सवारी चालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण गराउँदा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त जुनसुकै चिकित्सकले जारी गरेको स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मान्यता दिइने भएको छ ।
काठमाडौँ — लाइसेन्सका लागि स्वास्थ्य परीक्षणमा इजाजत प्राप्त सबै चिकित्सकलाई मान्यता दिन आग्रह
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि स्वास्थ्य परीक्षण गराउँदा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त जुनसुकै चिकित्सकले जारी गरेको स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था गर्न यातायात व्यवस्था विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई आग्रह गरेको छ ।
पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था विभागअन्तर्गत सवारी अनुगमन, मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमानसिं राईले यसबारे असार ३२ गते यसबारे परिपत्र गरेका छन् ।
परिपत्रमा भनिएको छ, 'सवारी चालक अनुमतिपत्र लिनका निमित्त स्वास्थ्य जाँच वर्तमान व्यवस्थाले सेवाग्राहीको अनावश्यक भिडभाड, अतिरिक्त आर्थिक भार तथा सीमित समूहको संलग्नताबाट सिन्डिकेटजस्ता समस्या सिर्जना भएकाले सेवा प्रवाहलाई थप सरल, पारदर्शी तथा सेवाग्राहीमैत्री बनाउने उद्देश्यले नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षणसम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था गर्दा पारदर्शी एवं एकरुपता कायम गर्न सकिने हुँदा सोहीअनुसार सातै प्रदेशक यातायात क्षेत्र हेर्ने मन्त्रालयहरुलाई अनुरोध गर्ने भनी माननीय मन्त्रीस्तरीय मिति २०८३ जेठ १३ को निर्णयानुसार हुन पत्राचार गरिएको व्यहोरा अनुरोध छ ।'
संघीय सरकारको सो परिपत्रबाट चालक अनुमतिपत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचलाई थप व्यवस्थित, मर्यादित हुने र सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ ।
यसैबीच यातायात व्यवस्था विभागले नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त चिकित्सकहरुको विवरण माग गरेको छ । यही साउन १ गते विभागले काउन्सिललाई पत्राचार गर्दै सो विवरण माग गरेको हो ।
