालती देवी, सराज, श्री मेहता, श्री खन्ना अनि गोविन्दी वरिपरि घुमिरहेको कथाकै एक हिस्सा न हुँ । प्रेमचन्द आधुनिक भारतीय साहित्यका एक साहसी र निर्भय आवाज थिए । परम्परागत जीवन्त मूल्य अनि बाधक मरणशील तत्त्वबीच स्पष्ट विभाजन गर्न सक्ने द्रष्टा थिए । आधुनिकताको जनपरक मूल्यको पक्षधर अनि पुँजीवादी आधुनिकताको कठोर आलोचक पनि ।
प्रेमचन्दकै भाषामा उनको जीवन परिभाषा यस्तो छ, ‘मेरो जीवन सपाट, समतल मैदान हो, जसको पृष्ठभूमिमा हजारौं गड्डाहरू छन्, तर त्यहाँ पहाड, बाक्लो जंगल, गहिरो खाईहरूको स्थान छैन । त्यसैले जो सज्जनलाई पहाड घुम्ने सोख छ, यहाँ उसलाई निराशा छ ।’ रोमान्टिक एंगलबाट प्रेमचन्दलाई जोड्ने ठाउँ कतै छैन । उनको कथा त्यही हो, जो प्रत्येक आम व्यक्तिको हुँदो हो । बनारसदेखि सारनाथ जाने सडकछेउ एउटा सानो गाउँ छ, लमही । त्यहीं ३१ जुलाई, १८८० मा डाक मुन्सी अजायब लालको घरमा एक पुत्रको जन्म भयो, जसलाई आज दुनियाँले ‘प्रेमचन्द’ नामले चिन्छ । पिताले पुत्रको नाम राखे– धनपत राय अनि काकाले नवाब राय । तर, त्यस केटोलाई किस्मतले न धनपति हुन दियो न त नवाब । सात वर्षकै उमेरमा उनकी आमा रहिनन् । आमाको मृत्युपछि पिताले ५० वर्षको उमेरमा अर्की विवाह गरे । ती सानीआमासित प्रेमचन्दको विचार मेल खाँदैनथ्यो । उनको मनमा नयाँ आमाप्रति अस्वीकृतिको तिक्त भाव जाग्यो । त्यसैले कथा ‘दूध का दाम’ अनि ‘घरजमाई’ पढ्दा पाठकले प्रेमचन्दको जीवनमा आमाको त्यस रिक्ततालाई मार्मिक शब्दहरूमा पोखिएको पाउँछ, जहाँ मुख्य पात्र आमा गुमाएपछि बोलिरहेको हुन्छ, ‘बच्चाको जीवनमा आमा गुम्नु बडो अभागी पीडा हुँदोरहेछ ।’ प्रेमचन्द ठेट देहाती केटा थिए, ‘गिली डन्डा’ को खेलसित हुर्किएका थिए । पाठकले कथा ‘गिली डन्डा’ पढ्ने क्रममा त्यो लगाव थाहा पाउँछन् ।
प्रेमचन्दका पिताले उनलाई १५ वर्षकै छँदा विवाह बन्धनमा बाँधिने हुकुम सुनाए । तर, जीवनको प्रथम स्त्री झगडालु फेला पारे प्रेमचन्दले र ती नूतन स्त्रीलाई पत्नी स्वीकार गर्न सकेनन् । त्यसपछि हो, विवाहप्रति प्रेमचन्दको मोहभंग भएको । उनको उपन्यास ‘प्रेमाश्रय’ पढ्दा त्यो विवाह–अनुभूति पाठकले थाहा पाउँछन् । त्यतिमात्रै होइन, ‘गोदान’ मा भुनिया र गोबरको विवाह पनि प्रेमचन्दको बेमेल विवाहकै एक झलक हो । त्यो असफल विवाहको निकै वर्षपछि प्रेमचन्दले पुनः एक परिचित स्त्री, बालविधवा शिवरानी देवीसित दोस्रो विवाह गरे । त्यो विवाह–घटना प्रेमचन्दले उतिबेलाको संकुचित भारतको पृष्ठभूमिमा उठाएको एक क्रान्तिकारी कदम थियो । त्यो विवाहअघि नै विधवा–विवाहको बलियो समर्थनमा प्रेमचन्दले ‘प्रेमा’ उपन्यास लेखिसकेका थिए । प्रेमचन्दले जीवनमा बडो बेरोजगारी झेले । उनी १५ वर्षको छँदा पिता रहेनन् । त्यसपछि पत्नी, सानीआमा र सानीआमाका छोराछोरीको पनि भार उनको कमजोर काँधमा पर्यो । बेरोजगारीको ऐंठनले कठोर पीडा दिन्छ, जसको दुखाइ पाठकले ‘अलग्योक्षा’ कथा पढ्दा हृदयको संवेदित कुनातिर च्वास्स अनुभव गरिरहेको हुन्छ । प्रेमचन्दले परिवारको भरणपोषण गर्न केचाहिँ गरेनन् ? ट्युसन पढाए, किताब बेचे, ‘इन्ट्रेन्स’ परीक्षा पास गरेर स्कुल शिक्षक भए । सरकारी नोकरीको त्यो दौडमा उनी यूपीका कैयौं गाउँमा बसे, तर उनको विशेष डेरा गोरखपुर बन्यो ।
