हुम्ला — कोरोना संक्रमण बढेपछि हुम्लाका ३ स्थानीय तहका विद्यालय बन्द गरिएको छ । गाउँपालिकाको निर्णयअनुसार चंखेलीमा असार २९, ताजाकोटमा साउन १५ र अदानचुलीमा साउन २० गतेदेखि विद्यालय सञ्चालन गरिएको थियो ।
कोरोना संक्रमणको दर घटेको भन्दै ३ वटै गाउँपालिकाका ६६ विद्यालयले पठनपाठन सुरु गरेका थिए । तर जिल्लाभरि संक्रमण बढेको भन्दै पठनपाठन रोकिएको हो । शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार विद्यालय बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले बताए । ‘अधिकांश गाउँपालिकामा फेरि कोरोना बढेको देखियो,’ उनले भने, ‘संक्रमण अझै बढ्ने देखिएपछि सम्बन्धित पालिकालाई विद्यालय बन्द गर्न आग्रह गरेका हौं ।’ उनले सबै गाउँपालिकाले आइतबारदेखि विद्यालय बन्द गरेको जानकारी दिए ।
सिमकोट र नाम्खा गाउँपालिकाले भने विद्यालय खोल्ने औपचारिक निर्णय गरेका थिएनन् । कोरोना संक्रमणको जोखिम नघटेकाले विद्यालय नखोलिएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । त्रास कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्ने सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताए ।
