बिमासम्बन्धी सबै सेवा बन्द भएपछि उपचारका लागि विभिन्न जिल्लाबाट आएका बिरामीहरू मार्कामा परेका हुन् ।
काठमाडौँ — महाराजगन्जमा रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गतका सबै सेवा बन्द भएका छन् । बिमासम्बन्धी सेवा बन्द भएको थाहा पाएपछि उपचारका लागि आएका बिरामी र उनीहरुका आफन्त अस्पतालको वरिपरि सोधपुछ गरिरहेका छन् । उपचारको लागि दौडिरहेका छन् । कोही स्वास्थ्य बिमा लेखेको काउन्टरको छेउमा बसिरहेका छन् । बिमासम्बन्धी सबै सेवा बन्द भएपछि उपचारका लागि विभिन्न जिल्लाबाट आएका बिरामीहरू मार्कामा परेका छन् ।
धनकुटा हिले-९ घर भएकी भुनामाया तामाङ, ६५ दुई दिनदेखि काठमाडौं छिन् । उनी थाइराइड, कोलेस्ट्रोलको समस्या देखिएपछि उपचारको लागि त्रिवि आएकी थिइन् । बिमाको सेवा सजिलै प्राप्त गर्ने सोचले आएकी भुनमायाले माघ १ गतेदेखि बिमासम्बन्धी सबै सेवा बन्द भन्ने खबर थाहा पाएकी थिइनन् । टाढाबाट दुःख गरेर आए पनि बिमाबाट पाउने सेवाबाट वञ्चित हुन परेकोमा उनी निराश छिन् ।
‘यहाँ हामीले उपचार गर्न सक्ने साथै राम्रो छ । बिमाले औषधी, उपचारमा गर्दा सस्तो पर्छ भनेर आएको थिएँ,’ उनले भनिन्, ‘स्वास्थ्य बिमाको सबै उपचार बन्द छ भन्छन् । सस्तो भनेर आएको । प्राइभेटमा जस्तै महँगो खर्च लागेपछि के काम ।’ भुनामाया उपचारका लागि मात्र भनेर काठमाडौं आएकी थिइन् । बिमा बन्द हुँदा आफूजस्ता बाहिरी जिल्लाबाट उपचारका लागि आएका बिरामी मारमा परेको उनको भनाइ छ । स्वास्थ्य बिमालाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।
यसैगरी पाटन गा:बहालबाट उपचारको लागि आएकी जयश्री बज्राचार्य स्वास्थ्य बिमासम्बन्धी सबै सेवा बन्द भएको थाहा पाएर दुखी भएको बताउँछिन् । पाठेघरको शल्यक्रिया गर्ने तरखरमा रहेकी जयन्तीले बिमाको सुविधा बन्द हुने जानकारी अस्पतालमा आएर थाहा पाएकी थिइन् । ‘औषधीदेखि अपरेसन खर्च सबै कुरा सस्तो हुन्थ्यो । बिमा बन्द भयो भन्छन् अब महँगो उपचार खर्च लाग्ने भयो भन्ने पिर परेको छ,’ भनिन्, ‘सर्वसाधारणको हितको लागि भएको यस्तो राम्रो सेवा अस्पतालले बन्द गर्दा पनि सरकारले केही भनेको छैन । बिमालाई निरन्तर राख्दा राम्रो हुन्थ्यो ।’
त्यसरी नै सिन्धुपाल्चोक-३ घर भएका जीवन भण्डारी सामान्य स्वास्थ्य परीक्षणको लागि आएका थिए । भन्छन्, ‘त्रिविमा स्वास्थ्य बिमा बन्द हुँदै भन्ने समाचार पढेको थिएँ । धेरैलाई बन्द भएको थाहा रहेनछ । टाढाबाट आएर दुख पाएको देखेँ । के समस्या हो सुल्झाएर बिमालाई निरन्तरता दिए हुने थियो,’ उनले भने, ‘बिमाले धेरै राहत भएको थियो । यस्ता राम्रा कार्यक्रम निरन्तर हुनुपर्छ ।’ हरेक व्यक्तिलाई बिमाले ठूलो राहत दिएको उनी बताउँछन् ।
अस्पतालमा बिरामी भेट्न सिन्धुली सुनकोशी गाउँपालिका ४६ वर्षीया श्यामबहादुर साथै मिना मगर बिमा बन्द नभए हुने चाहन्छन् । भन्छन्, ‘थोरै खर्चमा राम्रो उपचार हुने भएका कारण जस्तो साधारण व्यक्तिले पनि सजिलै उपचार पाउन सक्ने थिए । बिमा बन्द भए उपचार गर्न सकिँदैन भन्ने हुँदो रहेछ,’ उनले भने, ‘चुनावको समय भएर हो कि के हो । यति ठूलो विषय छायामा पर्यो । छिटो बिमा सुरु होस् ।’
धनगढी घर भएका खड्कबहादुर केसी श्रीमतीलाई उपचारका लागि ३ महिनादेखि काठमाडौंमा कोठा लिएर बसेको बताउँछन् । केसी ८१ वर्षका भए । उनी स्वास्थ्य बिमा शाखा लेखेको झ्यालको छेउमा बसिरहेका थिए । भन्छन्, ‘कलेजोमा समस्या साथै के-के समस्या देखाएको छ । बिमाले त कतै उपचार हुँदैन भन्न लाए । अस्पतालले के गरेको हो थाहा छैन ।’ पहिला बिमाले गर्दा औषधी किन्न भने सहज भएको उनी बताउँछन् ।
त्रिविले सूचना जारी गर्दै माघ १ गतेदेखि बिमासम्बन्धी सबै सेवा बन्द गरेको थियो । हालसम्म अस्पतालको बिमा दाबी रकम झन्डै ४० करोड भुक्तानी रहेको जनाएको छ । विगत दुई वर्षदेखि हस्पिटलको समस्या राख्दा पनि कुनै सुनुवाइ नभएको साथै आफ्नो आन्तरिक स्रोतबाट अस्पतालले सम्पूर्ण दैनिक खर्च बेहोर्न परेको जनाएको छ । मासिक २ करोड घाटा खाएर स्वास्थ्य बिमा सञ्चालन गर्न नसकेको कारण माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बिमाको सम्पूर्ण उपचार बन्द गर्ने हस्पिटलले प्रेस विज्ञप्तिमार्फत जनाएको थियो ।
