तितेपातीको तेलले कोलेस्ट्रोल पनि घटाएको पाइएको छ । मुसामा काम गरेकाले मानिसलाई पनि उपयोगी हुने अनुसन्धानकर्ताहरूको अनुमान ।
What you should know
चितवन — घरवरिपरि सजिलै उपलब्ध हुने तितेपाती धार्मिक कार्यमा मात्र प्रयोग हुँदैन, घाउघटिरा निको पार्न तितेपातीको लेप लगाउने पुरानै चलन हो । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)को अनुसन्धानबाट तितेपातीको तेल बालीबिरुवा सताउने ढुसी नष्ट गर्न उपयोगी हुने प्रमाणित भएको छ । मुसामा गरिएको परीक्षणबाट तितेपातीको तेलले कोलेस्ट्रोल घटाएको पाइएको छ ।
एएफयूअन्तर्गत कृषि, वनस्पति तथा पर्यावरण संरक्षण विभागका उपप्रध्यापक सरोज सापकोटाले विद्यावारिधी (पीएचडी)का लागि तितेपातीमा हुने उपयोगी तत्त्वहरूका बारेमा अनुसन्धान गरेका थिए । यसमै शोध गरेर उनको विद्यावारिधी पूरा भएको छ । ‘बालीबिरुवादेखि जनावरमा हुने समस्याको निराकरण तितेपातीको तेलबाट भएको छ,’ उनले भने, ‘मान्छेमा परीक्षण भएको छैन । मुसामा काम गरेकाले मानिसलाई पनि उपयोगी हुने अनुमान छ ।’
मान्छेमा काम गर्ने या नगर्ने भन्ने बारेमा प्रक्रिया पूरा गरेर थप अनुसन्धान गर्न आवश्यक रहेको उनले बताए । कोलेस्ट्रोल बढेमा मुटुमा समस्या आउँछ । तितेपातीको तेलमा ८६ वटा तत्त्व भेटिए । जसमध्ये एमोरफिन नामक तत्त्वले ढुसीलाई नियन्त्रण गर्दछ । त्यसै गरी टर्पेनोइड्स भन्ने तत्त्व अत्यधिक पाइएको र यसले मुसामा परीक्षण गर्दा कोलेस्ट्रोल रोक्न मद्दत गरेको सापकोटाले जानकारी दिए ।
‘मेरो अनुसन्धानको उद्देश्य कुन भूगोलमा उत्पादन भएको तितेपातीमा रासायनिक तत्त्वहरूको अवस्था कस्तो छ भन्ने पत्ता लगाउनु थियो,’ उनले भने, ‘ती तत्त्वले के काम गर्न सक्छन् भन्ने परीक्षण गरेर हेर्नु पनि थियो ।’ यसका लागि चितवनको शक्तिखोरदेखि सिराइचुलीसम्म उम्रिएका तितेपाती संकलन गरेको उनले बताए ।
समुन्द्र सतहबाट दुई सयदेखि दुई हजार मिटर उचाइका सात ठाउँबाट तितेपाती संकलन गरेको उनले बताए । तीमध्ये १ हजार ७ सय मिटर उचाइदेखि १ हजार ८ सय मिटर उचाइका तितेपातीमा औषधिका लागि राम्रो तत्त्व प्राप्त भएको अनुसन्धानले पुष्टि गरेको छ । भोलि तितेपातीको तेलको व्यावसायिक उत्पादन गर्ने हो भने यो भूगोलमा तितेपाती लगाउन उपयुक्त हुने सापकोटाले बताए ।
‘यो उचाइको डाँडापाखामा प्रशस्त मात्रामा तितेपाती लगाएर राम्रो आम्दानी लिन सक्ने अवसर छ,’ उनले भने । एक लिटर तेल निकाल्न एक क्विन्टल तितेपाती खपत हुन्छ । फूल फुल्न लागेको पातीबाट राम्रो तेल निस्कने उनले बताए । तेल उत्पादन गर्ने मेसिन २० हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म पर्ने उनले बताए । गाउँमा समूह बनाएर ठूला मेसिन राख्न सकिने उनको भनाइ छ ।
एक लिटर तेलको १० हजार रुपैयाँसम्ममा बिक्री गर्न सकिने आफ्नो अध्ययनले देखाएको उनले बताए । बालीबिरुवामा लाग्ने ढुसीले कृषि क्षेत्रमा ठूलो नोक्सान गरिरहेको छ । यसको विरुद्ध विभिन्न रासायनिक विषादी राख्दा मानव स्वास्थ्य र वातावरणमा नकारात्मक असर परेको सापकोटाले बताए । ‘तितेपातीको तेलमा पाइने तत्त्वबाट बन्ने जैविक विषादीले नकारात्मक असर पुर्याउँदैन,’ उनी भन्छन् ।
मुसामा असर देखाएको हुँदा मानवमा पनि प्रयोग गर्नका लागि अनुसन्धान सुरु गर्न आफू अग्रसर भएको उनले बताए । ‘मेडिकल इथिकल बोर्डले स्वीकृति दिएपछि मानवमा पनि परीक्षण सुरु गर्न सकिन्छ । मुसामा प्रभाव देखाएको छ । यसका आधारमा अनुसन्धान गरेर मानवमा पनि प्रयोग गर्न सकिने भएमा कोलेस्ट्रोल नियन्त्रण गरेर मुटु बचाउनका लागि महत्वपूर्ण कदम हुने थियो,’ सापकोटाले भने ।
सापकोटाको विद्यावारिधि सल्लाहकार समितिका अध्यक्ष प्राध्यापक ईश्वरीप्रसाद कडरियाले परम्परागत रूपमा धार्मिकदेखि घाउखटिराको उपचारका लागि तितेपातीको उपयोग हुने गरे पनि वैज्ञानिक तवरमा अध्ययन अनुसन्धान नभएको बताए । सापकोटाको पीएचडी शोधले यो अभाव पूरा गरेको उनले बताए ।
‘अध्ययनले कुन उचाइको तितेपातीमा राम्रो औषधिय गुण हुन्छ भन्ने पनि पत्ता लगायो । अध्ययन अनुसन्धानबाट आएको नतिजालाई प्रभावकारी रूपमा कार्यन्वन गर्न राज्यले ध्यान दिनु पर्दछ । तितेपातीको तेलले जे काम गर्न सक्छ भन्ने पत्ता लाग्यो, त्यसबाट राज्य लाभान्वित हुन्छ,’ प्राध्यापक कडरियाले भने ।
नेपालको वन क्षेत्र र खुला ठाउँमा काम नलाग्ने बुट्यानहरू बढ्न थालेका छन् । त्यस्ता ठाउँमा यस्ता तितेपातीजस्ता बोटबिरुवा फैलाउन आवश्यक भएको उनले बताए । एएफयूको जैविक प्रविधि केन्द्रका निर्देशक हिमाल लुईंटेलले अध्ययनबाट पत्ता लागेपछि ठूलो मात्रामा उत्पादन गर्न उद्योगीहरू अग्रसर हुनुपर्ने बताए ।
