भारतमा १ सय ९६ जनामा निपाह भाइरस परीक्षण गर्दा नेगेटिभ नतिजा, दुईजनामा मात्रै संक्रमण

शंका लागेका मानिसहरूलाई निगरानीमा राख्‍ने, पहिचानका लागि प्रयोगशालामा परीक्षण गर्ने काम गरिएको अधिकारीहरुले बताएका छन् ।

माघ १७, २०८२

कान्तिपुर संवाददाता

196 people in India test negative for Nipah virus, only two infected

काठमाडौँ — भारतको रोग नियन्त्रण केन्द्र (एनसिडिसी)ले गत डिसेम्बरयता पश्चिम बंगलादेशमा दुईजनामा मात्रै निपाह भाइरसको संक्रमण देखिएको जनाएको छ ।

संक्रमित दुबैजना स्वास्थ्यकर्मी रहेको एनसिडिसीले जनाएको छ ।

उनीहरूसँग सम्पर्कमा रहेका १ सय ९६ जनामा परीक्षण गर्दा नेगेटिभ नतिजा आएको पनि एनसिडिसीले जानकारी दिएको छ । 

'निपाह भाइरस रोग (निभिडी) का केसहरूबारे सञ्चारमाध्यमका केही खण्डहरूमा अनुमानजनक र गलत आँकडाहरू प्रसारित भइरहेको देखिएको छ,' एनसिडिसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसीडीसी) बाट प्राप्त प्रतिवेदनअनुसार गत डिसेम्बरदेखि हालसम्म पश्चिम बंगालबाट निपाह भाइरस रोगका केवल दुई पुष्टि भएका केसहरू मात्रै सूचित भएका छन् ।'

यी दुई केसहरू पुष्टि भएपछि भारत सरकारले पश्चिम बंगाल सरकारसँग समन्वय गरेर रोकथामा विभिन्न उपाय अघि बढाएको छ ।

शंका लागेका मानिसहरूलाई निगरानीमा राख्‍ने, पहिचानका लागि प्रयोगशालामा परीक्षण गर्ने काम गरिएको अधिकारीहरुले बताएका छन् । 

'अवस्था निरन्तर निगरानीमा छ र सबै आवश्यक सार्वजनिक स्वास्थ्य उपायहरू लागू गरिएका छन्,' एनसिडिसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully