कंगोमा शंकास्पद इबोला संक्रमितको संख्या १ हजारभन्दा धेरै पुगिसकेको छ । त्यस्तै २ सय ४६ जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।
बुनिया, कंगो — अन्तर्राष्ट्रिय परोपकारी स्वास्थ्य संस्था मेडिसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोमा तिव्र रुपमा फैलिरहेको इबोलाको संक्रमणले गहिरो चिन्ता उत्पन्न गरेको जनाएको छ । एमएसएफका सहायक निर्देशक डा. एलन गोन्जालेजले यति छोटो समयमै यति धेरै संक्रमणका घटना पहिले कहिल्यै नदेखिएको बताए ।
यसअघि शनिबारमात्रै विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अदानोम घिग्रियेससले इबोला प्रभावित कंगोको इटुरी प्रान्त भ्रमण गरेका थिए । कंगोमा शंकास्पद इबोला संक्रमितको संख्या १ हजारभन्दा धेरै पुगिसकेको छ । त्यस्तै २ सय ४६ जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।
छिमेकी देश युगान्डामा ९ जनामा संक्रमण देखिएको छ भने एकजनाको मृत्यु भएको छ । गोन्जालेजले इबोला प्रभावित क्षेत्रमा गएको आफ्नो टोलीले यो भाइरस निकै तिव्र गतिमा फैलिरहेको प्रत्यक्ष देखेको बताए ।
‘आज यस महामारीको वास्तविक आकार र गाम्भीर्यताबारे कसैलाई पनि थाहा छैन । दैनिक नयाँ शंकास्पद घटनाहरु रिपोर्ट भइरहेका छन् । सयौं नमुनाहरुको परीक्षण अझै गर्न पाइएको छैन,’ उनले भने ।
सीमा र विमानस्थल बन्द हुँदा मानवीय सहयोग पुग्न कठिन भइरहेको उनले बताए । कंगोमा जारी गृहयुद्धका कारण पनि इबोलाको महामारी नियन्त्रण गर्न कठिन भइरहेको चेतावनी डब्ल्युएचओले दिदैं आएको छ ।
मे १५ मा ८ वटा नमुनाहरु बुन्डिबुग्यो इबोला भाइरसयुक्त रहेको पुष्टि भएसँगै कंगोको स्वास्थ्य मन्त्रालयले देशमा इबोला फैलिएको पुष्टि गरेको थियो ।
त्यसको दुई दिनपछि विश्व स्वास्थ्य संगठनले बुन्डिबुग्यो इबोला भाइरसलाई अन्तर्राष्ट्रिय महत्वको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । कंगोमा सरकारी रेकर्ड अनुसार इबोला भाइरस फैलिएको यो १७ औं पटक हो ।
‘इटुरीमा इबोला फैलिएको घोषणा भएको दुई साताभित्रै अवस्था निकै चेतावनीपूर्ण बनेको छ,’ गोन्जालेजले शनिबार विज्ञप्ति जारी गर्दै भने, 'इबोला फैलिएको घोषणा भएको दुई साताभित्रै यति धेरै घटनाहरु यसअघि पहिले कहिल्यै देखिएका थिएनन् ।’
इबोलाका बिरामीहरुलाई अस्पतालमा आइशोसेलनमा राख्ने गरिन्छ । अहिले फैलिरहेको बुन्डिबुग्यो प्रजातिको इबोलाकोे संक्रमण रोकथामका लागि कुनै पनि प्रमाणित खोप उपलब्ध छैन । त्यहीकारण लक्षण हेरेर बिरामीको उपचार गर्ने गरिन्छ ।
शनिबार इटुरीको प्रान्तिय राजधानी बुनियामा डब्ल्युएचओका महानिर्देशक टेड्रोसले भने, ‘हामी यहाँका समस्या बुझ्न आएका हौं ।’ उनले स्थानीय समुदायलाई रोगसँग लड्नका लागि आफ्नो सक्रियता बढाउन आग्रह गरे । ‘यहाँका स्थानीय समुदायले समस्या र त्यसको समाधानलाई धेरै बुझेका हुन्छन्,’ उनले भने ।
