हुम्लाका स्थानीय राजनीतिक दलका प्रतिनिधिले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै हिमाली गाउँपालिकाले हुम्लाको सीमाभित्र संरचना निर्माण गर्न खोजेको आरोप लगाएका छन् ।
What you should know
सुर्खेत — हुम्ला र बाजुराको सीमाक्षेत्रमा देखिएको विवाद थप चर्किएको छ । हुम्लाको खार्पुनाथ, सर्केगार्ड, ताँजाकोट, सिमकोट र नाम्खा गाउँपालिकामा पर्ने रानीसेन, च्याचौर, लाम्पाटा लगायत क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकामाथि हुम्लावासीले आक्रोश पोखेका थिए ।
हुम्लाका स्थानीय राजनीतिक दलका प्रतिनिधिले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै हिमाली गाउँपालिकाले हुम्लाको सीमाभित्र संरचना निर्माण गर्न खोजेको आरोप लगाएका छन् । उनीहरूले हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका २ र ३ का स्थानीयमाथि कुटपिट गरिएको, वडा सदस्य पेमागुरुङ लामासहितका व्यक्तिलाई ‘शवदाह घाट’ बनाइएको भन्ने समाचार निराधार रहेको दाबी गरेका छन् ।
विज्ञप्तिमा हिमाली गाउँपालिका–३ का स्थानीय र जनप्रतिनिधिले एकपक्षीय रूपमा अराजक गतिविधि गरिरहेको आरोप लगाइएका छन् । ‘हुम्लाको सीमामा आफुखुशी संरचना निर्माण गरेर बाजुराको भूभाग दाबी गर्ने प्रयास गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
विवादकै कारण राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा तीन दिनदेखि यात्रुहरू अलपत्र परेका छन् ।
नेपालगन्ज, सुर्खेतबाट हुम्ला आउजाउ गर्ने सर्वसाधारण धुलाचौर क्षेत्रमा रोकिएका छन् । स्थानीयका अनुसार यात्रुहरू खुला आकाशमुनि बस्न बाध्य छन् भने खाद्यान्न र पिउने पानीको समेत अभाव हुन थालेको छ । हुम्लाका राजनीतिक दलहरूले विवाद समाधानका लागि तत्काल संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई यसअघि नै ज्ञापनपत्र बुझाइसकेको जनाउँदै विवादित क्षेत्रमा जथाभावी गतिविधि रोक्न माग गरेका छन् ।
विज्ञप्तिमार्फत दलहरूले पाँच बुँदे मागसमेत अघि सारेका छन् । जसमा विवादित क्षेत्रमा निर्माण कार्य रोक्न, घटनामा संलग्नमाथि कारबाही गर्न, राष्ट्रिय राजमार्ग तत्काल सञ्चालनमा ल्याउन तथा यात्रुलाई बन्धक बनाउने कार्यलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
