स्वास्थ्य मन्त्रालयले ७५३ वटै पालिकालाई पत्र लेख्दै डेंगी महामारीको जोखिम रहेको भन्दै तीन महिनासम्म जनचेतना तथा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न अनुरोध गरेको छ ।
What you should know
काठमाडौँ — डेंगी भाइरसको संक्रमणबाट यो वर्ष दुई जनाको मृत्यु भएको भएको पुष्टि भएको छ । गत जनवरीयता मात्रै १२ सयभन्दा बढी मानिस संक्रमणपछि उपचारको लागि अस्पताल पुगेका छन् ।
मृत्यु हुनेमध्ये एक जना ७८ वर्षीय र अर्का ३९ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले जनाएको छ । मृतकहरू दुवैमा अन्य स्वास्थ्य समस्या पनि रहेको अधिकारीहरूको भनाइ छ । '७८ वर्षीय बिरामी निमोनियाको उपचारका लागि अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा डेंगी भाइरस संक्रमण पनि पुष्टि भयो,' स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, 'अर्का ३९ वर्षीय बिरामीमा कालाजारको संक्रमण पनि थियो। तर चिकित्सकहरूले डेंगी संक्रमणलाई नै मृत्युको प्रमुख कारण मानेका छन् ।'
डेंगी एडिज एजिप्टाई तथा एडिज एल्बोपिक्टस जातका पोथी लामखुट्टेले सार्ने भाइरल रोग हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यी लामखुट्टेले चिकुनगुनिया, यल्लो फिभर र जिका भाइरस पनि सार्ने गर्छन् ।
गत वर्ष डेंगी संक्रमणका कारण ६ जनाको मृत्यु भएको थियो भने करिब ९ हजार संक्रमित भएका थिए । कीटविज्ञहरूका अनुसार पुष्टि भएका संक्रमितको संख्या वास्तविक संक्रमितको संख्याको सानो हिस्सा मात्र हुन सक्छ । किनभने करिब ९० प्रतिशत संक्रमितमा कुनै लक्षण देखिँदैन । नेपालमा हुने अधिकांश संक्रमण र मृत्युका घटनाको अभिलेख नै राखिँदैन ।
प्राय: संक्रमणपछि स्वास्थ्य अवस्था बिग्रिएर ठूला अस्पताल गएका र अस्पतालमै मृत्यु भएकाहरूको मात्र अभिलेख राखिन्छ ।
सन् २०२५ मा हुम्लाबाहेक सबै हिमाली जिल्लामा डेंगी संक्रमण पुष्टि भएको थियो । यो वर्ष पनि धेरै हिमाली जिल्लाहरूमा संक्रमण पुष्टि भइसकेका छन् । वर्षा सुरु भइसकेकाले डेंगीसहित लामखुट्टेबाट सर्ने अन्य रोगको जोखिम बढेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार वर्षायामलाई महामारीको मौसमको रुपमा पनि लिइन्छ । किनकि देशैभरका हजारौं मानिस सरुवा रोगका साथै किटजन्य रोगबाट संक्रमित हुने गरेका छन् ।
'हामीले सबै स्थानीय तहलाई आगामी तीन महिनासम्म आफ्नो क्षेत्रमा जनचेतना कार्यक्रम र डेंगी ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न औपचारिक पत्र पठाएका छौ,' महामारी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत भेक्टर नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले भने, 'डेंगी संक्रमण पुष्टि भएका स्थानीय तहलाई जोखिमबारे सचेत पनि गराएका छौं ।'
अधिकारीहरूका अनुसार संघीय निकायले सचेत गराउने, प्राविधिक सुझाव दिने र कार्यविधि तयार गर्न सहयोग गर्ने काम मात्र गर्न सक्छन् । रोगको रोकथामका उपाय अपनाउने मुख्य जिम्मेवारी भने प्रदेश र स्थानीय सरकारको हो । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई रोकथामका कार्यक्रम सञ्चालन गर्न बजेटसमेत उपलब्ध गराएको जनाएको छ ।
यसैबीच, काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले बुधबार आफ्ना ३२ वटै वडामा तीनदिने डेंगी ‘खोज र नष्ट गर’ अभियान सम्पन्न गरेको जनाएको छ । 'खोज र नष्ट गर अभियानका लागि हामीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीलगायत करिब १ हजार ४ सय स्वयंसेवक परिचालन गरेका थियौं, विभागका प्रमुख दीपककुमार केसीले भने, 'स्वास्थ्यकर्मीहरूले निजी घर तथा कार्यालयमा डेंगी सार्ने लामखुट्टेका लार्भा र पानी जमेको स्थान नष्ट गरेका थिए ।'
अधिकारीहरूका अनुसार यस वर्ष पनि सिंहदरबारसहित सरकारी कार्यालयहरूमा डेंगी ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिने योजना छ । गत वर्ष स्वास्थ्यकर्मीहरूले सिंहदरबारका अधिकांश कार्यालयमा फालिएका टायर, प्लास्टिकका कप, बोतल, प्रयोगविहीन सामानमा जमेको पानीमा एडिज लामखुट्टेका लार्भा फेला पारेका थिए ।
चिकित्सकका अनुसार डेंगी सार्ने लामखुट्टेले सफा जमेको पानीमा प्रजनन गर्छन् र दिउँसो टोक्ने गर्छन् । खुला पानी ट्यांकी, फालिएका प्लास्टिकका कप, बोतल र टायर लामखुट्टेका मुख्य प्रमुख प्रजननस्थल हुन् । डेंगी संक्रमण हुँदा सामान्यदेखि उच्च ज्वरो आउने, मांसपेशीमा तीव्र दुखाइ हुने, शरीरमा राता बिबिरा आउने, टाउको बेस्सरी दुख्ने तथा आँखा दुख्ने हुन्छ । धेरै संक्रमितमा हल्का लक्षण मात्र देखिन्छ, जसका लागि विशेष उपचार आवश्यक पर्दैन र घरमै प्यारासिटामोल सेवन गरेर पनि निको हुन सक्छ । तर ज्वरो कम भएन र बिरामीलाई धेरै गाह्रो भए तत्कालै अस्पताल जानुपर्ने चिकित्सहरूको सुझाव छ ।
डेंगीको कुनै विशेष औषधि नभए पनि समयमै संक्रमण पहिचान गरी उचित उपचार पाए मृत्युको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ ।
नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा एक विदेशी नागरिकमा डेंगी संक्रमण पुष्टि भएको थियो । त्यसयता डेंगी संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ र पटक–पटक ठूला प्रकोपसमेत देखिएका छन् । सन् २०२२ मा डेंगीका कारण कम्तीमा ८८ जनाको मृत्यु भएको थियो भने ५४ हजारभन्दा बढी संक्रमित भएका थिए । काठमाडौं उपत्यकाका अस्पतालहरू डेंगीका बिरामीले भरिएका थिए भने प्यारासिटामोलसमेत औषधिको अभाव भएको थियो ।
सन् २०२३ मा डेंगीबाट कम्तीमा २० जनाको मृत्यु भएको थियो भने ५२ हजारभन्दा बढी संक्रमित भएका थिए। उक्त वर्ष संक्रमण सबै ७७ जिल्लामा फैलिएको थियो ।