सन् १९२१ को असहयोग आन्दोलनमा भारत जल्यो । फलस्वरूप गान्धीको आह्वानपछि २१ वर्षको सरकारी नोकरीलाई तिलाञ्जली दिएर प्रेमचन्द भारत स्वतन्त्रता आन्दोलनका एक सक्रिय लेखक बने । त्यसपछि ? त्यसपछि के हुन्थ्यो ? उनीमाथि गरिबी हाबी भयो । आठ–नौ वर्ष बनारस, कानपुर अनि लखनऊमा सानातिना नोकरीहरूमा भौंतारिए । र, अन्त्यमा सन् १९३० मा बनारस पुगेर अडिए, जहाँ उनले प्रेस र प्रकाशनको काम सुरु गरे । सन् १९३४ मा एउटा फिल्म कम्पनीको निमन्त्रणामा बम्बई लागे । सायद सफलता मिलेन, पुनः बनारस फर्किए । तमाम कठोर संघर्षहरूले प्रेमचन्दको शरीर कमजोर बनिसकेको थियो । सायद कठोर खटाइले हो, उनलाई पेटको गम्भीर रोगले सतायो अनि ८ अक्टोबर १९३६ मा उनले भौतिक देह त्याग गरे ।
•••
सन् १९०१ देखि प्रेमचन्दले साहित्यमा कलमको जादु देखाएका हुन् । पहिले उनले उर्दूमा, पछि हिन्दीमा लेखे । लेखन करिअरको सुरुमै सन् १९०८ मा पाँचवटा कथाहरूको संग्रह ‘सोजे वतन’ छापिएपछि प्रेमचन्दलाई ‘राज्यद्रोह’ को आरोप लागेको थियो, जसलाई ‘अंग्रेज कलक्टर’ले जलाएका थिए । ती नवलेखक प्रेमचन्दलाई तिनले भनेका थिए, ‘तिम्रा कथाहरू पूर्णतया देशद्रोही छन् । आफूलाई भाग्यमानी ठान कि यो बेलायती सरकार हो । मुगल शासन भएको भए तिम्रा दुवै हात काटिने थियो ।’
त्यो घटनापछि नवाब राय सदाका लागि विलुप्त भए र ‘प्रेमचन्द’ को उत्पत्ति भयो । पैंतीस वर्षको लेखनकालमा प्रेमचन्दले लगभग तीन सय कथा, १५ उपन्यास, तीन नाटक, दुई सयभन्दा बढी लेख अनि एक दर्जन अनुवाद प्रकाशित गरे । त्यो थियो, अनवरत संघर्ष र अथक परिश्रमको बेमिसाल कथा ।
हिन्दी उपन्यास सम्राट् प्रेमचन्दका तीन सन्तान थिए । दुई पुत्र श्रीपतराय अनि अमृतराय तथा पुत्री कमला देवी । प्रेमचन्दका पुत्र अमृतरायको गणना भारतको प्रगतिशील साहित्यकारमा हुने गर्छ । अमृतरायले ‘कलमका सिपाही’ लेखे, जसलाई सन् १९६३ मा साहित्य अकादेमी पुरस्कार प्रदान गरियो, त्यो प्रेमचन्दको जीवनी कथा हो । प्रेमचन्दले ‘हंस’ नामक हिन्दी मासिक साहित्यिक पत्रिका सुरुवात गरेका थिए, जसलाई उनको मृत्युपछि छोरा अमृतरायले नै सम्पादन गरे । ती अमृतराय नै थिए, जसले प्रेमचन्दको अन्तिम उपन्यास ‘मंगलसूत्र’ पनि पूरा गरेका थिए ।
प्रेमचन्दको सादगी
प्रेमचन्दको व्यक्तित्व साधारण र सादा थियो । पटनाको एउटा कार्यक्रममा स्वागतार्थीले रेल स्टेसनमा प्रेमचन्दलाई ठम्याउन सकेनन् । स्वागतार्थीको हातमा प्रेमचन्दको फोटो त थियो, तर त्यो काम लागेन । तिनीहरूले प्रेमचन्दको फोटो देखाउँदै छानबिन गरिबसे, तर छेउमै बसेका झुत्रे प्रेमचन्दलाई चाहिँ सोधेनन् । त्यसैले प्रेमचन्द रातभरि त्यही स्टेसनमा पर्खिबसे । बिहान जब समस्त स्टेसनको भीड खाली भयो, प्रेमचन्दलाई खोजिरहेका युवकले मामुली देखिने त्यो मुसाफिरलाई सोध्यो– ‘जनाब, के तपाईं लखनऊबाट आउनुभएको हो ?’
त्यसपछि मात्रै प्रेमचन्दलाई तिनले चिने । प्रेमचन्दको अनुहारमा किञ्चित क्रोध, किञ्चित सन्तोष अनि प्रसन्नताको रेखा एकसाथ देखियो । बाटोमा युवकले सोध्यो, ‘तपाईंलाई तकलीफ त भएन ?’ प्रेमचन्दले भने, ‘तकलीफ ? म त रातभरि ‘फर्किनु’ वा ‘बस्नु’ भन्ने दुई शब्दहरूबीच अल्झिबसें । प्लेटफार्ममा लखनऊ फर्किने गाडी लागेको थियो, तर चढ्न सकिनँ । सोचें, म फर्किएँ भने तिमी दुःखी बन्नेछौ ।’ यस्ता थिए प्रेमचन्द– लेखकीय अहंकार नभएका आडम्बररहित मान्छे । मामुलीपन उनको विशेषता थियो । हरिशंकर परसाईले ‘प्रेमचन्द के फटे जूते’ शीर्षक व्यंग्यात्मक निबन्ध लेखेका छन्, उनको सादापनमाथि सम्मान गरेर । प्रेमचन्दको एउटा फोटो छ, जसमा उनी मुस्कुराइरहेका देखिन्छन्, तर त्यो फोटो नियालेर हेर्दा उनको फाटेको जुत्ता पनि देखिन्छ, जसको परतबाट उनका निर्दोष औंलाहरू निस्केका छन् । परसाईको नजर प्रेमचन्दको फाटेका जुत्तामा अडिन्छ । त्यो फोटो छापिएपछि धेरैले प्रेमचन्दको जुङ्गाबारे बोले, कत्तिले प्रेमचन्दको मुस्कानलाई आलोचनाको विषय बनाए ।
प्रेमचन्द र आलोचना
प्रेमचन्दलाई आलोचक–समालोचकहरूले कहिल्यै प्रेम गरेनन् । जीवनकालभरि उनका घरका भित्ताहरू कुनै पनि सम्मान, पुरस्कारले सजिन पाएन, जीवनैभर प्रहार भोगे । प्रेमचन्दले ‘प्रेमाश्रय’ लेखेपछि प्रोफेसर माधव उपाध्याय (जसले पेरिसमा म्याथमेटिक्स पढेका थिए) ले एउटा लेखमा त्यस उपन्यासलाई टाल्सटायको ‘रिजेक्सन’ सित तुलना गरे । र, ‘प्रेमाश्रम’ लाई चोरीको माल करार गरे । ‘गोदान’ छापिएपछि श्रीनाथ सिंहले एक लेखमा प्रेमचन्दलाई ‘घृणाका प्रचारक’ लेखे । ‘एनसीईआरटी’को
पाठ्यक्रमबाट उनको ‘निर्मला’ उपन्यास ‘स्कुलमा पढाउन लायकको छैन’ भनी हटाइयो । ‘रंगभूमि’ बारे हल्ला मच्चियो, ‘प्रेमचन्दले ‘चमार’ शब्द प्रयोग गर्नु असंवैधानिक हो ।’ आफूलाई सर्वेसर्वा विद्वान् ठान्ने अहंकारी समालोचकहरू प्रेमचन्दलाई खारेज गर्नमै तल्लीन रहे । तर, तिनले बिर्सेछन्, प्रेमचन्द त पाठकका मनमनमा बसिसकेका थिए ।
समालोचक मिर्जाले भने, ‘प्रेमचन्द सधैं सेतो घोडामा चढ्ने गर्थे, तिमी कालो राजालाई बचाऊ ।’ समालोचक मीर एक हातमा कलम र अर्को हातमा तरबार लिएर मिर्जाविरुद्ध रणक्षेत्रमा उत्रिन्छन् । दुवैको भिडन्त हुन्छ । दुवै गम्भीर घायल बन्छन् । यसरी ‘महान्’ समालोचकहरू एक लेखकका निम्ति प्राणसम्म अर्पण गर्न तम्सिन्छन् । त्यस्तै घटना दोहोरिइरहन्छ । प्रेमचन्द बाँचुन्जेल उपेक्षित रहिरहन्छन् ।
