जनशक्ति अभाव झेल्दै कर्णाली प्रदेश अस्पताल

दैनिक दुई हजारसम्म बिरामी आउने कर्णाली प्रदेश अस्पतालमा ५० जना चिकित्सकसहित विशेषज्ञ र प्राविधिकको अभावले सेवा विस्तारमा समस्या भइरहेको छ।

जेष्ठ २५, २०८३

तृप्ति शाही

Karnali Provincial Hospital facing manpower shortage

What you should know

वीरेन्द्रनगर — कर्णाली प्रदेशको सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था प्रदेश अस्पताल सुर्खेतमा थेगिनसक्नुको बिरामीको चाप छ । अस्पताल प्रशासनका अनुसार यहाँ दैनिक १५ सयदेखि २ हजार जना हाराहारीले अस्पतालबाट नियमित रुपमा ओपीडी सेवा लिइरहेका छन् । 

कर्णालीसँगै सुदूरपश्चिमको रेफरल सेन्टरको रुपमा रहेको यो अस्पतालमा लुम्बिनी प्रदेशबाट पनि बिरामी आउँछन्। अस्पतालमा बिरामीको चाप भए पनि जनशक्तिको अभाव भइरहेको छ ।

अस्पतालमा सरकारबाट स्वीकृत १५० शय्याका लागि ३२५ जनाको दरबन्दी छ । तीमध्ये २०१ जनामात्र स्थायी पदमा कार्यरत छन् । अझै करिब ५० जना चिकित्सकको पद रिक्त रहेको अस्पताल प्रशासनले जनाएको छ ।
४६ जना दरबन्दी करार, ६६ जना अस्पताल विकास समिति अन्तर्गत र २४४ जना अन्य विभिन्न स्रोतबाट करारमा राखिएका कर्मचारीसहित हाल ५५७ जना कार्यरत छन् । तर विशेषज्ञ चिकित्सक, नर्सिङ तथा प्राविधिक जनशक्तिका पद अझै रिक्त छन् ।

अस्पतालमा १४ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि स्थायी रूपमा एक जना मात्रै कार्यरत छन् । अस्पतालका अनुसार हाल कार्यरत चिकित्सकमध्ये प्राय: सबै विभागीय प्रमुख र अनुभवी चिकित्सक संघबाट कामकाजमा आएकाहरु छन् । दुई जनाको काज फिर्ता भइसकेको छ । 

अस्पतालले संघबाट काजमा आएका चिकित्सक तथा करार जनशक्तिको भरमा सेवा सञ्चालन गरिरहेको छ । काजमा आएका चिकित्सक फिर्ता हुने क्रम बढे विशेषज्ञ सेवा नै प्रभावित हुने अवस्था आइरहेको अस्पतालकी प्रशासन प्रमुख अनिता ज्ञवाली बताउँछिन् । उनका अनुसार जनशक्ति व्यवस्थापन हुन नसक्दा अस्पतालले अपेक्षित सेवा दिन सकेको छैन । संघबाट आएका अन्य कर्मचारीको काज फिर्ता हुँदै जाने हो भने अस्पतालले दिँदै आएका सेवालाई निरन्तरता दिन पनि कठिन हुने उनले बताइन् । 

५०० शय्या संचालनका लागि भवन निर्माण भएको अस्पतालले कर्मचारीकै अभावमा ३०० शय्यामात्र सञ्चालन गर्न सकेको ज्ञवालीले बताइन् । आवश्यक जनशक्ति नहुँदा नयाँ संरचना सञ्चालन गर्ने अवस्था छैन । बिरामीको चाप प्रत्येक वर्ष बढिरहेको छ । उनले भनिन्,‘ करोडौंका उपकरण अस्पतालमा छन्, तर सञ्चालन गर्ने जनशक्ति अभावमा केही उपकरण पूर्णरूपमा प्रयोग गर्न सकिएको छैन । जनशक्ति नहुँदा सेवा विस्तार मात्र नभएर भइरहेका सेवालाई पनि निरन्तरता दिन चुनौती भइरहेको छ ।’

अस्पतालका निर्देशक मेडिकल सुपरिटेन्डेन्ट डा. गणेश थापाले प्रदेश सरकारसँग पटक, पटक जनशक्ति व्यवस्थापनको माग गरिए पनि समस्या समाधान हुन नसकेको बताए । उनले भने,‘न अस्पताललाई आफैं स्थायी पदपूर्ति गर्ने अधिकार दिइएको छ, न सरकारले आवश्यक पदपूर्ति गरिदिएको छ । यस्तो अवस्थामा सेवा विस्तार कसरी गर्ने भन्ने प्रश्न हाम्रो सामु छ ।’

उनका अनुसार ५०० शय्याको संरचना पूर्णरूपमा सञ्चालन गर्न तत्काल रिक्त दरबन्दी पूर्ति, विशेषज्ञ चिकित्सक व्यवस्थापन, स्वास्थ्य बिमाको बक्यौता रकम भुक्तानी तथा आवश्यक बजेट सुनिश्चित गर्न प्रदेश र संघीय सरकारको विशेष पहल आवश्यक छ ।

अस्पतालको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा १ लाख ९१ हजार ९६६ जनाले ओपीडी सेवा लिएका थिए। यो संख्या २०८०/८१ मा बढेर २ लाख ८ हजार ११४ पुगेको थियो भने २०८१/८२ मा २ लाख १२ हजार ७८ पुग्यो । चालु आर्थिक वर्ष २०८२/८३ को चैतसम्म मात्रै १ लाख ६६ हजार ३११ जनाले ओपीडी सेवा लिइसकेका छन्।

विभागगत रूपमा मेडिसिन सेवामा सबैभन्दा बढी बिरामी आउने गरेका छन् । चालु आर्थिक वर्षको चैतसम्म मेडिसिन ओपीडीमा ३८ हजार ४६ बिरामीले सेवा लिएका छन् । त्यसपछि अर्थोपेडिकमा २३ हजार ९२३, शल्यक्रियामा १३ हजार ८०७, प्रसूति तथा स्त्रीरोगमा १३ हजार २३७, सामान्य ओपीडीमा १२ हजार १७७ तथा आँखा सेवामा १० हजार ९६१ बिरामीले सेवा लिएका छन् ।

आकस्मिक सेवामा पनि बिरामीको संख्या उल्लेख्य रूपमा बढेको अस्पतालले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा २१ हजार १७७ जनाले आकस्मिक सेवा लिएकोमा २०८०/८१ मा २४ हजार ३२६ र २०८१/८२ मा २५ हजार ३७९ पुगेको थियो । चालु आर्थिक वर्षको चैतसम्म १८ हजार ७६३ जनाले आकस्मिक सेवा लिएका छन् । त्यस्तै चालु आर्थिक वर्षको चैतसम्म १८ हजार ६०१ जना बिरामी अस्पतालमा भर्ना भएका छन् । सोही अवधिमा ४ हजार २२९ प्रसूति सेवा, १ हजार १९७ सिजेरियन शल्यक्रिया तथा ३ हजार ६१२ वटा ठूला शल्यक्रिया सम्पन्न भएका छन् ।

स्वास्थ्य बिमा कार्यक्रमले बिरामीलाई राहत दिएको भए पनि अस्पतालका लागि नयाँ चुनौती थपेको ज्ञवालीले बताइन् । चालु आर्थिक वर्षको चैतसम्म ९६ हजार ३८८ जना बीमित सेवाग्राहीले अस्पतालबाट सेवा लिएका छन् । अस्पतालले स्वास्थ्य बिमाबाट प्राप्त गर्नुपर्ने करिब ३० करोड रुपैयाँ अझै भुक्तानी हुन बाँकी रहेको जनाएको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully