बढ्दै छन् ब्रेन ट्युमरका बिरामी

सबभन्दा बढी बिरामी ३० देखि ५० वर्ष उमेर समूहका रहेका छन् ।

जेष्ठ २५, २०८३

रासस

Brain tumor patients are increasing

What you should know

काठमाडौँ — नेपालमा पछिल्ला वर्ष ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै गएको छ । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको संख्या बढेको हो । 

नेपालभरका २० भन्दा बढी न्युरो केन्द्रबाट भएको अध्ययन आधारमा उक्त तथ्यांक सार्वजनिक गरिएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डा राजीव झाले जानकारी दिए । उनका अनुसार २०८२ सालमा ३ हजार जना ब्रेन टयुमटरमा बिरामीको शल्यक्रिया गरिएको थियो । २०८१ मा यो संख्या २ हजार ६ सय थियो । 

शल्यक्रिया गरिएका ब्रेन ट्युमरका बिरामीमध्ये पुरुष बढी रहेको तथ्यांकमा उल्लेख छ । पुरुष १ हजार ५०२ र महिला १ हजार ४९८ जना रहेका छन् । उनले सबभन्दा बढी बिरामी ३० देखि ५० वर्ष उमेर समूहका रहेका छन् । तथ्यांकअनुसार सबभन्दा बढी बागमती प्रदेशमा ३६.४ प्रतिशत बिरामीको शल्यक्रिया गरिएको छ ।

वरिष्ठ न्युरोसर्जन डा झाले नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या बर्सेनि बढिरहेको भन्दै प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताए ।

उनका अनुसार स्टेज १ र २ का ब्रेन ट्युमरको शल्यक्रियामार्फत उपचार गर्न सकिन्छ भने स्टेसन ३ र ४ का बिरामीलाई शल्यक्रियाका साथै विभिन्न थेरापीबाट उपचार गरिन्छ  । नेपालमा ग्लियोमा (एक प्रकारको ट्युमर) का बिरामी सबभन्दा बढी रहेका छन् । २०८२ मा उच्च ग्रेड ग्लियोमाको अनुपात ४३.१ प्रतिशतबाट बढेर ५५.९ प्रतिशत पुगेको छ । यस्तै मेनिन्जियोमा (एक प्रकारको ट्युमर)को बिरामी ७.४ प्रतिशतबाट २०८२ मा २७.१ प्रतिशत पुगेका छन् । 

निरन्तर टाउको दुख्नु, बिहानै उठ्न बित्तिकै वान्ता हुनु, कान नसुन्नु, छारे रोग हुनु, शरीरमा प्यारालाइसिस देखिनुजस्ता लक्षण ब्रेन ट्युमरका हुन् । वीर अस्पतालले दुई वर्षदेखि निःशुल्क ब्रेन ट्युमर शल्यक्रिया गर्दै आएकामा यो सेवा आगामी जुन महिनासम्म उपलब्ध हुने डा झाले बताए ।

‘प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण’ भन्ने नाराका साथ आज विश्व ब्रेन ट्युमर दिवस मनाइँदै छ । 

रासस

Link copied successfully