महिलामा कपाल झर्ने ढाँचा, हार्मोनल अवस्था र दातृ कपालको उपलब्धता फरक हुन्छ । त्यसैले यसको सफलताको दरलाई जटिल मानिएको छ ।
काठमाडौँ — महिलामा कपाल झर्ने समस्या र त्यसको उपचारका रूपमा हेयर ट्रान्सप्लान्टप्रति आकर्षण बढ्दो छ । तर, यो प्रक्रिया पुरुषको तुलनामा महिलाका लागि अझै जटिल र चुनौतीपूर्ण देखिएको छ ।
बेलायती बडीबिल्डर ट्रेसी किसको कपाल झर्ने समस्या बिस्तारै सुरु भयो । नुहाउँदा धेरै कपाल झर्न थालेपछि र कपाल भिज्दा टाउकोको छाला देखिन थालेपछि उनले समस्या गम्भीर भएको महसुस गरिन् । एक समय निकै बाक्लो कपाल भएकी किसले २५ वर्षको उमेरमा दुई सन्तान जन्मिएपछि कपाल असाध्यै पातलो भएको बताइन् । कपाल लुकाउन उनले विभिन्न शैली, एक्सटेन्सन र विग प्रयोग गरिन् । आइरनजस्ता भिटामिनको कमी देखिएपछि सप्लिमेन्ट, विशेष स्याम्पु र इन्जेक्सनसमेत प्रयास गरिन् । तर, मानसिक रूपमा निकै निराश भएको उनको भनाइ छ ।
‘हार्भर्ड हेल्थ’ का विज्ञहरूका अनुसार कम्तीमा एक तिहाइ महिलाले कुनै न कुनै प्रकारको कपाल झर्ने समस्या भोगिरहेका छन् । यसको समस्या (एन्ड्रोजेनेटिक एलोपेसिया) हो, जुन हार्मोन असन्तुलन र पारिवारिक इतिहाससँग जोडिएको बताएको छ । अन्तर्राष्ट्रिय कपाल पुनर्स्थापना शल्यक्रिया समाज (आईएसएचआरएस)का अनुसार, २०२१ देखि २०२४ को अवधिमा हेयर ट्रान्सप्लान्ट गराउने महिलाको संख्या १६ प्रतिशतभन्दा बढीले बढेको छ । विशेषज्ञहरूका अनुसार महिलामा हेयर ट्रान्सप्लान्ट पुरुषको तुलनामा महिलामा सफलता कम हुने गर्छ । महिलामा कपाल झर्ने ढाँचा, हार्मोनल अवस्था र दातृ कपालको उपलब्धता फरक हुन्छ । त्यसैले यसको सफलताको दरलाई जटिल मानिएको छ ।
