राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अनुसार पछिल्ला तीन वर्षमा बिरामीको संख्या लगातार बढेको छ, प्रारम्भिक पहिचान र समयमै उपचारमा जोड दिइएको छ।
काठमाडौँ — विश्व ब्रेन ट्युमर दिवसको अवसरमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र (एनबीटीसी) ले नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दै गएको भन्दै प्रारम्भिक पहिचान र समयमै उपचारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालमा सञ्चालित केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२४ मा ब्रेन ट्युमरका २ हजार बिरामीले उपचार सेवा लिएका थिए भने सन् २०२५ मा यो संख्या बढेर ३ हजार पुगेको छ। सन् २०२६ को हालसम्म २ हजारभन्दा बढी बिरामी उपचारका लागि केन्द्रमा पुगेका छन्, जसले बिरामीको संख्या निरन्तर बढिरहेको संकेत गर्छ।
केन्द्रका अनुसार सन् २०२५ मा उपचारका लागि आएका ३ हजार बिरामीमध्ये पुरुष १ हजार ८०२ र महिला १ हजार १९८ थिए। बिरामीहरूको औसत उमेर ४२.३२ वर्ष रहेको छ। त्यसमध्ये सबैभन्दा बढी ६० देखि ७० वर्ष उमेर समूहका बिरामी रहेको तथ्यांकले देखाएको छ।
अध्ययनले उच्च-ग्रेड ग्लियोमा (एचजीजी) जस्ता जटिल ब्रेन ट्युमरको अनुपात पनि बढ्दै गएको देखाएको छ। सन् २०२४ मा ४३.९ प्रतिशत रहेको यस्तो ट्युमरको अनुपात सन् २०२५ मा ५५.१ प्रतिशत पुगेको केन्द्रले जनाएको छ।
त्यस्तै, मेनिन्जियोमा ब्रेन ट्युमरको प्रमुख प्रकारका रूपमा देखिएको छ। सन् २०२४ मा ३७.६ प्रतिशत रहेको यसको अनुपात सन् २०२५ मा ५१.९ प्रतिशत पुगेको छ। अध्ययनअनुसार ग्रेड–१ मेनिन्जियोमा ७१ प्रतिशत रहेको छ।
लिङ्गका आधारमा हेर्दा पुरुष र महिला बिरामीको अनुपात लगभग समान रहेको तथा ब्रेन ट्युमरले दुवै लिङ्गलाई समान रूपमा प्रभावित गर्ने देखिएको केन्द्रको निष्कर्ष छ। यद्यपि कर्णाली र सुदूरपश्चिम प्रदेशबाट उपचारका लागि आउने बिरामीको संख्या न्यून रहेकोले ती क्षेत्रमा सेवाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डा. रविन झा ले नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दै गएको उल्लेख गर्दै प्रारम्भिक अवस्थामै रोगको पहिचान र उपचारले धेरै बिरामीको जीवन बचाउन सकिने बताए। ‘विश्व ब्रेन ट्युमर दिवसको मुख्य सन्देश नै प्रारम्भिक पहिचान र उपचारको पहुँच विस्तार हो,’उनले भने।
यस अवसरमा न्युरो-अन्कोलोजी सेवामा योगदान पुर्याएको भन्दै डा. चन्द्रम बुढाथोकी लाई ‘च्याम्पियन अफ न्युरोअंकोलोजी केयर २०२६’सम्मान प्रदान गरिएको छ।
केन्द्रले जटिल ब्रेन ट्युमर उपचारलाई थप प्रभावकारी बनाउन हाइब्रिड अपरेटिङ रुम, रेडियोसर्जरी, इन्ट्राअपरेटिभ ट्युमर फ्लोरेसेन्स र आधुनिक न्युरो–नेभिगेसन प्रविधि विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ।
साथै, वीर अस्पतालमा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको निःशुल्क ब्रेन ट्युमर शल्यक्रिया कार्यक्रमलाई निरन्तरता दिँदै आगामी जुन महिनाको अन्त्यसम्म पनि सम्पूर्ण ब्रेन ट्युमर शल्यक्रिया निःशुल्क गरिने घोषणा गरिएको छ। केन्द्रले आर्थिक कारणले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।
