डोल्पा घटना : एसपीको नेतृत्वमा छानबिन समिति गठन, स्थानीयद्वारा अनिश्चितकालीन यातायात बन्दको घोषणा

प्रहरीले चेकजाँच गर्न नपाउँदै रोकाय आत्तिएर ठूलो भेरी नदीमा हाम फालेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ । अहिले रोकाय बेपत्ता छन् ।

पुस २०, २०८२

रामचन्द्र न्यौपाने

Dolpa incident: Investigation committee formed under the leadership of SP, locals announce indefinite traffic shutdown

What you should know

डोल्पा — डोल्पामा स्थानीय र प्रहरीबीचको विवादले उग्ररुप लिएको छ । एक युवा बेपत्ता भएको घटनालाई लिएर त्रिपुरासुन्दरी नगरपालिका ५ मा पर्ने ईलाका प्रहरी कार्यालय करोपगार्ड र सोही वडामा पर्ने ल्हाँ गाउँका स्थानीय र प्रहरीबीच भएको विवादले उग्ररुप लिएको हो ।

सो घटनाको निष्पक्ष छानबिन गर्नका लागि प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रहरी उपरीक्षक एसपी रामप्रसाद घर्तीमगरको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । उक्त टोली घटनास्थलतर्फ हिँडिसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

शुक्रबार साँझ ल्हाँ गाउँका ३४ वर्षीय स्थानीय युवा जुन रोकायलाई चौकी नजिकैको दूरीमा रहेको छेप्के पुलमा प्रहरीले लागुऔषधको ओसारपसारको आशंकामा चेकजाँच गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो ।

प्रहरीले चेकजाँच गर्न नपाउँदै रोकाय आत्तिएर ठूलो भेरी नदीमा हाम फालेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ । अहिले रोकाय बेपत्ता छन् । प्रहरीले लखेटी लेखेटी ज्यान लिएको स्थानीयले आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका गुप्तचर प्रहरी र खदाङ्गबाट खटिएका बर्दिधारी प्रहरीले दुवैतर्फ लागेर युवाको ज्यान लिएको स्थानीयको आरोप छ । ‘अत्यन्तै दुखदायी घटना घटेको छ । गाउँले एक युवा गुमाएको छ । यसको उचित निरुपण हुन आवश्यक छ,’ वडा नं ५ का अध्यक्ष नर झाँक्रिले भने ।

बेपत्ता रोकायका परिवारहरु शनिबार साझँ नै न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय दुनै पुगेका छन् । घटना टुंगो नलागुञ्जेल ल्हाँका स्थानीयले डोल्पामा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।

सवारीसाधनहरु जिल्ला भित्रने प्रमुख नाका नै अहिलेको घटनास्थलमै पर्ने भएकाले जिल्ला भित्रने र बाहिरिने ठूला तथा साना सवारीसाधनहरु रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् । बिरामी र अत्यावश्यक कामका लागि जिल्ला बाहिरीने र भित्रनेका लागि भने पासका आधारमा छोड्ने स्थानीयले जनाएका छन् ।

दोहोरो विवादले उग्ररुप लिएपछि ल्हाँका स्थानीयले शनिबार साँझ चौकी तोडफोड गरेका थिए । त्यसपछि बेपत्ता भएका एक स्थानीयसहित चार जना प्रहरीमध्ये चारै जना प्रहरी शनिबार राति नै स्थानीयको घरमा लुकेको अवस्थामा फेला परेका छन् भने रोकाय अझै बेपत्ता छन् ।

सो घटनामा परेर तीन जना प्रहरी घाइते भएको प्रहरीले जनाएको भने केही स्थानीय समेत घाइते भएको बताइएको छ । घटना घटिसकेकाले निष्पक्ष छानबिन गरि पीडितलाई न्याय दिन प्रहरी प्रशासन तयार रहेको प्रमुख जिल्ला अधिकारी भिमराज कोइरालाले जानकारी दिए ।

अब छानबिन समिति समेत गठन भइसकेको र स्थानीय सरकारको समन्वयमा प्रहरी प्रशासन स्थानीयसँग वार्ता गर्न तयार रहेकाले थप तोडफोड, यातायात बन्द नगरि संयमित हुन प्रजिअ कोइरालाले स्थानीयलाई आग्रह गरे ।

घटनापछि ईलाका प्रहरी कार्यालय करोपगार्डमा खटिएका दश जना प्रहरीलाई नै जिल्ला तानिएको छ भने घटनामा प्रत्यक्ष्य रुपमा जोडिएका चार जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमै निगरानीमा राखिएको बताइएको छ ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully