सुर्खेतमा थुनुवाको मृत्यु प्रकरण : पाँच सदस्यीय छानबिन समिति गठन

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

कार्तिक २१, २०८२

तृप्ति शाही

Surkhet detainee death case: Five-member investigation committee formed

What you should know

वीरेन्द्रनगर — सुर्खेतमा थुनुवा मृत्युको घटनामा छानबिन समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिमा वडा नम्बर ११ का अध्यक्ष खिमलाल देवकोटा, मानव अधिकार सञ्जालबाट पिताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार संघकी सदस्य एवं कर्णाली प्रदेश सचिव मालती विक र मृतक परिवारका तर्फबाट गीता सुनार सदस्य छन् ।

शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा भएका लागूऔषध कारोबार मुद्दाका थुनुवाको मृत्यु भएको हो । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका -११, पिपिराका २६ वर्षीय गंगे सुनार रहेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार मृतक शुक्रबार बिहान ५:५८ बजेको समयमा सुतेको ओछ्यानमै बेहोस अवस्थामा भेटिएका थिए । उनीसँगै सुतेका साथीहरूले बिहान उठाउन खोज्दा नउठेपछि ड्युटीमा भएका प्रहरीलाई खबर गरेका थिए । उनले भने, 'तत्कालै लागि प्रदेश अस्पताल पुर्‍याएका थियौँ । चिकित्सकले मृत घोषणा गर्नुभयो । '

उनी ७८ दिनदेखि हिरासतमा रहेको डीएसपी बुढथापाले बताए । उनका अनुसार चार दिनअघि सरकारी वकिल कार्यालयमा मुद्दा गएर आज (शुक्रबार) उनको मुद्दामा पेसी थियो । थुनुवाको मृत्युपछि हिरासतमा जडान गरिएको सीसीटीभी फुटेज हेरिएको प्रहरीले जनाएको छ ।

सुर्खेत प्रहरी प्रमुख सुधीरराज शाहीका अनुसार मृतक अहिलेसम्मको लागूऔषध सेवनकर्ता हुन् । प्रहरीले कारोबार गर्दा फेला पारेको थियो । उनले भने, 'उनीहरू ३ जना थिए । बस्नेहोर्ने सबै सँगै थियो । तीन चार दिनअघि अदालतमा पेस गरेको हो । अदालतले निर्णय गरेको भए कारागारमा हुन सक्थ्यो । ' मृतकको अवस्था सामान्य भएको र केही नभएको उनले बताए । सामान्य रुघा थियो ।

उनले भने ,'साथीहरुसँग घुलमिल गरेको हिरासतमा राम्रो बसेका थिए । दायाँ बायाँ सबैतिर सोध्यौं, सीसीटीभी फुटेज पनि छ । हिजो हाँसखेल गरेर सुतेको हो । बिहान उठ्दा सँगै सुतेको साथीले दाइ उठ्नु भनेर बोलाउँदा, चार पाँच वटा सेलमध्ये ५ नम्बरको रेखदेख गर्ने खालको पनि थियो । त्यसमा चलेन, त्यसपछि अर्को साथीलाई पनि उठायौँ । त्यसपछि शंका लागेर कराएको रहेछ । प्रहरीलाई बोलायौँ, तुरुन्त गएर हेर्दा अचेत छ । तुरुन्तै हस्पिटल लग्यौं, तर मृत्यु भइसकेको रहेछ । ' राति केही घटना पो भयो कि भनेर सीसीटीभी फुटेज पनि हेरेको तर गफ पनि गरेका तर केही नभएको उनले बताए । सीसीटीभी फुटेज पनि क्लिएर छन् भएको र सबैसँग सोधपुछ गर्दा पनि केही नदेखिएको प्रहरी प्रमुख शाहीले बताए ।

यता मृतकका आफन्तले शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाहिर घटनाको निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन गरेका थिए । छानबिन समिति गठन पछि आन्दोलन तत्काललाई रोकिएको छ । 

जिल्ला प्रहरी प्रमुख शाहीले मृतकको पोस्टमर्टमको लागि नेपालगन्जबाट शनिबार डाक्टर बोलाइएको बताए । कर्णालीमा मृतको पोस्टमर्टमको लागि विशेषज्ञ डाक्टर नभएकोले फरेन्सिक विभागकै डाक्टरलाई पोस्टमर्टमको लागि बोलाइएको उनले बताए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully