गत साउन २५ गतेदेखि बीस दिनका लागि खुला गरिएको यस परम्परागत नाकामा हुने अवैध गतिविधि रोक्न चिनियाँ प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त गस्ती सुरु गरेको हो ।
What you should know
डोल्पा — उपल्लो डोल्पामा पर्ने मोरिम्ला नाकामा चिनियाँ प्रहरीसहित तीन सुरक्षा निकायको संयुक्त गस्ती सुरु गरिएको छ ।
गत साउन २५ गतेदेखि बीस दिनका लागि खुला गरिएको यस परम्परागत नाकामा हुने अवैध गतिविधि रोक्न चिनियाँ प्रहरी,सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त गस्ती सुरु गरेको हो ।
नाका क्षेत्रमा अवैध गतिविधि रोक्नुका साथै शान्ति सुरक्षा कायम गर्न संयुक्त गस्ती सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले बताए ।
'यो खुला नाका हो । यस समयमा अस्थायी रुपमा नाका खुला छ । मान्छेहरुको आवागमन पनि बाग्लो हुने भएका विभिन्न प्रकारका अपराधिक गतिविधि नहुन भनेर सुरक्षाकर्मीले गस्तीसहित निगरानी गरिरहेको छ,' डिएसपी खड्काले भने ।
जिल्ला प्रशासन कार्यालय डोल्पाले यस वर्ष दुई हजार दुई सय सीमा पास जारी गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।
विगतदेखि नै खुल्दै आएको मोरिम्ला नाकाबाट उपल्लो डोल्पावासीले दैनिक उपभोग्य सामग्री,लत्ताकपडा,विभिन्न मेसिनरी सामग्री खरिद गर्ने गरेका छन् ।
उपल्लो डोल्पा भौगोलिक रुपमा विकट भएकाले नेपाली सामानहरु खरिद गर्दा ढुवानी रकम महँगो पर्ने भएकाले उपल्लो डोल्पावासीले वर्ष दिनसम्मै पुग्ने गरी सस्तो मूल्यमा चिनियाँ सामग्रीहरु खरिद गर्ने गरेका हुन् ।
उपल्लो डोल्पावासीले प्रत्येक वर्ष चिनियाँ सामग्री खरिद मात्र गर्ने र चीनतर्फ बेच्नका लागि व्यावसायिक उत्पादन गरिएका सामग्रीहरु नहुँदा प्रत्येक वर्ष करोडौँ रकम चिनियाँ बजारमा पुग्ने गर्दछ ।
नाका क्षेत्रमा चिनियाँ व्यापारीहरुले अस्थायी रुपमा ठूलाठूला पाल टाँगेर सामग्रीहरु बिक्री वितरणका लागि राखेका हुन्छन् ।
यसबेला नेपालबाट निर्यात हुने जडिबुटी भनेको यार्सागुम्बा हो ।
चिनियाँ बजारमा नेपालकोभन्दा राम्रो मूल्य पाइने भएकाले पनि डोल्पाली यार्सागुम्बा व्यापारीहरु आफूहरुले संकलन गरेका यार्सागुम्बा बिक्री गर्न चिनियाँ नाका पुग्ने गर्दछन् ।
डोल्पामा अहिले राम्रो यार्सागुम्बा प्रतिकिलो तीस लाखसम्म रहेको व्यापारीहरु बताउँछन् ।
मोरिम्ला नाका अस्थायी एवम् खुला नाका हो । नाका खुल्ने अवधिभर उक्त चिनियाँ क्षेत्रमा व्यापारिक मेला नै लाग्ने गर्दछ ।
उपल्लो डोल्पा अझै पनि राष्ट्रिय सडक सञ्जालमा नजोडिएकाले पैदल हिँडेर आउजाउ गर्नुपर्ने र दैनिक उपभोग्य लगायतका सामग्रीहरु खोडाखच्चड, याक,चौरीमा बोकाएर ढुवानी गर्नुपर्ने बाध्यता छ ।
शे–फोक्सुन्डो,डोल्पोबुद्व र छार्काताङ्सोङ् गरी तीनवटा स्थानीय तह उपल्लो डोल्पामा रहेका छन् ।
