सार्वजनिक लेखा समिति बैठकमा सचिव देवकोटाले ठूला अस्पतालहरूमा केन्द्रित बेरुजुमा विशेष विश्लेषण गरेर फर्स्यौट प्रक्रिया अघि बढाउने योजना रहेको बताए ।
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विकास देवकोटाले बेरुजु व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अब ठूला अस्पताल केन्द्रित गराउन लागिएको बताए ।
सार्वजनिक लेखा समिति बैठकमा सचिव देवकोटाले ठूला अस्पतालहरूमा केन्द्रित बेरुजुमा विशेष विश्लेषण गरेर फर्स्यौट प्रक्रिया अघि बढाउने योजना रहेको बताए । उनका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा मात्र करिब ५ अर्ब रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ, जुन कुल बेरुजुको करिब एक चौथाई बराबर हो । सचिव देवकोटाले यस्ता ठूला अस्पतालहरूमा रहेको बेरुजुको प्रकृति विश्लेषण गरेर लक्षित रूपमा फर्स्यौट गर्ने कार्ययोजना बनाइएको जानकारी दिए ।
उनका अनुसार आगामी आर्थिक वर्षमा बेरुजु फर्स्यौटका लागि विशेष कार्यक्रमहरू समेत समावेश गरिएको छ, जसले सम्बन्धित निकायलाई जिम्मेवार बनाउँदै फस्र्यौट प्रक्रियालाई तीव्रता दिनेछ । सचिव देवकोटाले वार्षिक खरिद प्रक्रियासँग सम्बन्धित बेरुजु धेरै देखिएको उल्लेख गर्दै केन्द्रबाट दररेट निर्धारण गर्ने प्रणाली लागू गर्न सके बेरुजु घटाउन सहयोग पुग्ने बताए ।
हाल खरिद प्रक्रियासँग सम्बन्धित बेरुजु ठूलो मात्रामा रहेको भन्दै केन्द्र, प्रदेश र स्थानीय तहमा एकीकृत दररेट प्रणाली लागू गर्नसके धेरै समस्या समाधान हुने सचिव देवकोटाको भनाइ छ ।
