ताक्लाकोटमा रोजगारीको सिजन सकियो, फर्किंदै हुम्ली युवा 

ताक्लाकोटमा नेपाली जडिबुटीको व्यापार पनि राम्रो छ । यार्सागुम्बा, फुरु, गुच्ची च्याउ, थाक्नालगायत जडिबुटी बिक्रीका लागि केही व्यापारी पनि बर्सेनि त्यहाँ जाने गरेका छन् ।

कार्तिक १४, २०८२

कृष्णप्रसाद गौतम

Employment season in Taklakot ends, Humli youth returning

What you should know

सुर्खेत — हिमपातको मौसम सुरु हुन थालेपछि चीनको ताक्लाकोटमा रोजगारीका लागि गएका हुम्लाका युवा फर्किन थालेका छन् ।

यो वर्ष १० हजार ९ सय ५५ युवा रोजगारीका लागि ताक्लाकोट गएका थिए । कोरोना महामारीपछि हुम्लाका बासिन्दा पहिलोपल्ट रोजगारीका लागि ताक्लाकोट गएका हुन् । त्यहाँ जान जिल्ला प्रशासन कार्यालयबाट एक वर्षका लागि सीमा प्रवेशको अनुमतिपत्र लिनुपर्छ । प्रशासनका अनुसार यो वर्ष ८ हजार २ सय ३७ जनाले नयाँ र २ हजार ७ सय १८ जनाले सीमा पास नवीकरण गरेका थिए । अहिले दैनिक १५ देखि ५० जनासम्म युवा ताक्लाकोटबाट फर्किरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले बताए । 

नाम्खा गाउँपालिका-३ का पासाङ तामाङले झन्डै ५ महिना ताक्लाकोट बस्दा करिब ६ लाख रुपैयाँ कमाइ गरेको बताए । ‘कोरोनाअघिसम्म ६ महिना उता र ६ महिना यता बस्थ्यौं, यो वर्षबाट फेरि ताक्लाकोट खुल्यो,’ उनले भने, ‘उता हिउँको सिजन सुरु हुन थालेपछि फर्किएका हौं, फेरि वैशाखमा जान्छौ ।’

उताबाट फर्किने युवाले घरका लागि झन्ड एक वर्ष पुग्ने खाद्यान्न, लत्ताकपडा र उपभोग्य सामान ल्याउने गरेको नाम्खा गाउँपालिकास्थित हल्जीका कुन्साङ तामाङले बताए । ‘महिनामा डेढ लाखसम्म कमाइ हुन्छ, भारी बोक्ने, घर बनाउने, सडक मर्मतको काम पाउन पनि गाह्रो छैन,’ उनले भने, ‘त्यहाँको ५/६ महिनाको कमाइले पूरै परिवारका लागि वर्षभरिलाई खर्च पुग्छ ।’ उनी पनि झन्डै ५ महिना ताक्लाकोटमा मजदुरी गरी फर्किएका हुन् । 

जिल्ला प्रशासनको पासबाटै जान पाइने र कमाइ राम्रो हुने भएकाले हुम्लाका युवा ताक्लाकोटमा रोजगारी र व्यापारका लागि जाने गरेका छन् । ताक्लाकोटबाट फर्किंदा झन्डै ५ हजार मिटर उचाइको नारा लेकमा हिमपात भएपछि बाटो बन्द हुने गरेकाले हिमपातअघि नै स्थानीय फर्किने गरेको गाउँपालिका उपाध्यक्ष तक्दिर लामाले बताए । उनका अनुसार पालिकाबाट झन्डै एक हजार युवा ताक्लाकोट गएका थिए ।

Employment season in Taklakot ends, Humli youth returning

‘यहाँका युवाका लागि त खाडी मुलुक र युरोपका देशझैं रोजगारीको गन्तव्य चीन मात्र हो, त्यसमा पनि ताक्लाकोटमा सजिलै मजदुरीका लागि जान पाइन्छ,’ उनले भने, ‘कोरोना कहरका कारण नाका बन्द हुँदा युवाको गाँस काटिएझैं भएको थियो, अब भने यहाँको गरिबी घट्ने र जीविकोपार्जन सहज हुने आशा छ ।’

ताक्लाकोटमा दैनिक मजदुरी गर्नेले औसत प्रतिदिन तीन सय चिनियाँ युआन (सुकर) कमाउने गरेको नाम्खा-५ का पेम्बा तामाङले बताए । उनका अनुसार उक्त मुद्राको नेपाली विनिमय दर १९ रुपैयाँ ४५ पैसा छ । ‘रासन र कोठाभाडा पनि सस्तो छ, खानाबस्न १५ देखि २५ हजार रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘त्यसैले वर्षमा ३/४ महिना काम गरे पनि वर्षभरिको खर्चको जोहो गर्न सकिन्छ ।’ 

ताक्लाकोटमा सबैभन्दा धेरै नाम्खा र सिमकोटका बासिन्दा जाने गरेका छन् । यी दुई पालिकाका झन्डै ७० प्रतिशत युवा ताक्लाकोट गएको उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नाम्ग्याल तामाङले बताए । उनका अनुसार ताक्लाकोटमा नेपाली जडिबुटीको व्यापार पनि राम्रो छ । जसका कारण यार्सागुम्बा, फुरु, गुच्ची च्याउ, थाक्नालगायत जडिबुटी बिक्रीका लागि हुम्लाका केही व्यापारी पनि बर्सेनि त्यहाँ जाने गरेको उनले जानकारी दिए । 

चीन सरकारले कोरोना महामारीका कारण झन्डै चार वर्ष वर्ष हिल्सा नाका बन्द गरेको थियो । ताक्लाकोट चिनियाँ स्वशासित क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गत पुलान काउन्टी (जिल्ला) को सदरमुकाम हो । जिल्ला प्रशासनले जारी गर्ने पासले ३० किलोमिटर चीनतर्फ ताक्लाकोटसम्म जान पाइने हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । उनका अनुसार ताक्लाकोट पछि विकास भएको सहर हो । जसका कारण नयाँ पूर्वाधार निर्माणको काम पनि सजिलै काम पाइन्छ । तर नेपाल-चीनबीच श्रम सम्झौता नहुँदा स्थानीयहरु सरकारले तोकेको  पारिश्रमिकबाट वञ्चित भएको उनको भनाइ छ ।  

कृष्णप्रसाद गौतम गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully