स्याउ किसानले बिमा कार्यालयमा फेरि लगाए ताला

जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको स्याउ किसान, बिमा कम्पनी, स्थानीय प्रशासन बीचको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि किसानहरु आक्रोशित भएर बिमा कम्पनीमा ताला लगाउन पुगेका हुन् ।

पुस १३, २०८२

डीबी बुढा

Apple farmers lock insurance office again

What you should know

जुम्ला — रकम भुक्तानीमा आलटाल गर्न थालेपछि शिखर इन्स्योरेन्स कम्पनीको कार्यालयमा जुम्लाका स्याउ किसानले दोस्रोपटक ताला लगाएका छन् । 

जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको स्याउ किसान, बिमा कम्पनी, स्थानीय प्रशासन बीचको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि किसानहरु आक्रोशित भएर बिमा कम्पनीमा ताला लगाउन पुगेका हुन् । चन्दननाथ नगरपालिकाबाहेक सात गाउँपालिकाका स्याउ किसानले बिमा कम्पनीले आफूहरुलाई ठगेको आरोप लगाए । 'हामीले स्याउको बिमा रकमबारे पटकपटक लिखित तथा मौखिक रुपमा गुनासो राख्यौं,' तातोपानी-६ का राजबहादुर रोकायाले भने, ‘कुनै सुनुवाइ नभएपछि स्थानीय प्रशासन गुहार्‍यौं ।’

प्राकृतिक प्रकोप र खडेरीका कारण स्याउबाली नष्ट भएको थियो । नियमानुसार किसानले बिमा रकमको दाबी गरेर पेस गरेका थिए । तर कम्पनीले मौसम विवरणको स्पष्ट रिपोर्ट देखाउन सकेन । 'स्थानीय तहले खडेरी परेको भन्दा पनि फिल्ड भिजिट गरेन,' रोकायाले भने, ‘कुन आधार, कुन समितिको निर्णयबाट भुक्तानी निर्धारण भएको हो खुलाउन कन्जुस्याइँ गर्दा समस्या भयो ।’

किसानले अहिले सम्बन्धित डिजिटल मौसम विवरणको रिपोर्ट दिनुपर्ने, किसानहरुको स्याउ बगैंचामा जानुपर्ने जस्ता आधार माग गरेका छन् । उनीहरुले पहिले गरेको र अहिले देखाएको बिमा नीतिसमेत फरकफरक देखिएको बताएका छन् । 

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले किसानले दाबी गरेको बिमा रकम तत्काल उपलब्ध गराउन आग्रह गरे । उनले अझै पनि किसानको अधिकारमाथि अंकुश लगाउन खोजिए सिंधै अख्तियारमा जाने चेतवानी  दिए । 

जम्लामा कुल ५ हजार ३ सय ७९ जनाले स्याउ बिमा गरेका थिए । हालसम्म ६५५ जनाले मात्र क्षतिबापतको रकम पाएका छन् । ९४७ जनाको प्रक्रिया पूरा भई प्रदान गर्ने तयारी छ । २९४ जना किसानको हस्ताक्षर नहुँदा भुक्तानी ढिला भएको छ । 

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully