हानिकारक हुन सक्छ बालबालिकालाई धेरै दूध

दूध महत्वपूर्ण त हो, तर सन्तुलित मात्रा अझ महत्वपूर्ण । ‘धेरै दूध धेरै पोषण’ भन्ने सोच परिवर्तन गर्न जरुरी छ ।

श्रावण ९, २०८३

कान्तिपुर संवाददाता

Too Much Milk Can Be Harmful for Children

What you should know

काठमाडौँ — नेपाल तथा दक्षिण एसियाली समाजमा बालबालिकाको स्वास्थ्य भन्नेबित्तिकै सबैभन्दा पहिले ‘दूध’ को कुरा उठ्छ । धेरै अभिभावकमा एउटा विश्वास छ– बालबालिकाले राम्रोसँग खाना खाँदैनन् भने बढी दूध खुवाए पोषणको आवश्यकता पूरा हुन्छ ।

तर, यो सोच सधैं सही हुँदैन । वास्तवमा, आवश्यकताभन्दा बढी दूधले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पनि पार्न सक्छ ।

के दूध अनिवार्य हो ?

एक वर्षभन्दा माथिका बालबालिकाले यदि सन्तुलित र पौष्टिक आहार लिइरहेका छन् भने दिनभर दूध नपिए पनि कुनै समस्या हुँदैन । यसले धेरैलाई अचम्म लाग्न सक्छ, तर सत्य के हो भने– दूध ‘अनिवार्य’ खाद्य पदार्थ होइन, यदि बालबालिकाको समग्र आहार राम्रो छ भने ।

अत्यधिक दूध किन समस्या बन्छ ?

धेरै दूध पिउँदा बालबालिकाको पेट छिट्टै भरिन्छ । त्यसपछि उनीहरूलाई दाल, भात, रोटी, तरकारी, फलफूलजस्ता आवश्यक ठोस खाना खान मन लाग्दैन । यसको परिणामस्वरूप शरीरलाई आवश्यक पर्ने आइरन, प्रोटिन र अन्य सूक्ष्म पोषक तत्वहरूको कमी हुन सक्छ । विशेषगरी 'आइरन डिफिसिएन्सी' अहिले बालबालिकामा बढ्दो समस्या बनेको छ, जसको एक कारण अत्यधिक दूध सेवन पनि हो ।

कति मात्रा उपयुक्त हुन्छ ?

एक वर्षभन्दा माथिका बालबालिकालाई दिनमा अधिकतम ३५०–५०० मिलिलिटर (करिब २ कप) दूध पर्याप्त हुन्छ । यसभन्दा बढी दिनु आवश्यक हुँदैन ।

बालबालिकाको मुख्य पोषण स्रोत ठोस र सन्तुलित खाना हुनुपर्छ । जस्तैः दाल, भात, रोटी, हरियो सागसब्जी, फलफूल प्रोटिनयुक्त खाना (दाल, अण्डा, मासु आदि) । यस्ता खानेकुराले बालबालिकाको शारीरिक वृद्धि, रोग प्रतिरोधात्मक क्षमता र मस्तिष्क विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।

खानामा ध्यान

परिवारका लागि खाना बनाउँदा तेल, नुन र मसला कम प्रयोग गर्नु राम्रो हुन्छ । बालबालिकाका लागि मसला हाल्नु अघि छुट्टै भाग निकाल्दा उनीहरूले पनि परिवारकै खाना सजिलै खान सक्छन्, जुन स्वस्थ र सुरक्षित हुन्छ ।

अभिभावकलाई सुझाव

हरेक बालबालिका फरक हुन्छन्– उनीहरूको भोक, स्वाद र आवश्यकता पनि फरक हुन्छ । त्यसैले दूधको मात्रामा मात्र ध्यान दिनेभन्दा उनीहरूको सम्पूर्ण आहार र खानासँगको सम्बन्ध महत्वपूर्ण हुन्छ । बालबालिकालाई जबरजस्ती खुवाउनु भन्दा आफ्नै भोकअनुसार खान दिने बानी विकास गर्नु जरुरी छ । 

जबरजस्ती खाना खुवाउँदा बालबालिकामा खानाप्रति रुचि घट्छ र नकारात्मक बानी बस्न सक्छ । जब जंक फुड र अत्यधिक दूध कम गरिन्छ, उनीहरूले स्वाभाविक रूपमा ठोस र पोषिलो खाना खान सुरु गर्छन् ।

दूध महत्वपूर्ण त हो, तर सन्तुलित मात्रा अझ महत्वपूर्ण । ‘धेरै दूध धेरै पोषण’ भन्ने सोच परिवर्तन गर्न जरुरी छ । बालबालिकाको समग्र आहार, विविधता र सन्तुलन नै उनीहरूको स्वस्थ भविष्यको आधार हो ।

  • बालरोग विशेषज्ञ डा. अरुण कुमार सिंहसँगको कुराकानीमा आधारित । उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका एसोसिएट प्रोफेसर हुन् । उनको ‘बालबालिकाको डाक्टर साथी’ पुस्तक प्रकाशित छ ।

कान्तिपुर

Link copied successfully