उपल्लो डोल्पामा पर्ने चिनियाँ नाका बीस दिनका लागि खुल्ने

श्रावण ८, २०८२

रामचन्द्र न्यौपाने

The Chinese border at Upper Dolpa will be opened for 20 days

What you should know

डोल्पा — उपल्लो डोल्पामा पर्ने चिनियाँ नाका यस वर्ष पनि खुल्ने भएको छ। कोभिड–१९ महामारीपछि गत वर्षमात्र खुलेको उक्त नाका यस वर्ष पनि खुल्ने भएको हो।

उपल्लो डोल्पावासीले विगतदेखि प्रयोग गर्दै आएको मोरिम्ला नाका यस वर्ष भने साउन २५ गतेदेखि खुल्ने भएको सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले जानकारी दिए।

नाकासम्म पुग्ने विभिन्न प्रकारका आपराधिक गतिविधि रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने तयारी भइरहेको पनि उनले बताए।

उनका अनुसार उपल्लो डोल्पाका पालिकाहरूबाट सुरक्षा माग हुने गर्छ, यार्सागुम्बा व्यापारीहरूले पनि माग गर्छन्, सोहीअनुसार जिल्लाबाट सुरक्षाकर्मीहरू खटाइने छन्।

'जिल्ला प्रशासन कार्यालयबाट हालसम्म नाका प्रवेशका लागि दुई हजार दुई सय सीमा प्रवेश पास जारी गरिएको छ,' उनले भने।

शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङका अनुसार नाका खोल्ने विषयमा चीनको सिगात्चे काउन्टीअन्तर्गत डोङ्बा प्रान्तका अधिकारीहरूसँग छलफलपछि मात्रै मिति तय गरिएको हो।

गत वर्ष साउन १७ गतेदेखि १५ दिनका लागि नाका खोलिएको थियो भने यस वर्ष २० दिनसम्म सञ्चालन हुने उपाध्यक्ष गुरुङले बताए।

विगतदेखि खुल्दै आएको मोरिम्ला नाकाबाट उपल्लो डोल्पावासीले दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, विभिन्न मेसिनरी सामग्री खरिद गर्ने गर्छन्।

उपल्लो डोल्पा भौगोलिक रूपमा विकट भएकाले नेपाली सामान खरिद गर्दा ढुवानी खर्च महँगो पर्ने भएकाले उपल्लो डोल्पावासीले वर्ष दिनसम्म पुग्ने गरी सस्तो मूल्यमा चिनियाँ सामग्री खरिद गर्ने गरेका हुन्।

उपल्लो डोल्पावासीले प्रत्येक वर्ष चिनियाँ सामग्री मात्र खरिद गर्ने र चीनतर्फ बेच्नका लागि व्यावसायिक उत्पादन गरिएका सामग्री नहुँदा प्रत्येक वर्ष करोडौँ रुपैयाँ चिनियाँ बजारमा जाने गरेको छ।

नाका क्षेत्रमा चिनियाँ व्यापारीहरूले अस्थायी रूपमा ठूला पाल टाँगेर सामग्री विक्री वितरणका लागि राख्ने गर्छन्।

यसबेला नेपालबाट निर्यात हुने जडीबुटी भनेको यार्सागुम्बा हो। चिनियाँ बजारमा नेपालको भन्दा राम्रो मूल्य पाइने भएकाले पनि डोल्पाली यार्सागुम्बा व्यापारीहरू आफैँले संकलन गरेका यार्सागुम्बा बेच्न चिनियाँ नाका पुग्ने गर्छन्।

डोल्पामा अहिले राम्रो यार्सागुम्बा प्रतिकिलो ३० लाख रुपैयाँसम्म रहेको व्यापारीहरू बताउँछन्।

मोरिम्ला नाका अस्थायी एवं खुला नाका हो। नाका खुल्ने अवधिभर उक्त चिनियाँ क्षेत्रमा व्यापारिक मेलानै लाग्ने गर्छ।

उपल्लो डोल्पा अझै पनि राष्ट्रिय सडक सञ्जालमा नजोडिएकोले पैदल हिँडेर आउजाउ गर्नुपर्ने र दैनिक उपभोग्यलगायत सामग्रीहरू खच्चड, याक, चौरीमा बोकाएर ढुवानी गर्नुपर्ने बाध्यता छ।

शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्का ताङसोङ गरी तीन वटा स्थानीय तह उपल्लो डोल्पामा रहेका छन्।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully