स्वास्थ्य बिमा बोर्डले सूचना जारी गर्दै ‘स्वास्थ्य बिमाको सही सदुपयोग गरौँ’ भन्ने सन्देशसहित बिमाको दुरुपयोग नगर्न आग्रह गरेको हो ।
What you should know
काठमाडौँ — स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमाको सदुपयोग गर्न सबैलाई आग्रह गरेको छ ।
स्वास्थ्य बिमा बोर्डले सूचना जारी गर्दै ‘स्वास्थ्य बिमाको सही सदुपयोग गरौँ’ भन्ने सन्देशसहित बिमाको दुरुपयोग नगर्न आग्रह गरेको हो ।
बोर्डले अनावश्यक परीक्षणका लागि चिकित्सक/स्वास्थ्यकर्मीलाई दबाब नदिन आग्रह समेत गरेको छ । साथै सेवा प्रदायक संस्थाहरूले औचित्यका आधारमा मात्र चेकजाँच,ल्याब परीक्षण तथा उपचार गर्न निर्देशन दिएको छ ।
बोर्डले सूचनामा प्रचलित कानुन तथा बोर्डले निर्माण गरेको निर्देशिका, कार्यविधि तथा परिपत्र कार्यान्वयन गरी स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह समेत गरेको छ ।
सीमित स्रोतसाधन तथा संरचनागत चुनौतीका बाबजुद पनि स्वास्थ्य बिमा कार्यक्रममार्फत दैनिक करिब ५० हजार नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेको । र दैनिक औसत ८ करोड रुपैयाँ बराबरको आम नागरिकको गोजीबाट हुने खर्च वित्तीय सुरक्षा सुनिश्चित भइरहेको बोर्डले जनाएको छ ।
स्वास्थ्य बिमा ऐन,२०७४ र नियमावली, २०७५ तथा अन्य नीतिगत व्यवस्थाहरूले उक्त कार्यक्रमलाई सामाजिक स्वास्थ्य सुरक्षा प्रणालीको मेरुदण्डको रूपमा परिकल्पना गरेको बोर्डले जनाएको छ । सामाजिक ऐक्यबद्धता सिद्धान्त,वित्तीय व्यवस्थापन गर्दै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनको लागि अधिकतम प्रयास गरिरहेको बोर्डले जनाएको छ ।
बोर्डले लामो समयदेखि भुक्तानी नगरेको साथै बिमा दाबीमध्ये केवल ५० प्रतिशत मात्र दाबी स्वीकृत गरी बाकी अस्वीकृत गरेको भन्दै गत माघ १ गतेदेखि सूचना जारी गर्दै त्रिविले स्वास्थ्य सेवा अन्तर्गतको सबै सेवा बन्द गरेको थियो ।
बोर्डले नागरिकलाई स्वास्थ्य बिमा सेवा लिन असहजता भएको वा अस्थायी रूपमा सेवा अवरुद्ध भएका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पुनःसञ्चालनमा ल्याउन निरन्तर पहल साथै छलफल गरिरहेको सूचनामार्फत जनाएको छ । स्वास्थ्य बिमा कार्यक्रमलाई अझ सशक्त,थप व्यवस्थित, प्रभावकारी एवम् नागरिक मैत्री बनाउन बोर्ड प्रतिबद्ध रहेको जनाएको छ ।
