डोल्पाको जगदुल्लामा बाढीमा परी एक महिलाको मृत्यु, दुई बालबालिकासहित ६ जना घाइते

प्रहरीका अनुसार १० घरमा क्षति पुगेको छ। थप विवरण संकलन गर्नका लागि जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली आज बिहानै घटनास्थलतर्फ खटाइएको डीएसपी गिरीले बताए।

असार २१, २०८३

रामचन्द्र न्यौपाने

A woman died and six people, including two children, were injured in a flood in Jagdulla, Dolpa.

What you should know

डोल्पा — लगातारको वर्षापछि आएको बाढीमा परी डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँकी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

आइतबार बिहान करिब ३ बजे धुलाखोला तथा आसपासका खोल्सामा हिलोमाटोसहितको बाढी गाउँमा पसेपछि घरमै सुतिरहेकी स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अनिलराज गिरीले बताए।

बाढीमा घाइते भएकी विकलाई उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी गिरीको भनाइ छ।

बाढीमा परी दुई बालबालिकासहित ६ जना घाइते भएका छन्। घाइते हुनेमा ५० वर्षीया चाउरी विक, ४४ वर्षीया रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विक रहेको प्रहरीले जनाएको छ।

उनीहरूको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार १० घरमा क्षति पुगेको छ। थप विवरण संकलन गर्नका लागि जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली आज बिहानै घटनास्थलतर्फ खटाइएको डीएसपी गिरीले बताए।

घटनाका प्रत्यक्षदर्शीसमेत रहेका घाइते विष्णु विकका अनुसार बाढीले आफूहरूलाई करिब १५–१६ मिटर तलसम्म बगाएको थियो। बाढीका कारण ढाड, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको उनले बताए।

प्रहरीको प्रारम्भिक विवरणअनुसार बाढीले सहकारी भवन, खाद्य गोदाम तथा करिब ७–८ वटा घरमा क्षति पुर्‍याएको छ। एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको र अन्य केही घरमा पनि क्षति पुगेको हुन सक्ने स्थानीयवासीले बताएका छन्।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully