मोबाइल-लतले बिगार्दै छ किशोरकिशोरीको निद्रा

राति अबेरसम्म फोन चलाउँदा पर्याप्त निद्रा नपाई चिन्ता, थकान र व्यवहारमा नकारात्मक असर देखिएको नयाँ अनुसन्धानले देखाएको छ ।

जेष्ठ १६, २०८३

एजेन्सी

Mobile phone addiction is ruining teenagers' sleep

वासिङटन — किशोरावस्थामा पर्याप्त निद्राको खाँचो हुन्छ । तर, मोबाइल फोनमा झुण्डिरहने बानीले किशोर–किशोरीहरूमा ढिलो सुत्ने बानी विकास गरिरहेको छ । 

नयाँ अध्यननअनुसार संयुक्त राज्य अमेरिकाका आधाभन्दा बढी किशोर–किशोरीहरू  राति १० बजेदेखि बिहान ६ बजेको अवधिमा एक घण्टा वा सोभन्दा बढी समय आफ्नो फोनमा बिताउँछन् । जबकि, अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिनले किशोर–किशोरीहरूलाई हरेक रात ८ देखि १० घण्टा सुत्न सिफारिस गरेका छन् ।

युनिभर्सिटी अफ क्यालिफोर्निया, सान फ्रान्सिस्कोका बालरोग विज्ञानका सह–प्राध्यापक र अध्ययनका प्रमुख लेखक जेसन एम. नागाटाले अध्ययनमा सहभागी आधाभन्दा बढी किशोर–किशोरीहरूले मध्यरातमा (१२ बजेदेखि ४ बजे) अवधिमा फोनको प्रयोग गरिरहेको पाइएको बताए । 

नागाटा र उनका सहयोगीहरूले ‘किशोर मस्तिष्क संज्ञानात्मक विकास अध्ययन’ बाट संकलित तथ्याङ्कहरूको विश्लेषण गरेका थिए । यो अनुसन्धानले राति फोन प्रयोग गर्नुलाई किशोर–किशोरीहरूको निद्रा बिग्रनुसँग प्रत्यक्ष रुपमा जोडेको छैन । तर अघिल्ला अनुसन्धानहरूले निद्रामा हुने अवरोधले नकारात्मक प्रभाव पार्ने देखाएका छन् । 

ब्राउन युनिभर्सिटीका मनोरोग र मानव व्यवहारका प्राध्यापक डा. मेरी ए. कार्सकाडन भन्छिन्,‘सुत्ने अवसर कम भएपछि किशोर–किशोरीहरूमा पर्याप्त निद्रा लाग्नु चुनौतीपूर्ण हुन सक्छ, र यसको प्रभाव उनीहरूको बिहानको व्यवहारमा पर्छ, जुन हामीलाई धेरै वर्षदेखि थाहा छ ।’

पर्याप्त निद्रा नपाउँदा मानिसहरूलाई विभिन्न तरिकाले असर गर्न सक्छ । किशोरावस्थामा मस्तिष्क र शरीरको विकास भइरहेको हुन्छ । त्यहीकारण निद्राको कमीले विकासमा समस्या निम्त्याउँछ ।

शरीरले पर्याप्त आराम नपाउँदा स्मरण कार्यमा बाधा पुग्छ । दिनभरि सिकेका जानकारीहरूलाई संकलन गर्न र सम्झनामा राख्न गाह्रो हुन्छ ।

कार्सकाडन भन्छिन्, ‘किशोर–किशोरीहरूको जीवनको एउटा कार्य सिक्नु हो। चाहे त्यो विद्यालयको पढाइ होस्, खेलकुद सिक्नु होस्, वा अन्य मानिसहरूसँग कसरी व्यवहार गर्ने भन्ने कुरा होस्, किशोर अवस्थामा सिक्नुपर्ने कुरा धेरै हुन्छन् ।’ 

खराब निद्राले भावनामाथि नियन्त्रण गर्ने बानीलाई बिगार्छ । सन् २०१३ मा १४ देखि १७ वर्षका स्वस्थ किशोर–किशोरीहरूको समूहमा निद्राको प्रयोग गरिएको थियो । पहिलो हप्ता उनीहरुलाई सामान्य रुपमा  सुत्न भनिएको थियो । अर्को हप्ता साढें ६ घण्टामात्रै सुत्न दिइएको थियो । अन्तिम हप्ता १० घण्टा सुत्न दिइयो । 

सहभागीहरूले कम निदाउँदा बढी चिन्तित, रिसाहा, भ्रमित र थकित महसुस गरेको बताएका थिए । किशोर–किशोरीहरू र उनीहरूका अभिभावकहरूले यस अवधिमा उनीहरुमा बढी छट्पटी र भावनात्मक नियन्त्रण कमजोर रहेको बताए । 

कार्सकाडनले भनिन्, ‘किशोर–किशोरीले जति कम सुत्छन्, उनीहरू त्यति नै बढी छट्पटीमा हुन्छन् । अभिभावकहरूले तपाईंलाई बताउनेछन् कि यो एक सामान्य निष्कर्ष हो ।’

बढी संवेदनशील हुने युवाहरूका हकमा, कम निद्राले मानसिक स्वास्थ्यको जोखिम निम्त्याउन सक्छ । नागाटाका अनुसार  अनुसन्धानहरूले निद्राको कमी भएका बालबालिकाहरूमा डिप्रेसन र चिन्ताका लक्षणहरूको उच्च जोखिम हुने देखाएको छ ।

कार्सकाडनका अनुसार, निद्राको अभावले किशोर–किशोरीहरूलाई आत्महत्याको सोच, आत्म–हानि र जोखिमपूर्ण व्यवहारतर्फ धकेल्ने जोखिम पनि हुन्छ । 

किशोर–किशोरीहरु प्रायः सामाजिक सञ्जालमा झुम्मिने गरेका छन् । यस कार्यलाई रोक्न ती सञ्जालहरुले पर्याप्त कदम चालेको देखिदैंन । सीएनएनले यस विषयमा युट्युबसँग प्रतिक्रिया मागेको छ । युट्युबले जवाफमा प्यारेन्टल कन्ट्रोल (अभिभावकीय नियन्त्रण) सम्बन्धी जानकारी भएको आफ्नो लिंक उपलब्ध गराएको छ । 

टिकटक र इन्स्टाग्रामले तोकिएको समयसम्म कुनै प्रतिक्रिया नदिएको सीएनएनमा उल्लेख छ । 

कार्सकाडनले भनिन्, ‘ सुत्नु पर्ने समयमा मानिसको उत्तेजनाको स्तर घट्नु आवश्यक छ । तर यी एपहरूसँगको अन्तरक्रियाले तपाईंको उत्तेजना बढाउँछ र सुत्न गाह्रो बनाउँछ ।’

विशेषज्ञहरूका अनुसार अबेर रातिसम्म फोन स्क्रोल गर्नाले सुत्ने समय ढिलो हुन सक्छ ।  सूचनाहरूको बाढी, आवाज र मोबाइलको प्रकाशले रातभर निद्रामा अवरोध पुर्‍याउन सक्छ । त्यस्तै, बिहान उठ्ने बित्तिकै फोन उठाउने वा चेक गर्ने बानीको एउटा चक्र सिर्जना गर्छ । 

नागाटाले २०२३ मा ‘एडोलेसेन्ट ब्रेन कग्निटिभ डेभलपमेन्ट स्टडी’ (किशोर मस्तिष्क संज्ञानात्मक विकास अध्ययन) को तथ्याङ्क प्रयोग गरेर एक छुट्टै विश्लेषणको नेतृत्व गरेका थिए । अध्ययनका क्रममा १७% किशोर–किशोरीहरूले सुत्ने बेलामा कम्तिमा रातको एक पटक फोन कल, टेक्स्ट म्यासेज वा इमेलका कारण ब्युँझिएको बताए ।

यसबाहेक, २०% किशोर–किशोरीहरूले राति ब्युँझिँदा आफ्नो फोन प्रयोग गर्ने गरेको बताए ।

नागाटाले भने, ‘अचानक तपाईंले ती सन्देशहरू देख्नुहुन्छ र त्यसले तपाईंलाई पुनः सक्रिय बनाउन सक्छ, जसले गर्दा फेरि निदाउन गाह्रो हुन्छ ।’

पारिवारिक योजना बनाउने

राति फोन प्रयोग गर्ने समस्या किशोर–किशोरीहरूले एक्लै समाधान गर्नुपर्ने विषय होइन । नागाटा र कार्सकाडनका अनुसार, स्वस्थ बानी बसाल्ने काम अभिभावकबाट सुरु हुनुपर्छ ।

अभिभावकहरूले आफ्ना किशोर–किशोरीहरूमा जुन व्यवहार देख्न चाहन्छन्, त्यसका लागि आफैँ रोल मोडेल (उदाहरण) बन्नुपर्छ । यो एउटा पारिवारिक मुद्दा भएकोले, सदस्यमा निरन्तर रूपमा लागू गरिएन भने व्यवहारलाई न्युनीकरण वा नियन्त्रण गर्न गाह्रो हुन सक्छ ।

नागाटाले भने, ‘अभिभावकहरूले स्वस्थ स्क्रिन व्यवहारको उदाहरण प्रस्तुत गर्नु महत्वपूर्ण छ । अध्ययनका क्रममा हामीले देखेअनुसार किशोर–किशोरीहरूको स्क्रिन प्रयोगको प्रमुख कारक वास्तवमा उनीहरूका अभिभावकको स्क्रिन प्रयोग नै हो ।’

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले ‘पारिवारिक मिडिया योजना’ बनाउन सिफारिस गरेको छ । यसले घरपरिवारलाई स्वस्थ स्क्रिन बानी बसाल्न मार्गदर्शन गर्छ ।

‘स्क्रिन–रहित क्षेत्र’ र समय निर्धारण गर्न सिफारिस गरिएको छ । उपकरणहरू कति समयसम्म प्रयोग गर्न सकिन्छ भन्नेबारे निर्देशिका सेट गर्न र सीमाहरू निर्धारण गर्न अभिभावकहरुलाई आग्रह गरिएको छ । 

सुत्ने कोठाबाट फोन र अन्य उपकरणहरू बाहिर राख्न पनि सिफारिस गरिएको छ । कार्सकाडनले भनिन्, ‘यो केवल किशोर–किशोरीहरूको मात्र समस्या होइन । एउटा पारिवारिक समस्या हो ।’

एजेन्सी

Link copied successfully