प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन २३ करोड रुपैयाँ विनियोजन
सुर्खेत — कर्णाली प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८३/८४ मा प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन २३ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अस्पतालमा पूर्वाधार विकास तथा जनशक्ति व्यवस्थापन गर्न थप आवश्यक बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बताए ।
मन्त्री शाहका अनुसार दैलेख अस्पतालमा मृगौला डायलासिस सेवा विस्तार गरिनेछ भने जलन उपचारका लागि प्रदेशमै व्यवस्था गर्न ४ करोड रुपैयाँ छुट्याइएको छ । त्यस्तै सुत्केरी पोषण भत्तालाई निरन्तरता दिइएको छ ।
दसौं खेलकुदका लागि पूर्वाधार विकास गर्न ९ करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।
त्यसैगरी दसौं खेलकुदको पूर्वतयारीका लागि ५ करोड, प्रदेश रंगशाला व्यवस्थापनका लागि ३ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शाहले बताए । मध्यपश्चिम विश्वविद्यालयमा आधुनिक पुस्तकालय स्थापना गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।