उनले मृतकहरुको अन्त्येष्टीमा सहभागी हुनु मानिसका लागि ठूलो सम्मानको विषय भएपनि अहिलेको अवस्थामा सतर्कता अपनाउनु सबैभन्दा उत्तम विकल्प रहेको बताए । ‘केही निश्चित अभ्यासहरु, जसमा इबोलाबाट मृत्यु भएका मानिसहरुको शरीर छुँदा भाइरस फैलनसक्छ । हामी मृतकहरुको शोकमा हुन्छौं । तर, अर्को व्यक्ति नगुमोस् भनेर हामी आवश्यक सबै सुरक्षा उपाय अपनाउन जरुरी छ,’ उनले भने ।
संक्रमित व्यक्तिको शरीरका तरल पदार्थ (रगत, वान्ता, खकार, र्याल, पसिना, दिशा–पिसाबलगायत) सम्पर्कमा आएमा इबोला फैलनसक्छ । विशेषगरी मानिसको घाउ–चोट वा छिद्रहरुमार्फत त्यस्ता तरल पदार्थ शरीरमा प्रवेश गर्नसक्छ । त्यस्ता तरल पदार्थ भएका सतह वा सामाग्री (सुई, बेड वा कपडा) को सम्पर्कमा आउँदा समेत घाउ–चोट वा छिद्रमार्फत शरीरमा इबोला सर्नसक्छ ।
अहिले फैलिरहेको बुन्डिबिग्यो भाइरस रोकथामका लागि बेलायतको अक्सफोर्ड विश्वविद्यालयले खोप विकास गर्दैछ । तर यसलाई क्लिनिकल परीक्षणका लागि पठाउन झन्डै दुईदेखि तीन महिना लाग्ने बीबीसीमा उल्लेख छ । यो खोप प्रभावकारी हुनेछ भन्ने कुनै ग्यारेन्टी पनि अहिले छैन । यसलाई पहिले जनावर र त्यसपछि मानिसमा परीक्षण गरिनेछ ।
पूर्वी कंगोमा वर्षौंदेखि दर्जनौं विद्रोही र लडाकु समूहहरू अस्तित्वमा छन् । यसमध्ये केही समुहहरुको सम्बन्ध विदेशीसँग पनि छ । इबोला प्रकोपको इपिसेन्टर उत्तरपूर्वी इटुरी प्रान्तमा कंगो सरकारको नियन्त्रण कायमै रहेपनि उपस्थिति कमजोर छ ।
जसकारण विद्रोहीहरुले पटक–पटक आक्रमण गर्दै आएका छन् । इस्लामिक स्टेटसँग आबद्ध युगान्डाको विद्रोही समूह ’एलाइड डेमोक्रेटिक फोर्सेस’ त्यहाँको प्रमुख विद्रोही समूहहरूमध्ये एक हो । यसले सार्वजनिक पूर्वाधार र सर्वसाधारणलाई निशाना बनाइरहेको छ । सशस्त्र विद्रोही समूहको हिंसा, ठूलो संख्यामा मानिसहरूको विस्थापन, स्थानीय सरकारको असफलता र अन्तर्राष्ट्रिय सहयोग कटौतीले गर्दा स्वास्थ्य सेवा दयनीय बनेको विज्ञहरूले बताएका छन् । ‘फिजिसियन्स फर ह्युमन राइट्स’ नामक संस्थाले अहिलेको परिस्थितिलाई ‘विनाशकारी संकटहरूको शृंखला’ भन्दै चिन्ता व्यक्त गरेको छ ।
इबोला फैलनुअघि डाक्टरर्स विदाउट बोर्डर्स (एम.एस.एफ.) ले सार्वजनिक गरेको प्रतिवेदनमा इटुरीमा सुरक्षा अवस्था कमजोर रहेको उल्लेख थियो । सुरक्षाका कारण यहाँबाट असुरक्षा चिकित्सक र नर्सहरू भाग्न बाध्य भएको उक्त प्रतिवेदनमा उल्लेख थियो । स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढ्दा केही क्षेत्रमा “विपद्पूर्ण अवस्था“ सिर्जना भएको पनि प्रतिवेदनमा उल्लेख थियो । इबोलाको प्रकोपले यहाँ थप भयावह अवस्था निम्तिएको छ ।