हामी प्रेमचन्दका कुनै न कुनै कथामा पात्रका रूपमा उनिएकै छौं, बुनिएकै छौं । कसरी ? ‘लेखक’ कथाको स्वाभिमानी लेखक प्रवीणका रूपमा वा ‘दो बहन’ कथाको रूपकुमारी वा रामदुलारीको रूपमा । ‘प्रायश्चित’ कथाको मदारीलाल, सुबोधचन्द्रका रूपमा वा ‘सोहाग का शव’ कथाको सुभद्रा, केशवको रूपमा, ‘लाञ्छन’ कथाको देवी वा मुन्नुको रूपमा । यस्तै यस्तै प्रेमचन्दका अनेक कथाहरूमा पाठकले कहीँ न कहीँ ‘आफू’ र ‘स्व’ फेला पार्छन् ।
प्रेमचन्द नारीवादी थिए । उनकी सहधर्मिणी शिवरानी देवी भारत स्वतन्त्रता आन्दोलनमा कैयौं पटक जेल परिन्, त्यो प्रेमचन्दका निम्ति गर्वको विषय थियो । शिवरानीले ‘कौमुदी’ लघुकथा लेखिन् । उनका कथापात्रहरू प्रेमचन्दका पात्रभन्दा छुट्टै आत्मनिर्भर, स्वतन्त्र र लैंगिक सशक्तीकरणसहित उभिएका छन् । तर, जब शिवरानीले ‘प्रेमचन्द घर में’ लेखिन्, उनलाई त्यो किताबमा प्रेमचन्दको कलमको गन्ध परेको आरोप लाग्यो । साहित्यमा आफूलाई लागेका हजारौं आरोपविरुद्ध प्रेमचन्द कहिल्यै बोलेनन्, तर शिवरानीको स्वच्छन्द कलमलाई आरोप लागेपछि उनी बोले, ‘शिवरानी एक योद्धा हुन्, उनका कथा वा लेखहरू त्यही भावनाले भरिएका छन्, त्यसैले आक्रामक साहित्यिक षड्यन्त्रको आँच उनलाई नलागोस् । जुन समाजमा महिलाले आत्मबल गुमाउँछन्, त्यो समाज बर्बाद हुन्छ ।’
प्रेमचन्द र दलित साहित्य
प्रेमचन्दले साहित्यमा दलित जीवनको स्वरूप प्रकट गरे । पहिलो र अन्तिम रचना दलितबारे नै लेखे, तर उनी स्वयं ‘दलित साहित्यकार’ थिएनन् । भारतमा प्रेमचन्दलाई लेखक ‘म्याक्सिम गोर्की’ को दर्जा दिइन्छ । भारतमा अप्रिल सन् १९३६ को लखनऊको अखिल भारतीय प्रगतिशील लेखक संघको उद्घाटन बैठकमा प्रेमचन्दको अपिल थियो– भारतीय लेखकहरू रोमान्टिक निद्राबाट ब्युँझन, आफूलाई मनोरञ्जनकर्ताका रूपमा सोच्न छाड्न र सामाजिक रूपमा जिम्मेवार बन्न ।
प्रेमचन्दका कथा र उपन्यासले आमजनता, किसान, गाउँमा बस्ने गरिब, दलित, महिला र अनाथहरूको जीवन्त कथा भन्छ । त्यसैले प्रेमचन्दको लेखनी सधैं सान्दर्भिक छ । प्रेमचन्द उज्यालोमा आउन कुनै आलोचनाको लहरा चाहिँदैन ।
सायद प्रेमचन्द नपढेकी भए मेरो मन अज्ञेय, निराला, बाबा नागार्जुनका कविताहरूमा रम्ने थिएन । न म कमलेश्वरको उपन्यास ‘कितने पाकिस्तान’ वा गीताश्रीको ‘हसीनाबाद’ नै पढ्थें ।
प्रेमचन्द–जन्मजयन्तीमा सोध्न मन लाग्यो– के तपाईंले प्रिय प्रेमचन्द पढ्नुभएको छ ?
