तितेपातीमा ढुसी मास्ने गुण भएको पुष्टि

तितेपातीको तेलले कोलेस्ट्रोल पनि घटाएको पाइएको छ । मुसामा काम गरेकाले मानिसलाई पनि उपयोगी हुने अनुसन्धानकर्ताहरूको अनुमान ।

जेष्ठ २१, २०८३

रमेशकुमार पौडेल

Titepati has been confirmed to have antifungal properties

What you should know

चितवन — घरवरिपरि सजिलै उपलब्ध हुने तितेपाती धार्मिक कार्यमा मात्र प्रयोग हुँदैन, घाउघटिरा निको पार्न तितेपातीको लेप लगाउने पुरानै चलन हो । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)को अनुसन्धानबाट तितेपातीको तेल बालीबिरुवा सताउने ढुसी नष्ट गर्न उपयोगी हुने प्रमाणित भएको छ । मुसामा गरिएको परीक्षणबाट तितेपातीको तेलले कोलेस्ट्रोल घटाएको पाइएको छ । 

एएफयूअन्तर्गत कृषि, वनस्पति तथा पर्यावरण संरक्षण विभागका उपप्रध्यापक सरोज सापकोटाले विद्यावारिधी (पीएचडी)का लागि तितेपातीमा हुने उपयोगी तत्त्वहरूका बारेमा अनुसन्धान गरेका थिए । यसमै शोध गरेर उनको विद्यावारिधी पूरा भएको छ । ‘बालीबिरुवादेखि जनावरमा हुने समस्याको निराकरण तितेपातीको तेलबाट भएको छ,’ उनले भने, ‘मान्छेमा परीक्षण भएको छैन । मुसामा काम गरेकाले मानिसलाई पनि उपयोगी हुने अनुमान छ ।’ 

मान्छेमा काम गर्ने या नगर्ने भन्ने बारेमा प्रक्रिया पूरा गरेर थप अनुसन्धान गर्न आवश्यक रहेको उनले बताए । कोलेस्ट्रोल बढेमा मुटुमा समस्या आउँछ । तितेपातीको तेलमा ८६ वटा तत्त्व भेटिए । जसमध्ये एमोरफिन नामक तत्त्वले ढुसीलाई नियन्त्रण गर्दछ । त्यसै गरी टर्पेनोइड्स भन्ने तत्त्व अत्यधिक पाइएको र यसले मुसामा परीक्षण गर्दा कोलेस्ट्रोल रोक्न मद्दत गरेको सापकोटाले जानकारी दिए ।Titepati has been confirmed to have antifungal properties

‘मेरो अनुसन्धानको उद्देश्य कुन भूगोलमा उत्पादन भएको तितेपातीमा रासायनिक तत्त्वहरूको अवस्था कस्तो छ भन्ने पत्ता लगाउनु थियो,’ उनले भने, ‘ती तत्त्वले के काम गर्न सक्छन् भन्ने परीक्षण गरेर हेर्नु पनि थियो ।’ यसका लागि चितवनको शक्तिखोरदेखि सिराइचुलीसम्म उम्रिएका तितेपाती संकलन गरेको उनले बताए ।

समुन्द्र सतहबाट दुई सयदेखि दुई हजार मिटर उचाइका सात ठाउँबाट तितेपाती संकलन गरेको उनले बताए । तीमध्ये १ हजार ७ सय मिटर उचाइदेखि १ हजार ८ सय मिटर उचाइका तितेपातीमा औषधिका लागि राम्रो तत्त्व प्राप्त भएको अनुसन्धानले पुष्टि गरेको छ । भोलि तितेपातीको तेलको व्यावसायिक उत्पादन गर्ने हो भने यो भूगोलमा तितेपाती लगाउन उपयुक्त हुने सापकोटाले बताए ।

‘यो उचाइको डाँडापाखामा प्रशस्त मात्रामा तितेपाती लगाएर राम्रो आम्दानी लिन सक्ने अवसर छ,’ उनले भने । एक लिटर तेल निकाल्न एक क्विन्टल तितेपाती खपत हुन्छ । फूल फुल्न लागेको पातीबाट राम्रो तेल निस्कने उनले बताए । तेल उत्पादन गर्ने मेसिन २० हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म पर्ने उनले बताए । गाउँमा समूह बनाएर ठूला मेसिन राख्न सकिने उनको भनाइ छ ।

एक लिटर तेलको १० हजार रुपैयाँसम्ममा बिक्री गर्न सकिने आफ्नो अध्ययनले देखाएको उनले बताए । बालीबिरुवामा लाग्ने ढुसीले कृषि क्षेत्रमा ठूलो नोक्सान गरिरहेको छ । यसको विरुद्ध विभिन्न रासायनिक विषादी राख्दा मानव स्वास्थ्य र वातावरणमा नकारात्मक असर परेको सापकोटाले बताए । ‘तितेपातीको तेलमा पाइने तत्त्वबाट बन्ने जैविक विषादीले नकारात्मक असर पुर्‍याउँदैन,’ उनी भन्छन् ।

मुसामा असर देखाएको हुँदा मानवमा पनि प्रयोग गर्नका लागि अनुसन्धान सुरु गर्न आफू अग्रसर भएको उनले बताए । ‘मेडिकल इथिकल बोर्डले स्वीकृति दिएपछि मानवमा पनि परीक्षण सुरु गर्न सकिन्छ । मुसामा प्रभाव देखाएको छ । यसका आधारमा अनुसन्धान गरेर मानवमा पनि प्रयोग गर्न सकिने भएमा कोलेस्ट्रोल नियन्त्रण गरेर मुटु बचाउनका लागि महत्वपूर्ण कदम हुने थियो,’ सापकोटाले भने ।

सापकोटाको विद्यावारिधि सल्लाहकार समितिका अध्यक्ष प्राध्यापक ईश्वरीप्रसाद कडरियाले परम्परागत रूपमा धार्मिकदेखि घाउखटिराको उपचारका लागि तितेपातीको उपयोग हुने गरे पनि वैज्ञानिक तवरमा अध्ययन अनुसन्धान नभएको बताए । सापकोटाको पीएचडी शोधले यो अभाव पूरा गरेको उनले बताए ।

‘अध्ययनले कुन उचाइको तितेपातीमा राम्रो औषधिय गुण हुन्छ भन्ने पनि पत्ता लगायो । अध्ययन अनुसन्धानबाट आएको नतिजालाई प्रभावकारी रूपमा कार्यन्वन गर्न राज्यले ध्यान दिनु पर्दछ । तितेपातीको तेलले जे काम गर्न सक्छ भन्ने पत्ता लाग्यो, त्यसबाट राज्य लाभान्वित हुन्छ,’ प्राध्यापक कडरियाले भने ।

नेपालको वन क्षेत्र र खुला ठाउँमा काम नलाग्ने बुट्यानहरू बढ्न थालेका छन् । त्यस्ता ठाउँमा यस्ता तितेपातीजस्ता बोटबिरुवा फैलाउन आवश्यक भएको उनले बताए । एएफयूको जैविक प्रविधि केन्द्रका निर्देशक हिमाल लुईंटेलले अध्ययनबाट पत्ता लागेपछि ठूलो मात्रामा उत्पादन गर्न उद्योगीहरू अग्रसर हुनुपर्ने बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully