हिमाली युवा सञ्जालका युवाले गरे अनिश्चितकालीन कर्णाली बन्दको घोषणा

सञ्जालले शनिबार विज्ञप्ति जारी गर्दै जेठ १२ गते बिहान ५ बजेदेखि कर्णाली प्रदेशभर बन्द आह्वान गरिएको जनाएको हो ।

जेष्ठ १०, २०८३

ज्योति कटुवाल

Youth of the Himalayan Youth Network declare indefinite Karnali bandh

सुर्खेत — बाजुराको हिमाली गाउँपालिका–२ मा भएको घटनाका विषयमा विभिन्न निकायसँग २४ घण्टासम्म समन्वय गर्दा पनि माग सम्बोधन नभएको भन्दै हिमाली युवा सञ्जालले बाजुराले अनिश्चितकालीन कर्णाली बन्दको घोषणा गरेको छ ।

सञ्जालले शनिबार विज्ञप्ति जारी गर्दै जेठ १२ गते बिहान ५ बजेदेखि कर्णाली प्रदेशभर बन्द आह्वान गरिएको जनाएको हो । विज्ञप्तिमा घटनास्थलको स्थलगत अनुगमन गरी दीर्घकालीन समाधान खोज्न, हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका ३, ४ र ५ तथा सिमकोट गाउँपालिका १ र २ का घटनापीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरिएको छ । 

यस्तै, सम्बन्धित गाउँपालिकाको सिफारिसमा पीडितलाई आवश्यक उपचार तथा सहयोगको व्यवस्था गर्न, हिमाली गाउँपालिका–३ मा व्यायामशाला निर्माणका क्रममा विस्थापित परिवारलाई उचित व्यवस्थापनसहित क्षतिपूर्ति दिन तथा चेकजाँच भवन निर्माण नभएका स्थानमा आवश्यक पूर्वाधार निर्माण अघि बढाउन सरकारसँग माग गरिएको छ ।

सञ्जालले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दोषीमाथि कडा कारबाही, पीडितलाई न्याय र राज्यको ध्यानाकर्षण गराउन कर्णाली राजमार्ग बन्द गर्नुपरेको जनाएको छ । 

विज्ञप्तिमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय बाजुरा र हुम्लालाईसमेत ध्यानाकर्षण गराइएको छ ।

Youth of the Himalayan Youth Network declare indefinite Karnali bandh

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully