डोल्पा बाढी : घाइतेलाई हेलिकप्टरबाट उद्धार 

आइतबार बिहान धुलाखोला तथा आसपासका खोल्सामा आएको लेदोसहितको बाढी गाउँमा पसेपछि ६ जना घाइते भएका थिए।

असार २१, २०८३

रामचन्द्र न्यौपाने

Dolpa flood: Injured rescued by helicopter

डोल्पा — डोल्पाको जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा आएको बाढीमा परी गम्भीर घाइते भएकी एक महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बाढीमा घाइते भएकी ४४ वर्षीया रेउली विकको अवस्था गम्भीर भएपछि गृहमन्त्रालयसँग समन्वय गरी नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बताइन् । उनका अनुसार विकको शरीरको तल्लो भागमा गम्भीर चोट लागेको छ।उद्धारपछि उनलाई थप उपचारका लागि सुर्खेत लगिएको ढकालले जानकारी दिइन्।

आइतबार बिहान धुलाखोला तथा आसपासका खोल्सामा आएको लेदोसहितको बाढी गाउँमा पसेपछि विकसहित ६ जना घाइते भएका थिए। 

बाढीमा परी स्थानीय ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा क्षतिको विवरण संकलनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। सुरक्षा निकायले प्रभावित परिवारको उद्धार तथा राहत वितरणका साथै क्षतिको विवरण संकलनको कामलाई तीव्रता दिएका छन्।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully