तरकारी खेतीदेखि सुरू भएको जुम्लाका परानबहादुरको कृषि यात्रा अहिले १४ हजार स्याउका बिरुवाको बगैंचासम्म फैलिएको छ । एक वर्षअघि ८० लाख लगानीमा ३२ हजार वर्गमिटर क्षेत्रमा स्याउ खेती गरिरहेका उनको बगैंचा जिल्लाकै ठूलो निजी स्याउ बगैंचामध्येमा पर्छ ।
जुम्ला — जुम्ला तातोपानी गाउँपालिका–१ राँका गाउँका परानबहादुर धराला अहिले स्याउ खेतिमा दत्तचित्त भएर लागेका छन्, यसमै भविष्य खोजिरहेका छन् ।
पहिलो बर्ष उनले तातोपानी गाउँपालिका–५ ऐरेनीमा ३२ हजार बर्गमिटर क्षेत्रफल जग्गा भाडामा लिएर १४ हजार स्याउका बेर्ना रोपेका छन् । यो बगैंचा जुम्लाकै ठूला निजी स्याउ बगैंचामध्ये एक मानिएको छ ।
परानले १५ वर्षअघि सात लाख रूपैयाँ लगानीमा १५ रोपनीमा तरकारी खेतीबाट कृषि यात्रा सुरु गरेका थिए । उनले गोलभेँडा, तितेकरेला, काक्रा, भेडेखुर्सानी, अकबरे खुर्सानी लगायतका मौसमी/बेमौसमी तरकारी उत्पादन गरे । उनको तरकारीले गाउँदेखि सहरसम्मको माग धानेको थियो ।
दैनिक चार जनालाई रोजगारी दिएको उनको व्यवसायले अहिले निकै ठुलो रुप लिइसकेको छ । तरकारी खेतिबाटै उनको चार जनाको परिवार पालिएको छ । बचत भएको रकमले व्यवसाय विस्तार गर्दै अहिले स्याउ खेतीमा पनि लागेका छन् । पछिल्लो समय तरकारीसँगै स्याउ नर्सरीमा पनि जोड दिएका छन् ।
‘अरूका बगैंचामा काम गर्दा स्याउ खेतीको सम्भावना नजिकबाट बुझेँ,’ परानले भने, ‘बिरुवा उत्पादन, बगैंचा व्यवस्थापनसम्मका अनुभवले व्यावसायिक बगैंचा स्थापना गर्ने आत्मविश्वास दिलायो ।’
जुम्लामा व्यावसायिक स्याउ खेतीबाट किसानले राम्रो प्रतिफल पाउन थालेको देखेपछि उनले ठूलो आर्थिक जोखिम उठाउन हिम्मत गरेका हुन् । करिब ८० लाख रुपैयाँ लगानी गरेर १४ हजार ‘क्र्याब’ जातका स्याउका बेर्ना रोपे । अहिले जुम्ला–सुर्खेत कर्णाली राजमार्गको छेउमा फैलिएको यो बगैँचा जिल्लामा नयाँ सम्भावनाको प्रतीक बनेको छ ।
‘हामीजस्ता युवाले अवसरको खोजीमा गाउँ छोड्नुभन्दा गाउँमै अवसर सिर्जना गर्नुपर्ने देखें’, परान भन्छन्, ‘ऋण खोजेर भएपनि राम्रो जातका बिरुवा रोपेको छु । तीन वर्षपछि यही बगैँचाले मेहनतको प्रतिफल दिने विश्वास छ ।’
परानले लिएको जग्गाको वार्षिक भाडा मात्रै झन्डै १० लाख रुपैयाँ छ । त्यसबाहेक बिरुवा खरिद, खाडल खन्ने, मल, सिंचाइ, घेराबार, मजदुरी र नियमित हेरचाहमा ठूलो खर्च भइरहेको छ । फल उत्पादन सुरु नहुंदै ठूलो रकम लगानी भईसकेको छ, उनको ।
एक युवाले तरकारी खेतिहुँदै बृहत स्याउ बगैंचा स्थापना गर्न सकेकोमा स्थानीय पनि निकै प्रभावित भएका छन् । ‘पहिले त कसैले पत्याएका थिएनन्,’ परानले भने, ‘अहिले सबै अचम्ममा परेका छन् ।’ अहिले भने कतिपय स्थानीयले उनकै सिको गर्दै स्याउ बगैंचा बनाएका छन्, तरकारी बारी जोडेका छन् ।
स्याउ खेति प्रतिको तीब्र आकर्षणले गर्दा जिल्ला कृषि विकास कार्यालयले स्याउ–ओखर कार्यक्रमअन्तर्गत करिब साढे नौ लाख रुपैयाँ अनुदान उपलब्ध गराउन थालेको छ । उक्त रकमले बिरुवा खरिद, खाडल निर्माण, सिँचाइका लागि मोटर जडान तथा बगैँचा घेराबारमा सहयोग पुगेको किसान बताउँछन् ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार कृषिमा व्यवसाय गर्ने सोच भएका युवाको संख्या अझै सीमित मात्रामा छन् । ‘परान जस्ता युवाले जोखिम मोलेर कृषि उद्यम सुरु गर्नु सकारात्मक संकेत हो’, अधिकारी भन्छन्, ‘यस्ता किसानलाई प्रोत्साहन गर्नु नै सरकारी कार्यक्रमको उद्देश्य हो ।’
अधिकारीका अनुसार चालु आर्थिक वर्षमा मात्रै जुम्लामा २० वटा नयाँ स्याउ बगैंचा स्थापना भएका छन् । जिल्लामा स्याउ खेती वर्षेनी विस्तार भइरहेको छ । जुम्लाको चिसो हावापानी, उचाइ र माटोको गुणस्तरले यहाँ उत्पादन हुने स्याउमा विशेष स्वाद र गुणस्तर हुने बताईन्छ ।
अहिले जिल्लामा हजारौं किसान स्याउ खेतीमा आबद्ध भईसकेका छन् । आधुनिक बगैंचा व्यवस्थापन, उन्नत जातका बिरुवा र सडक पहुँच विस्तारसँगै व्यावसायिक खेतीको दायरा पनि फराकिलो बन्दै गएको छ । तर सम्भावनासँगै चुनौती पनि उत्तिकै छन् ।
जलवायु परिवर्तन, असिना, रोग–कीराको प्रकोप, भण्डारणको अभाव, ढुवानी खर्च र बजारको अनिश्चितता किसानका साझा समस्या हुन् । उत्पादन बढ्दै गए पनि मूल्य र बजार व्यवस्थापन प्रभावकारी हुन नसके किसानले अपेक्षित लाभ लिन गाह्रो छ । त्यसैले उत्पादनसँगै प्रशोधन, शीतभण्डार, ब्रान्डिङ र बजारीकरणमा पनि समान रूपमा लगानी आवश्यक देखिन्छ ।
यसअघि गुठीचौर गाउँपालिकामा मात्रै यति ठूलो मात्रामा निजी स्याउ बगैंचा सञ्चालनमा थिए । अहिले ऐरेनीमा अर्को ठूलो बगौचा थपिएपछि जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारी तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम जुम्लाका प्रमुख खेमराज शाहीसहितको टोलीले बगैंचाको अवलोकन गरेको छ । सरोकारवालाले यस्ता व्यावसायिक बगैंचाले जिल्लाको कृषि अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् ।
परान धरालाका लागि अहिले स्याउका बिरुवा केवल खेती होइनन्, भविष्यका आधार हुन् । केही वर्षपछि ती बोटहरू फलले झुन्डिनेछन्, अनि सँगै झुन्डिनेछन् वर्षौंको मेहनत, साहस र आत्मविश्वासका कथा पनि ।
कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार, जुम्लामा ४ हजार ५ सय हेक्टर क्षेत्रफलमा स्याउ खेति भइरहेको छ । बर्षेनी स्याउ बगैंचाको संख्या बढ्दै गएकोले किसानले स्याउ खेतिलाई प्रमुख आयआर्जनको माध्यम बनाउन थालेका छन् । तर उत्पादित स्याउ बजारसम्म पुर्याउने देखि रोगको संक्रमण नियन्त्रण गर्न राज्यले सहयोग गर्नुपर्ने किसानहरुको माग छ ।
