अस्ट्रेलियामा नेपाली समुदाय र मानसिक स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै भरत नेपाललाई २०२६ को ‘अस्ट्रेलिया डे’ मा ‘ओएएम’ सम्मान दिइएको हो।
काठमाडौँ — मानसिक स्वास्थ्य अभियन्ता भरत नेपाललाई अस्ट्रेलियाको प्रतिष्ठित ‘मेडल अफ द अर्डर अफ अस्ट्रेलिया (ओएएम)’ प्रदान गरिएको छ । अस्ट्रेलियाका गभर्नर-जनरलले सन् २०२६ को ‘अस्ट्रेलिया डे अनर लिस्ट’ घोषणा गर्दै समुदाय, सेवा र सार्वजनिक जीवनमा उत्कृष्ट योगदान पुर्याएका नेपालसहित ९४९ जनालाई सम्मानित गरेका हुन् ।
अस्ट्रेलियाको न्यू साउथ वेल्सस्थित लालोर पार्क निवासी नेपाललाई नेपाली समुदाय तथा मानसिक स्वास्थ्य क्षेत्रमा पुर्याएको उल्लेखनीय सेवाका लागि ‘मेडल अफ द अर्डर अफ अस्ट्रेलिया (ओएएम)’ जनरल डिभिजनअन्तर्गत सम्मान गरिएको हो ।
उनको योगदानले दशकौँदेखिको सामुदायिक नेतृत्व, वकालत तथा सांस्कृतिक रूपमा संवेदनशील मानसिक स्वास्थ्य कार्यक्रमहरूको सफलतालाई उजागर गरेको छ । नेपाल सन् २०१२ मा स्थापना गरिएको अस्ट्रेलियन नेपाल पब्लिक लिंकका संस्थापक अध्यक्षसमेत हुन् । उक्त संस्थामार्फत नेपाली–अस्ट्रेलियन समुदायमा सामाजिक एकता, सांस्कृतिक सहभागिता तथा कल्याण प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह हुँदै आएको छ ।
स्वास्थ्य तथा सामुदायिक सेवाको क्षेत्रमा उनले अस्ट्रेलियाको न्यू साउथ वेल्सभर स्वास्थ्य शिक्षा अधिकृत, काउन्सेलर, अनुसन्धानकर्ता तथा मेन्टल हेल्थ फर्स्ट एडका रूपमा काम गरेका छन् । विशेषगरी नेपाली तथा दक्षिण एसियाली समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्ने, कलंक हटाउने तथा पहुँच विस्तार गर्ने कार्यमा उनको योगदान उल्लेखनीय रहेको जनाइएको छ ।
सम्मानपछि प्रतिक्रिया दिँदै नेपालले मानसिक स्वास्थ्य र सामुदायिक कल्याण क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे । उनले आप्रवासी समुदायका लागि सहयोग प्रणालीमा रहेका कमी सम्बोधन गर्न निरन्तर प्रयास आवश्यक रहेको बताए ।
