टायल, मार्बलको सट्टा स्लेट ढुंगाको प्रयोग बढ्दै, झण्डै एक सयलाई स्थानीय स्तरमा रोजगारी
रुकुम पश्चिम — रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ गोइरीका ७१ वर्षीय धनसिंह पुन बिहान ६ नबज्दै घरनजिकैको ढुंगाखानी पुग्छन् । साँझैसम्म खानीबाट ढुंगा निकाल्ने र त्यसलाई विभिन्न आकार दिने उनको यो दैनिकी ५६ वर्षदेखि चलिरहेको छ । उनका बाबु भोजसिंहले पनि यही खानीमा झण्डै ४० वर्ष काम गरे ।
धनसिंहले ढुंगा निकालेर प्रसस्तै नकमाए पनि रोजगारीका लागि विदेश धाउनु परेको छैन । ‘यही कामले अहिलेसम्म परिवारको लालनपालन, घरखर्च, छोराछोरीको उच्च शिक्षाको रकम सबै जुटाइरहेको छु,’ उनले भने, ‘गाडी लिएर ग्राहक खानीमै आउँछन्, घरनजिकैको रोजगारीले जीविका राम्ररी चलेको छ, सन्तुष्टि पनि मिलिरहेको छ ।’
गोइरीकै ६१ वर्षीय खिमे घर्तीले पनि ढुंगाखानीमा काम गर्न लागेको झण्डै ५० वर्ष पुग्यो । उनका बाबु षडानन्दले पनि लामो समय खानीमै काम गरे । ‘बुवाको पछिपछि लागेर १० वर्षको उमेरदेखि यही खानीमा काम गरिरहेको छु, यहींकै कमाइले २ छोरालाई सरकारी जागिरे बनाएँ,’ उनले भने, ‘चौरजहारी बजारमा २ तले पक्की घर बनाएको छु, दुःख पनि खासै छैन, आम्दानी पनि भइरहेकाले बुढ्यौलीमा पनि दिनहुँ खानीमा आएर काम गर्छु ।’ आफूले अहिले पनि खानीबाट ढुंगा निकालेर दैनिक १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म कमाइ गरिरहेको बताए ।
उनीहरूले खानीबाट निकालेको ढुंगा सबैभन्दा बढी काठमाडौं र पोखरामा गइरहेको छ भने नेपालगन्ज, बुटवल, सुर्खेत, बाग्लुङ, दाङलगायत ठाउँमा पनि यसको माग बढिरहेको छ । सुरुमा स्थानीयस्तरमै खपत भइरहेकामा ५ वर्षयता यहाँका अधिकांश ढुंगा सहरतिर जाने गरेका छन् । गोइरीका ढुंगा छानो छाउन, भान्सामा सिलौटोका रूपमा प्रयोग गर्न र सजावटका सामग्री बनाउन प्रयोग भइरहेको स्थानीय कविन्द्र बुढाले बताए ।
उनका अनुसार कतिपयले घरभित्र मार्बल र टायलको सट्टामा पनि गोइरीका ढुंगा प्रयोग गरिरहेका छन् । ‘अन्यत्रका ढुंगाखानी लोप भइरहेका बेला हामीले पनि पुस्तौंदेखि रोजगारी पाइरहेका छौं, गाउँका हरेक परिवारबाट कम्तीमा एक जनाले खानीमा रोजगारी पाउँदा सबै घरको आम्दानी राम्रो छ,’ उनले भने, ‘यही खानीको कमाइबाट अधिकांशले चौरजहारी बजारमा घर बनाएका छौं, जग्गाजमिन जोडिरहेका छौं ।’
स्थानीय कमल विकका अनुसार खानीबाट ढुंगा बाहिर निकालिसक्न नपाउँदै ती ढुंगा बिक्री भइहाल्छन् । उनले ३/४ महिनादेखि नै ढुंगाका लागि व्यापारीले पेस्की रकम पठाउने गरेको बताए । पछिल्लो समय ठूला होटल, विभिन्न पार्क तथा पर्यटकीय स्थलहरूमा पनि आफूहरूले निकालेका स्लेट ढुंगा प्रयोग भइरहेको उनको भनाइ छ । ‘अहिले त सहरतिर टायल र मार्बलको सट्टा यहाँका ढुंगा प्रयोग भइरहेका छन्, व्यापारीहरू गाडी लिएरै ढुंगा खरिद गर्न आउँछन्,’ उनले भने, ‘उत्पादन कम छ, माग बढी छ, माग धान्नै मुस्किल भइसक्यो ।’
