स्याउ बिमाको छानबिन गर्न किसानको माग

आइतबार स्याउ किसान, बिमा कम्पनी, स्थानीय प्रशासन बीचको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि किसानहरु आक्रोशित भएर बिमा कम्पनीकाे कार्यालयमा ताला लगाएका थिए ।

पुस १५, २०८२

डीबी बुढा

Farmers demand investigation into apple insurance

What you should know

जुम्ला — स्याउ बिमाको रकम भुक्तानीमा आलटाल गरेको भन्दै जुम्लाका स्याउ किसान आइतबारदेखि आन्दोलनमा उत्रिएका छन्।

उनीहरुले बिमा कम्पनी र स्थानीय प्रशासनसँग संवाद गर्नेदेखि सडकमा प्रदर्शन र धर्ना गर्नेसम्मको काम गरिरहेका छन्।

सोमबार पनि किसान, बिमा कम्पनी र प्रशासन कार्यालय बीच भइरहेको बार्ता निष्कर्षविहीन भएपछि किसानहरुले पाँच बुदे माग राखेका छन्। किसानहरुले शिखर इन्स्योरेन्स कम्पनीले स्याउमा भएको क्षतिको दाबी गरेको रकम भुक्तानी दिन आलटाल गरेको भन्दै छानबिनको माग गरेका हुन्।

जिल्ला प्रशासन कार्यालयमा आइतबार स्याउ किसान, बिमा कम्पनी, स्थानीय प्रशासन बीचको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि किसानहरु आक्रोशित भएर बिमा कम्पनीकाे कार्यालयमा ताला लगाएका थिए ।  

जिल्लाको कनकासुन्दरी, पातारासी र तातोपानीका स्याउ किसानले किसानलाई ठगिएको विषयमा छानबिनका लागि जिल्ला प्रशासन मार्फत गृह मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय र बिमा विकास बोर्डलाई लिखित रुपमा पत्रचार गरेर छानबिन समिति गठन गर्न माग गरेको तातोपानी–४ का वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए ।  

उनीहरुले छानबिन नहुन्जेलसम्म कम्पनीका केन्द्रीय प्रतिनिधि महाप्रबन्धक उदितप्रसाद काफ्ले समेतको टोलीलाई जिल्ला नछाड्न समेत चेतावनी दिएका छन् । 

जुम्लामा देखिएको समस्या समाधानको लागि भन्दै महाप्रबन्धक काफ्ले नेतृत्वको टोली शनिबार जुम्ला आइपुगेको थियो । बिना निष्कर्ष शिखर इन्स्योरेन्स कम्पनीको शाखा कार्यालयमा लगाइएको ताला नखोल्ने, ताला खोल्ने अन्य प्रयास भएका कडा प्रतिवाद गर्ने समेत किसानहरुको चेतावनी छ। 

किसानका माग सम्बोधन हुन नसकेमा तत्काल शिखर इन्स्योरेन्सको कार्यालयलाई हटाउनुपर्ने र अयोग्य कम्पनीको रुपमा घोषित गर्नुपर्ने किसानहरुको माग छ। 

स्याउ बिमा पीडित पहल समितिले केन्द्रबाट खटिएको महाप्रबन्धक काफ्ले नेतृत्वको टिमले तातोपानी, पातारासी र कनकासुन्दरीका बिमा पीडितको मागको उचित सम्बोधन गरेर मात्रै फर्किनुपर्नेमा जोड दिएको छ । 

टोलीले रकम भुक्तानीमा आलटाल गरेको, चित्त नबुझ्ने किसानले कानुनी उपचार लिन सक्ने जस्ता शब्द प्रयोग गरेर मुडभेडको अवस्था सिर्जना गर्न लागेको आरोप लगाएका छन्। तातोपानीका ५९९ र कनकासुन्दरीका ४० सय किसानले स्याउको बिमा रकम पाउन सकिरहेका छैनन् । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully