स्थानीय युवा बेपत्ता भएको घटनालाई लिएर त्रिपुरासुन्दरी नगरपालिका-५ मा पर्ने इलाका प्रहरी कार्यालय करोपगार्ड र सोही वडामा पर्ने ल्हाँ गाउँका स्थानीय बीच भएको विवाद समाधान हुन नसकेको हाे।
What you should know
डाेल्पा — डोल्पामा स्थानीय र प्रहरीबीच शनिबारदेखिको विवाद अझै समाधान हुन सकेको छैन्।
स्थानीय एक युवा बेपत्ता भएको घटनालाई लिएर त्रिपुरासुन्दरी नगरपालिका-५ मा पर्ने इलाका प्रहरी कार्यालय करोपगार्ड र सोही वडामा पर्ने ल्हाँ गाउँका स्थानीय बीच भएको विवाद समाधान हुन नसकेको हाे।
उक्त घटनाको छानबिन गर्न प्रदेश प्रहरी कार्यालय सुर्खेतले एसपी रामप्रसाद घर्तीमगरको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति समेत खटाएकाे छ। तर, स्थानीयले शनिबार रातिदेखि नै यातायात बन्दकाे घाेषणा गरेपछि छानबिन टाेली बीच बाटाेमै राेकिएकाे छ। घटनास्थल तर्फ बिहानै हिँडेको छानबिन टोली आइतबार बेलुकीसम्म बीच बाटाेमै राेकिएकाे छ।
छानबिन टाेली समेतलाई आउन नदिने अडान राखेर खदाङ बजारमा स्थानीय आक्राेशित भएपछि उक्त टाेली जाजरकोटकाे तल्नुबगरमा राेकिएकाे डाेल्पाका डिएसपी रुकबहादुर खड्काले जानकारी दिए। 'हामीले सहजीकरणका लागि अनुराेध गरेका थियाैं। स्थानीयले नमानेपछि टाेली अगाडि बढ्न सकेको छैन्,' डिएसपी खड्काले भने।
अहिले नगरपालिकाकाे केन्द्र त्रिपुराकाेटमा पीडित पक्षसँग वार्ताकाे तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भीमराज काेइरालाले जानकारी दिए।
शुक्रबार साँझ ल्हाँ गाउँका ३४ वर्षीय युवा जुन रोकायलाई प्रहरीले जाँच गर्ने बहानामा लखेटेपछि ती युवा भेरीमा हाम फालेर बेपत्ता भएकाे स्थानीयले आराेप लगाएका छन्। बेपत्ता राेकायकाे अवस्था पत्ता लगाउनु पर्ने भन्दै स्थानीय शनिबारदेखि यातायात बन्दकाे घाेषणा गर्दै आन्दोलित भएका हुन्।
राेकायलाई प्रहरी चाैकीबाट करिब तीन किलोमिटर दुरीमा रहेको छेप्के पुलमा लागुऔषधको ओसारपसारको आशंकामा जाँच गर्न खोजेपछि विवाद उत्पन्न भएको डिएसपी खड्काले बताए। प्रहरीले जाँच गर्न नपाउँदै रोकाय आत्तिएर ठूलो भेरी नदीमा हाम फालेपछि बेपत्ता भएको उनकाे भनाइ छ। बिहानैदेखि स्थानीय र प्रहरीले भेरी नदीमा खाेजी भइरहेको डिएसपी खड्काले बताए।
घटना भएकाे ठाउँ जिल्ला भित्रिने मूख्य बाटाे भएकाले जिल्ला भित्रने र बाहिरिने ठूला तथा साना सवारीसाधनबीच बाटाेमै रोकिएका छन् भने सयाैं यात्रु अलपत्र परेका छन्। विवादले उग्ररुप लिएपछि ल्हाका स्थानीयले शनिबार साँझ प्रहरी चौकी तोडफोड समेत गरेका थिए। भीड बढेपछि चार जना प्रहरीले शनिबार राति स्थानीयको घरमा लुकेर ज्यान जाेगाएका थिए।
घटनाको निष्पक्ष छानबिन गरेर पीडितलाई न्याय दिइने प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए। अहिले खदाङ् क्षेत्रमा ठूलाे संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
यो पनि पढ्नुहाेस्
डोल्पा घटना : एसपीको नेतृत्वमा छानबिन समिति गठन, स्थानीयद्वारा अनिश्चितकालीन यातायात बन्दको घोषणा
