२४सैं घण्टा उपलब्ध हुँदै आएको वीर अस्पतालको टेलिमेडिसिन सेवा वैशाखयता सोमबारदेखि शुक्रबार १०-५ बजेसम्म मात्र उपलब्ध छ
काठमाडौँ — जेठको अन्तिम आइतबार संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी अबुधाबीबाट २९ वर्षीया एक महिलाले वीर अस्पतालले सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवाको हटलाइनमा पटक पटक फोन गरिन् । कैलालीकी ती महिला, जो एक वर्षदेखि अबुधाबीमा घरेलु श्रमिकको रुपमा काम गर्दै अएकी छन् । केही समयदेखि पाठेघरको मुखको संक्रमणबाट पीडित छिन् । जसका कारण योनीबाट असामान्य स्राव हुने, असह्य रुपमा पेट दुख्नेलगायत समस्याबाट पीडित छिन् ।
उनले अघिल्लो दिन शनिबार पनि फोन गर्दै चिकित्सकसँग सम्पर्क गर्ने प्रयास गरे पनि सफल नभएको गुनासो गरिन् । वीर अस्पतालका एक स्वास्थ्यकर्मीले नाम उल्लेख नगर्ने सर्तमा भने, 'सरकारले वैशाखदेखि दुईदिने बिदा लागु गरेपछि आप्रवासी श्रमिकका लागि सञ्चालन गरिएको टेलिमेडिसिन सेवा पनि सातामा २ दिन बन्द भयो । सेवा २४सैं घण्टा, सातै दिन भनिए पनि १० देखि ५ बजेसम्म मात्र त्यो पनि बिदाबाहेकका दिनमा मात्र उपलब्ध हुन्छ ।'
यूएईमा रहेकी यी महिलाको जस्तै हजारौंले यस्तो समस्या भोग्दै आएका छन् । सातामा २ दिन बिदा दिने सरकारको निर्णयका कारण टेलिमेडिसिन सेवा बन्द हुँदा उनीहरू स्वास्थ्य सेवाबाट पनि वञ्चित बन्दै आएका छन् ।
खासगरी विदेशमा भाषाको समस्या, स्वास्थ्य संस्थासम्म सहज पहुँच अभाव, स्वास्थ्य बीमा नहुनु, महंङ्गो उपचार खर्च आदिका कारण स्वास्थ्य सेवा लिन कठिनाइ भोगिरहेका नेपाली आप्रवासी श्रमिकले टेलिमेडिसिन सेवाको सहारा लिने गर्छन् । ३० लाखभन्दा बढी नेपाली युवा विदेशमा बसोबास गर्ने अनुमान छ । कतार, साउदी अरेबिया र यूएईलगायत पश्चिम एसियाली मुलुकहरू नेपाली श्रमिकका प्रमुख गन्तव्य हुन् ।
सरकारले करिब ३ वर्षअघि वैदेशिक रोजगार बोर्ड सचिवालय र वीर अस्पतालसँग मिलेर सुरु गरेको टेलिमेडिसिन सेवाबाट दैनिक ३५ भन्दा बढी आप्रवासी श्रमिकले स्वास्थ्य परामर्श लिँदै आएका छन् ।
'अन्य स्वास्थ्य सेवाजस्तैं सरकारले दुईदिने बिदा लागु गरेपछि टेलिमेडिसिन सेवा पनि शनिबार र आइतबार बन्द हुन थालेको हो,' वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, 'वैदेशिक रोजगार बोर्ड सचिवालयसँग भएको सम्झौतामा सेवा कार्यालय समयभित्र मात्रै उपलब्ध गराइने उल्लेख छ ।'
४६ भन्दा बढी देशमा रहेका नेपाली आप्रवासी श्रमिक स्वास्थ्य परामर्शका लागि वीर अस्पतालको टेलिमेडिसिन सेवा निर्भर छन् । पश्चिम एसियामा जारी द्वन्द्वका कारण उत्पन्न इन्धन संकट समाधान गर्न भन्दै सरकारले हप्तामा एक दिन (शनिबार)को सट्टा दुई दिन सरकारी कार्यालय बन्द गर्ने तथा बाँकी दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयका कारण सार्वजनिक सेवा लिन आउने हजारौं सेवाग्राही तथा सरकारी स्वास्थ्य संस्थामा उपचार खोज्ने बिरामी प्रभावित भएका छन् ।
धेरै बिरामीले राजधानी र जिल्ला सदरमुकाममा सेवा पाउन धेरै दिनसम्म कुर्नु परेको, शल्यक्रिया स्थगित भएको तथा निजी क्लिनिकमा महंगो शुल्क तिरेर उपचार गराउन बाध्य भएको गुनासो गरेका छन् ।
अस्पतालका चिकित्सकका अनुसार ती महिला सोमबार मात्र अस्पतालका चिकित्सकसँग फोन सम्पर्क गर्न सफल भइन् भने अस्पतालको फोन उठेपछि डाँको छोडेरै रोइन् ।
'तपाईहरू फोनसम्म पनि उठाइदिनु हुन्न, तल्लो पेट दुखेर मर्ने अवस्थामा पुगेकी थिएँ,' ती महिलालाई उद्धृत गर्दै एक चिकित्सकले भने, 'फोन उठाएर दुखाई कम गर्ने औषधिमात्र भए पनि सिफारिस गरिदेलानकी भन्ने आशामा दिनभरी फोन गरे।'
चिकित्सकहरूका अनुसार ती महिला रहरले नभएर परिवारको बिग्रँदो आर्थिक अवस्थाका कारण साना नानीहरू छाडेर वैदेशिक रोजगारीमा गएकी थिइन् ।
मलेसियामा सुरक्षा गार्डका रूपमा कार्यरत संखुुवासभाका भीमबहादुर सारु मगरले कार्यालय समयभित्र मात्र उपलब्ध टेलिमेडिसिन सेवाले वैदेशिक रोजगारीमा रहेकालाई खासै फाइदा नपुगेको गुनासो गरे ।
'सेक्युरेटी गार्डको काममा कहिल्यै बिदा पाइँदैन,' लामो समयदेखि निन्द्रा र भोक नलाग्ने समस्याबाट पीडित उनले स्वास्थ्यकर्मीलाई भने, 'काम सकेर फर्किँदासम्म नेपालको कार्यालय समय सकिसक्छ, टेलिमेडिसिन सेवामा फोन उठ्दैन ।'
उनले स्वास्थ्यकर्मीलाई लामो लिखित गुनासो पनि पठाएका छन् । जसमा स्वास्थ्य बीमा सुविधा नपाएको, कार्यरत कम्पनीले श्रमिकहरूको स्वास्थ्य समस्यामा चासो नदिएको तथा कम्पनीविरुद्ध गुनासो गर्नेहरूलाई कुटपिट गर्ने र देशनिकाला गराउने धम्की समेत दिने गरेको उल्लेख गरेका छन् ।
धेरै नेपाली युवा पर्यटक भिसामा विदेश गएर श्रम स्वीकृतिबिना काम गर्ने गरेको हुँदा स्वास्थ्य बीमाबाट पनि बञ्चित छन् । त्यस्ता मजदुरहरू शोषणमा पर्ने जोखिममा रहन्छ भने स्वास्थ्य सेवाको अधिकारबाट पनि वञ्चित हुने गर्छन् । कति त महंङ्गो उपचार खर्चका कारण उपचार नै गराउँदैनन् ।
वीर अस्पतालको टेलिमेडिसिन इकाइमा कार्यरत चिकित्सकहरूका अनुसार धेरै आप्रवासी श्रमिकमा अनिन्द्रा, चिन्ता, आलस्य तथा अत्याधिक मदिरा प्रयोगको समस्या छ । केहीलाई एक्लोपन र घरको सम्झनाले सताएको छ । कतिमा त आत्महत्याको सोचसमेत आएको देखिएको छ । केहीले कुनै स्पष्ट कारणबिनै अत्यधिक डर लाग्ने समस्या सुनाउँछन्, जसका लागि तत्काल चिकित्सकीय उपचार आवश्यक हुन्छ ।
चिकित्सकका अनुसार साप्ताहिक बिदा र छुट्टीको दिनमा पनि आप्रवासी श्रमिकहरूले अस्पतालको हटलाइनमा निरन्तर फोन गर्छन् तर फोन उठ्दैन ।
'आप्रवासी श्रमिकहरूको स्वास्थ्य समस्या सम्बोधन गर्ने हो भने सेवा सातै दिन, २४सैं घण्टा उपलब्ध हुनुपर्छ,' प्रवक्ता बुढाथोकीले भने , 'तर त्यसका लागि अस्पताललाई आवश्यक आर्थिक तथा जनशक्ति दिनुपर्यो ।'
यसअघि टेलिमेडिसिन सेवामा कार्यरत स्वास्थ्यकर्मीहरूले सार्वजनिक बिदाका दिन पनि श्रमिकका फोन उठाउँथे तर सरकारले त्यसबापत अतिरिक्त पारिश्रमिक नदिएपछि उनीहरूले फोन उठाउन छाडेका हुन् ।
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका अधिकारीहरूले सप्ताहन्त र सार्वजनिक बिदामा टेलिमेडिसिन सेवा बन्द भएकोबारे अनभिज्ञ रहेको बताएका छन् ।
'यो सेवा सातै दिन, २४सैं घण्टा उपलब्ध हुनुपर्छ,' मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, 'मलाई यस्तो छ भन्ने थाहf थिएन । किन यस्तो भएको हो म यसबारे सम्बन्धित अधिकारीसँग बुझ्नेछु ।'
सार्वजनिक बिदा तथा कार्यालय समयपछि टेलिमेडिसिन सेवा बन्द गरेर सरकारले सबैलाई स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धता तथा आप्रवासी श्रमिकहरूको स्वास्थ्य र कल्याणप्रति बेवास्ता गरेको जनस्वास्थ्य विज्ञहरूको भनाइ छ ।
'सरकारले लाखौं युवाको स्वास्थ्यमाथि बेवास्ता गरिरहेको छ,' जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले भने, 'यस्तो निर्णयले आप्रवासी श्रमिक, उनीहरूको परिवार तथा उनीहरूको समग्र स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ ।'
विज्ञहरूका अनुसार विदेशमा कार्यरत लाखौं नेपाली श्रमिकका स्वास्थ्य समस्यामा सामान्य लगानीबाट सम्बोधन गर्न सकिन्छ र त्यसो गर्नु हरेक सरकारको जिम्मेवारी पनि हो ।