ढुंगा सहरमा बिक्न थालेपछि खानीमा जोडिनेको संख्या पनि बढिरहेको उनको भनाइ छ । अहिले खानी र आसपासका क्षेत्रमा झन्डै १ सय जनाले रोजगारी पाएका छन् । उनीहरूको आम्दानी दैनिक १ हजारदेखि ५ हजार रुपैयाँसम्म छ । खानीबाट निकालेको ढुंगाको संख्याका आधारमा उनीहरूको ज्याला निर्धारण हुन्छ ।
ढुंगाको माग बढिरहेपछि खानी क्षेत्रमा ढुंगा काट्ने मेसिन ल्याइएको अर्का कामदार धनबहादुर चन्दले बताए । ‘मेसिन ल्याएपछि हातले ढुंगालाई आकार दिन परेको छैन,’ उनले भने, ‘काम पनि छिटो र सहज हुन थालेको छ, मेसिनमार्फत अर्डर अनुसारकै ढुंगा बन्न थालेपछि बिक्री पनि ह्वात्तै बढेको छ ।’ उनको परिवारबाट ढुंगाखानीमा काम गर्ने उनी तेस्रो पुस्ताका हुन् । आफ्ना बाबुबाजेले पनि यही खानीमा लामो समय काम गरेको उनले बताए ।
‘यो हाम्रा बाजेहरूको पालादेखिकै खानी हो, खानीबाट पुरानै तरिकाबाट ढुंगा निकाल्छौं, बाहिर ल्याएर मेसिनमार्फत विभिन्न आकारमा ढाल्ने गरिएको छ,’ उनले भने, ‘सुरुमा स्थानीयस्तरमै घर छाउन मात्र यहाँका ढुंगा प्रयोग गरिन्थ्यो, केही समय जस्तापाताले घर छाउन थालिएपछि ढुंगाको माग घटेको थियो, अहिले त सजावटका रूपमा ढुंगा प्रयोग गर्न थालिएको छ ।’ उनका अनुसार खानीमा ढुंगाको आकार हेरेर मूल्य तोक्ने गरिएको छ । सामान्यतया ४० देखि ७० रुपैयाँसम्ममा एउटा ढुंगा बिक्री हुन्छ । यही मूल्यबाट जग्गाधनी, खानीमा काम गर्ने, श्रमिक र नगरपालिकाले कर लिन्छ । नगरपालिकाले ढुंगाको आकार हेरेर ५ रुपैयाँसम्म कर लिने गरेको छ ।
पछिल्लो समय माग बढेसँगै आम्दानी पनि बढिरहेको अर्का कामदार डिल्ली हमालले बताए । ‘हामीले यसैबाट परिवार पालेका छौं, छोराछोरीको पढाइ खर्च व्यहोरिरहेका छौं,’ उनले भने, ‘माग बढ्दै गएपछि दिनमा कम्तीमा ३ हजारसम्म कमाइ गरिरहेका छौं ।’ उनले अहिले बिहान सबेरैदेखि राति अबेरसम्म खानीमा व्यस्त हुने गरेको बताए । खानी नजिकैसम्म नगरपालिकाले सडक निर्माण गरिदिएको छ । मध्यपहाडी लोकमार्गदेखि खानीसम्मको सडक निर्माण गरेपछि व्यापारीहरू गाडी लिएर खानीमै ढुंगा ल्याउन जाने गरेको नगर प्रमुख पुष्प वादीले बताए ।
‘यो खानीमा अहिले तेस्रो पुस्ताले काम गरिरहेका छन्, परम्परागत व्यवसायबाट गावै आत्मनिर्भर बनेको छ,’ उनले भने, ‘आसपासका गाउँबाट युवाहरू विदेश गएका गयै छन्, गोइरीमा भने ढुंगाखानीले पलायन रोकिरहेको छ, ढुंगाखानीबाट भएको आम्दानीले अधिकांशले सहरबजारमा घरजग्गा जोडेका छन् ।’ गोइरीमा पाइने ढुंगा विशिष्ट खालका भएकाले संघीय राजधानीसम्म यसको माग बढिरहेको उनको भनाइ छ । ‘खानीले स्थानीयलाई आम्दानी त दिएको छ नै, चौरजहारीको पहिचान पनि विभिन्न ठाउँसम्म पुर्याएको छ,’ उनले भने ।
खानीमा राम्रै आम्दानी भएपछि कालापहाड (भारत) जानु नपरेको ६२ वर्षीय तुलाबहादुर घर्तीले बताए । ‘सिंगो जीवन नै ढुंगाखानीमा बिताइयो, चौरजहारी बजारमा पक्की घर बनाउने, जग्गा जोड्ने, सन्तान पढाउने मुख्य आयस्रोत नै यही खानी हो,’ उनले भने, ‘गोइरी गाउँवासीको जीविकोपार्जनको मुख्य स्रोत नै यही खानी हो ।’ उनले आफूले काम सुरु गर्दाताका एक सयवटा ढुंगा १० रुपैयाँमा बिक्री गरेको सुनाए । कुनै बेला परम्परागत घर छाउन प्रयोग हुने स्लेट ढुंगा अहिले आधुनिक घरहरू सजाउन प्रयोग भइरहेको उनको भनाइ छ ।
‘पोखरा र काठमाडौंका घरमा भित्तामा टाँस्न र भुइँमा छाप्न पनि यहाँका स्लेट ढुंगा प्रयोग भइरहेका छन्,’ उनले भने, ‘पदमार्ग, पार्किङ र बगैंचामा पनि गोइरीका ढुंगाको माग बढ्दो छ । हेर्दा आकर्षक देखिने र मार्बलभन्दा धेरै टिकाउ हुने भएकाले स्लेटको माग बढिरहेको हो ।’
ढुंगाखानीका सञ्चालक मिसरकुमार मल्लले अहिले करिब ७५ जना दक्ष मिस्त्री र २३ जना कामदारले खानीमा काम गरिरहेको बताए । उनका अनुसार यो यस मौसममा ढुंगा निकालिरहेका १५ वटा खानीमा कम्तीमा ५ जनाका दरले मिस्त्री र अन्यले काम गरिरहेका छन् । हरेक वर्ष मंसिरदेखि जेठसम्म ढुंगाखानीमा काम हुने उनको भनाइ छ । अन्य महिनामा भने पानी पर्ने भएकाले पहिरो जाने र दुर्घटना हुने भएकाले काम रोक्ने गरिएको छ । बिक्रीका लागि तयार भएका ढुंगाहरू आकार हेरेर मूल्य निर्धारण हुने उनले जानकारी दिए । उनका अनुसार अहिले ७० रुपियाँ प्रतिगोटाको दरले ढुंगा बिक्री हुने गरेको छ ।
गोइरीको ढुंगाखानी व्यक्तिको जग्गामा छ । यस वर्ष ५ जनाको जग्गामा रहेको १५ वटा खानीबाट ढुंगा निकालिरहेको सञ्चालक मल्लले बताए । त्यसबाहेक अन्य खानीमा कुनैमा ढुंगा सिद्धिएका छन् भने कुनै माटोले पुरिएका छन् । खानीबाट यस वर्ष करिब २ लाख ५० हजार ढुंगा निकाल्ने गरी काम भइरहेको उनले बताए । चौरजहारी नगर प्रमुख वादीले गोइरी र गडीमालिकामा भएको ढुंगाखानी स्थानीयको रोजगारीको प्रमुख स्थल भएको बताए । दुवै खानीमा गरेर झण्डै १ सय ५० जनाले दैनिक रोजगारी पाइरहेको उनको भनाइ छ ।
खानीबाट ढुंगा निकाल्नेले मात्र रोजगारी पाएका छैनन्, ढुंगा बोक्नेहरूले पनि आम्दानी गरिरहेका छन् । गोइरीबाट चौरजहारी बजारसम्म ढुंगा ओसार्नेहरूले प्रतिगोटा १० रुपैयाँ ज्याला पाउँछन् । ‘दिनमा एक सयवटा ढुंगा बोक्दा पनि एक हजार रुपैयाँ कमाइ हुन्छ,’ स्थानीय राकेश घर्तीले भने, ‘खानीबाट ढुंगा ओसारपसार गर्न थालेपछि घरखर्च राम्ररी चलेको छ ।’ उनका अनुसार झण्डै ५० जनाले सिजनका बेला ढुंगा ओसार्ने काम गर्छन् । ढुंगा ओसारपसार गर्दा ट्र्याक्टरलगायत मालवाहक साधनले पनि काम पाइरहेको उनको भनाइ छ । ‘मुख्य बाटोमा पुर्याएपछि ट्रकमा लोड गरी विभिन्न ठाउँमा ढुंगा पुर्याइन्छ,’ उनले भने, ‘यहाँको ढुंगा त आसपासका जिल्लाका लागि ब्रान्ड बनिसकेको छ ।’ यो ढुंगाखानी करिब ३ हजार बर्गमिटरमा फैलिएको छ ।
