९ वर्षअघि खुला दिसामुक्त घोषणा, अहिले एक हजार घर शौचालयविहीन

अभियानका क्रममा निर्माण भएका कतिपय शौचालय जीर्ण, कतिपय घाँसदाउरा राख्ने थलो

वैशाख ३०, २०८२

विप्लव महर्जन

Open defecation free announcement 9 years ago, now 1000 houses without toilets

सल्यान — जिल्लालाई खुला दिसामुक्त बनाउन सरकारी कार्यालय तथा गैरसरकारी संस्थाले २०६८/६९ देखि घरघरमा शौचालय निर्माण गर्न अभियान सञ्चालन गरे । समिति बनाएरै अनुगमनका कार्यक्रम पनि चले । शौचालय नभएका र आर्थिक अवस्था कमजोर भएका घरलाई सिमेन्ट, प्यान र खाडल खन्न लाग्ने खर्चसमेत उपलब्ध गराउँदा अभियानमै लाखौं खर्च भयो । 

२०७३ असार १७ मा तत्कालीन खानेपानी तथा सरसफाइ कार्यालय सल्यानको संयोजकत्वमा बृहत् कार्यक्रम गरेर धुमधामका साथ जिल्लाका ४६ हजार ३ सय ४२ घरमा मापदण्डअनुसार शौचालय निर्माण गरेको भन्दै सल्यानलाई खुला दिसामुक्त घोषणा गरियो । घोषणा गरेको ९ वर्ष पुग्नै लागेको छ । विडम्बना, अझै सल्यानमा एक हजारभन्दा बढी घर शौचालविहीन छन् ।

२०७८ को जनगणनाअनुसार सल्यानमा ५४ हजार ७०१ घरधुरी छन् । तीमध्ये एक हजार ८३ घरमा अझै शौचालय छैन । जिल्लाको पालिकास्तरीय तथ्यांकअनुसार शारदा नगरपालिकामा १ सय २६, बन्गाड कुपिण्डे नगरपालिकामा २ सय २५, बाग्चौर नगरपालिकामा २८, कपुरकोट गाउँपालिकामा ६०, त्रिवेणीमा ८८, कालिमाटीमा २ सय २६, सिद्धकुमाखमा ८७, कुमाखमा ८७, छत्रेश्वरीमा ८१ र दार्मा गाउँपालिकामा ७५ घरमा शौचालय छैनन । 

तथ्यांकअनुसार जिल्लामा सेप्टिक ट्यांक भएका चर्पी सबैभन्दा धेरै ३८ हजार ८ सय ३२ घरमा छन् । सार्वजनिक ढल भएको १ हजार ४ सय ३६, साधारण १३ हजार २ सय ३८ र सार्वजनिक ८३ वटा शौचालय छन् । 

अभियानका क्रममा निर्माण भएका कतिपय शौचालय गतिलो नभई छोटो समयमै जीर्ण भएका र पर्याप्त मात्रामा पानीको अभावमा प्रयोगविहीन छन् । कतिपय त घाँसदाउरा राख्न प्रयोग हुने गरेका छन् । 

२०७८ को जनगनणाअनुसार जिल्लाभर अझै एक हजारभन्दा बढी घरमा शौचालय नभए पनि पालिकासँग भने अहिलेसम्म कतिघरमा शौचालय छैनन् भन्ने तथ्यांक छैन । बेलाबेला सरसफाइ तथा खुला दिसामुक्तका लागि विभिन्न कार्यक्रम गर्दै आएका स्थानीय तहले शौचालय नभएका घरमा नयाँ निर्माण गर्न खासै चासो देखाएका छैनन् । घोषणा गरिसकेपछि सम्बन्धित निकाय मौन रहेको, दाताको सहयोगबिना धेरै रकम खर्च गरेर शौचालय बनाउने अवस्था नरहेको स्थानीय बताउँछन् ।

अभियानका बेला सम्बन्धित निकायले प्यान, सिमेन्ट दिएर २०७१ तिर शौचालय निर्माण गरे पनि बस्तीमा खानेपानीको हाहाकार सुरु भयो । एक गाग्री पानी ल्याउन डेढ घण्टा हिँडेर खोला नै पुग्नुपर्ने बाध्यताका कारण भएका शौचालय प्रयोगविहीन हुन थालेको कालिमाटी गाउँपालिका-१ लक्ष्मीपुर कोटका दुर्गाबहादुर रावतले बताए । पानीकै समस्याका कारण बस्तीका २० परिवार जंगलमा गएर शौच गर्न बाध्य भएका उनी बताउँछन् । ‘लामो समय हिँडेर ल्याएको पानी खाना पकाउन र खान ठिक्क हुन्छ । नुहाउन तथा कपडा धुनका लागि खोलै झर्नुपर्छ । शौचालयको लागि पानी ल्याउने त कसैले सोच्दै सोच्दैनन्,’ उनले भने, ‘अधिकांश शौचालय प्रयोगविहीन मात्र नभई अहिले जीर्ण छन् । सबैको आर्थिक अवस्था कमजोर भएकाले कसैले नयाँ बनाउन सकेका छैनन् । दिसापिसाब लाग्यो भने सबै घर नजिकैको जंगलतिर दौडिन्छन् ।’

बन्गाड कुपिण्डे नगरपालिका-१२ का अध्यक्ष लालबहादुर घर्तीमगरले वडामा ६ सय घरधुरी भए पनि आर्थिक अवस्था कमजोर भएका र वृद्धवृद्धा भएका दर्जनभन्दा बढी घरमा शौचालय नभएको बताए । बारम्बार निर्माण गर्न आग्रह गर्दै आए पनि आर्थिक अभावकै कारण देखाएर शौचालय बनाउन नमानेको उनको भनाइ छ । शौचालय नभएका सबैले खुला दिसापिसाब गर्दै आएकाले प्रदूषण फैलिन थालेको उनले बताए ।

कालिमाटी गाउँपालिका-१ का अध्यक्ष रविलाल बस्नेतले ८ सय घरपरिवार रहेको वडामा दुई दर्जनभन्दा बढी घरमा शौचालय नभएको र भएका पनि पानीको अभावमा प्रयोगमा आउन नसकेको बताए । स्वास्थ्य सचेतनाका अभावमा स्थानीयले शौचालय बनाउन चासो नदेखाएको उनको भनाइ छ । 'पानीको अभावमा प्रयोगविहीन धेरैका शौचालय घाँसदाउरा राख्ने स्थानमा परिणत भएका छन्,' उनले भने ।

अहिले पालिकामा सुस्वा परियोजना लागू गरेपछि सरसफाइ कार्यक्रम भइरहेको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । 'कार्यक्रममार्फत स्थानीयलाई श्रममा लगाएर घरघरमा शौचालय बनाउने तयारी भइरहेको छ,’ उनले भने । पालिकामा ४ हजार ८० घरधुरीमध्ये अहिले ७५ घर शौचालयविहीन रहेको उनले बताए ।

राष्ट्रिय जनगणनाअन्तर्गत बन्गाड कुपिण्डे नगरपालिकाभित्र २ सय २५ घर शौचालयविहीन भएको खुल्न आए पनि आफूलाई अहिलेसम्म थाहा नभएको प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर घर्तीले बताए । 

खानेपानी तथा ऊर्जा विकास कार्यालय सल्यानका प्रमुख अनुप श्रेष्ठ पहिलाको तुलनामा घरधुरी बढेको र छुटीभिन्नका कारण धेरै घर शौचालयविहीन भएको हुन सक्ने बताउँछन् । 'विगतमा के आधारमा खुला दिसामुक्त घोषणा गरियो र पछिल्नो समय धेरै घर किन शौचालयविहीन भए भनेर यो वर्ष हामी अवस्था विश्लेषण गर्नेछौं,' उनले भने ।

पानीको अभावमा प्रयोगविहीन कालिमाटी गाउँपालिका-१ कोटस्थित शौचालय । तस्बिर : कान्तिपुर 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully