जडिबुटी र पर्यटनको प्रचुर सम्भावना भएको लाम्पाटा च्याचौर क्षेत्रमा प्रहरी चौकी निर्माण कार्य रोकेपछि तत्काललाई विवाद साम्य भएको छ ।
What you should know
धनगढी — हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा च्याचौर क्षेत्र (रानीसैन)मा चर्किएको 'सीमा विवाद' हाललाई मत्थर भएको छ । बाजुरा पक्षबाट लाम्पाटा च्याचौरमा प्रहरी चौकी बनाउन थालिएपछि विवादले झडपको रूप लिएको थियो ।
बाजुराका प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार दुई दिनअघि लाम्पाटामा बाजुराले अस्थायी प्रहरी पोस्ट स्थापना गर्न कार्यक्रम राखेको थियो ।
तर हुम्लाको खार्पूनाथ गाउँपालिका–२ राय र थाली गाउँका बासिन्दा आएर प्रहरी चौकी स्थापनामा अवरोध गर्दै निर्माण सामग्री नष्ट गरेका थिए । हुम्लाका प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मी भने कसले चौकी बनाउने भन्ने विषयले विवाद निम्तिएको बताउँछन् । घटनाबारे उनले जानकारी दिँदै भने, 'त्यो क्षेत्र जडिबुटी र पर्यटनको प्रचुर सम्भावना भएको क्षेत्र भएकाले चौकी तेरो बन्ने कि मेरो बन्ने भन्ने विवाद हो । अहिले तत्काललाई चौकी निर्माणको काम रोकिएको छ । सिमाना विवाद कसरी निरूपण गर्ने भन्ने कुरा गृहकार्य भइरहेको छ ।'
दुई दिनअघि केही संख्यामा बाजुराको लाम्पाटा आएका हुम्लाको खार्पूनाथको राय र थाली गाउँका बासिन्दाले लाम्पाटाका स्थानीयमाथि हातपात तथा कुटपिटसमेत गरेको हिमाली गाउँपालिका–३ का वडाध्यक्ष मंगल बुढाले बताए । कुटपिटबाट हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, ३ नम्बरका वडा सदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मिनु कुँवर र प्रहरी सहायक हवल्दार रमेश धामीमाथि हातपात तथा कुटपिट भएको हिमाली गाउँपालिका–३ का वडाध्यक्ष बुढाले बताए । ‘हामी लाम्पाटाका स्थानीयमाथि कुटपिट भयो, हाम्रा घर कब्जामा लिएका छन्,’ वडाध्यक्ष बुढाले भने ।
त्यसै क्रममा मंगलबार रानीसैन भ्रमणको यात्राका क्रममा २८ जनाको टोलीसहित लाम्पाटा पुगेका धनगढीका नगरप्रमुख गोपाल हमालसहितको टोली र ३५ जनासहित हिमाली गाउँपालिकाको संयुक्त टोलीलाई धम्काएर रानीसैन जान दिइएन ।
बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले ६ परिवारमात्रको बसोबास रहेको लाम्पाटाका बासिन्दालाई खार्पूनाथका बासिन्दाले नियन्त्रणमा लिएर कुटपिट गर्नुका साथै बन्धक बनाएको जानकारी प्राप्त भएको बताए । ‘घाइते पाँचै जनालाई उपचारका लागि तल ल्याउने प्रयास भइरहेको छ,’ प्रजिअ निरौलाले भने, ‘सञ्चार सम्पर्क नहुने ठाउँ भएकाले कठिनाइ भइरहेको छ ।’
प्रजिअ निरौलाले धनगढीका मेयरसहित पर्यटकको टोलीलाई कुनै अवरोध हुनबाट सुरक्षा प्रदान गर्ने जिम्मेवारी लिने बताएको हुम्लाको प्रहरी प्रशासनले लापर्बाही गरेको बताए । ‘हुम्लाले हामीलाई प्रहरी निरीक्षकसहितको सुरक्षा टोली पठाएका छौं भनियो, तर लाम्पाटामा खार्पूनाथका स्थानीयले ज्यादती गर्दै अवरोध गर्दा सुरक्षा टोलीले उल्टै संरक्षण गरेको बुझिएको छ,’ प्रजिअ निरौलाले भने ।
झडपपछि गृह सचिव राजकुमार श्रेष्ठले बाजुरा र हुम्लाका सांसदलाई बोलाएर पर्यटन यात्रामा रहेका कसैलाई पनि अवरोध नगर्ने समझदारीसमेत गराएका थिए ।
आफ्नो क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न लागिएको भन्दै विरोध गरिएको हुम्लाको खार्पूनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताएका छन् । ‘हाम्रो क्षेत्रमा प्रहरी चौकी स्थापना गर्दा हामीलाई कुनै सम्पर्क र सहमति नगरिएकाले अवरोध गरिएको हो,’ अध्यक्ष रावलले भने, ‘यतिबेला विवादित अवस्था भएकाले धनगढीका मेयरसाबसहित रानीसैन जाने सबै टोलीलाई नजान भनेकै हौं, फर्काएकै हो ।’
तर हुम्लाको खार्पूनाथले लाम्पाटास्थित आफ्नो क्षेत्रमा प्रहरी चौकी निर्माण गर्न लागिएको दाबी गरे पनि उक्त दाबी सत्य नभएको बाजुरा पक्षले जनाएको छ । ‘सीमा विवादको कुनै साइनो सम्बन्ध नै छैन । लाम्पाटा क्षेत्रबाट धेरै टाढा साकालाग्ना भन्ने ठाउँमा पर्दछ हुम्ला र बाजुराको सीमा क्षेत्र,’ बाजुराको त्यस क्षेत्रका प्रदेश सांसद नरेश कुमार शाहीले भने, ‘रानीसैन, गुम्बा, लाम्पाटासहित त्यो क्षेत्र बहुमूल्य जडीबुटी र वन्यजन्तुको भण्डार हो । उक्त स्रोतमाथि हुम्लाका केही व्यापारी–राजनीतिकर्मीहरूले वर्षौंदेखि अधिपत्य जमाउँदै आएका हुन् । अहिले प्रहरी चौकी स्थापना भयो भने अवरोध हुन्छ भन्ने उनीहरूको भित्री डर हो ।’
लाम्पाटा, रानीसैन क्षेत्रको सम्पूर्ण नाप–नक्सा तथा क्षेत्राधिकार बाजुराकै रहेको अधिवक्ता पुरबहादुर रावत बताउँछन् । उनका अनुसार लाम्पाटास्थित च्याचौरमा टे भोटेको जग्गा हुम्लाका पूर्व सांसद छक्कबहादुर लामाले किनेर बाजुरा मालपोतमा राजीनामा पास गरी किनेका थिए । अहिले पनि उनी त्यस जग्गाको राजस्व हिमाली गाउँपालिकामा बुझाउने गरेका छन् । लामा त्यस क्षेत्रका जडीबुटी व्यापारी हुन् ।
लामाले केही व्यक्तिहरूको उक्साहटमा नलाग्न दुवै क्षेत्रका बासिन्दालाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,'भेकारको धनजनको क्षति होला! धैर्य धारण गर्नु होस्! हिजोदेखि जसरी वनलाई परम्परागत रूपमा दुवै जिल्लाका बासिन्दाहरूले आपसी समझदारीमा जसरी भोगचलन गर्दै आएका गिए, उही परम्परा र तरिकाले भोगचलन गर्दा बुद्धिमता हुन्छ ।'
कस्तो छ रानीसैन क्षेत्र
बाजुराको रानीसैन, विच्छ्या, लाम्पाटा क्षेत्र बाजुराको कुल क्षेत्रफलको ४० प्रतिशत भू–क्षेत्र ओगटेको छ । यो क्षेत्र बाजुराको जडीबुटी र दुर्लभ वन्यजन्तुको भण्डार मानिन्छ । यस क्षेत्रमा बाजुराको हिमाली–३ का बाम, रुम्दी, लाम्पाटा, गुम्बा, नेटा, बौडी, कोट, कोटिगाउँ, टिन, देउसैन, युना गरी ११ वटा बस्ती भए पनि जनसंख्या ८१० मात्र छ ।
यस क्षेत्रबाट व्यापारीहरूले हिल्सासम्म पुग्ने मानवबस्तीविहीन तस्करी मार्ग बनाएको बाजुरास्थित एक सुरक्षाकर्मीले बताए । ‘रानीसैनमा पर्यटकहरूको आवागमन र चलहपहल भएर त्यस क्षेत्रमा चलाउँदै आएको चोरी–तस्करी सार्वजनिक हुने त्रासले पर्यटकहरूलाई समेत अवरोध गरिएको हो,’ बाजुराका प्रदेश सांसद नरेशकुमार शाहीले भने ।
बाजुराका प्रमुख जिल्ला अधिकारी निरौलाले त्यस क्षेत्रमा प्रहरी चौकी राख्न नदिनुको भित्री कारण पनि चोरी–तस्करीमा अवरोध हुने डरले गरिएको बताए ।
त्यस क्षेत्रमा यार्सागुम्बा, जटामसी, पाँचऔंले, कुट्की, वनलसुनलगायत दर्जनौं प्रजातिका मूल्यवान जडीबुटी तथा दुर्लभ वन्यजन्तु पाइने गरेको त्यस क्षेत्रका वडाध्यक्ष मंगल बुढा बताउँछन् ।
सुदूरपश्चिम सरकारले रानीसैनसम्मको पर्यटन आवागमनलाई सहज बनाउन सडक पूर्वाधार विकास गरिरहेको छ । रानीसैन विच्छ्या जानका लागि कर्णाली राजमार्गअन्तर्गत बाजुरा र हुम्लाको सडक सीमा कवाडीबाट हुम्लातर्फ भएर मैतर्नासम्म प्रदेश सरकारले गत आर्थिक वर्षमा करिब १० किलोमिटर सडक निर्माण गरेको प्रदेश सांसद शाहीले बताए ।
उनका अनुसार मैतर्नाबाट एक घण्टाको पैदल यात्रामा बाजुराको युना पुगिन्छ, युनाबाट दुई घण्टामा बौडी पुगिन्छ, बौडीदेखि तीन घण्टामा फुलै गाउँ पुगिन्छ, फुलैबाट गुम्बा पुग्न चार घण्टा लाग्छ । गुम्बाबाट करिब चार घण्टाको पैदलमा लाम्पाटा पुगिन्छ । लाम्पाटाबाट करिब पाँच घण्टाको पैदलमा साइपाल बेसक्याम्प रानीसैन पुगिन्छ ।
