अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बिमा अन्तर्गतका सबै सेवा बन्द गर्ने जनाएको हो ।
What you should know
काठमाडौँ — महाराजगन्जमा रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ ।
अस्पतालले सूचना जारी गर्दै माघ १ गतेदेखि स्वास्थ्य बिमा अन्तर्गतका सबै सेवा बन्द गर्ने जनाएको हो ।
स्वास्थ्य बिमा बोर्डले अस्पतालको बिमा दाबीमध्ये केवल ५० प्रतिशत मात्र दाबी स्वीकृत गरी बाँकी अस्वीकृत हुँदै आएपछि यस्तो निर्णय गरेको जनाएको छ ।
हालसम्म अस्पतालको बिमा दाबी रकम झन्डै ४० करोड भुक्तानी रहेकोसमेत जनाएको छ । दुई वर्षदेखि अस्पतालको समस्या राख्दा पनि कुनै सुनुवाइ नभएको साथै आफ्नो आन्तरिक स्रोतबाट अस्पतालले सम्पूर्ण दैनिक खर्च बेहोर्न परेको जनाएको छ । मासिक २ करोड घाटा खाएर स्वास्थ्य बिमा सञ्चालन गर्न नसकेका कारण माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बिमाको सम्पूर्ण उपचार बन्द गर्ने अस्पतालले प्रेस विज्ञप्तिमार्फत जनाएको हो ।
तर स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रघुनाथ काफ्लेका अनुसार त्रिवि शिक्षण अस्पतालले सेवा बन्द नहुने जनाएका छन् । ‘उहाँहरूले हामीलाई पत्र पठाउनु भएको छ । यो कुरामा हामीले त्यहाँको निर्देशकसँग कुराकानी गरिसकेका छौँ । के–के विषय हुन्, सबै कुराको छलफल हुन्छ । कुनै पनि सेवा नरोक्न भनेका छौँ,’ उनले भने,‘यति ठूलो अस्पताल जनताले सेवा पाउने कुरालाई रोकेर कसरी बस्न सक्ला र ?'
त्रिवि शिक्षण अस्पतालले विज्ञप्ति जारी गरे जतिको रकम भुक्तानी गर्न बाँकी नरहेको काफ्ले बताउँछन् । भन्छन्, ‘त्यति ठूलो रकम भुक्तानी गर्न छैन । तर उहाँहरूका अरू विषय पनि होलान् । छलफलका कुराहरू, उहाँहरूले भनेका सुविधाका प्याकेजहरूमा केही सुझाव पनि छन् हामीलाई ती विषयमा छलफल गरौँला भोलिका दिनहरूमा भन्ने कुरा भएको छ । अब उहाँहरूले नयाँ सूचना निकालेर सेवालाई निरन्तरता दिनहुन्छ भन्ने छ ।'
तर त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. सुवास आचार्यले भने माघ १ गतेदेखि बिमा अन्तर्गतको सबै सेवा बन्द हुने जनाएका छन् । उनका अनुसार त्रिविले मासिक स्वास्थ्य बिमा खर्च साढे चार करोडदेखि पाँच करोड दाबी गरेको छ । तर, बोर्डले भने साढे दुई करोड मात्र भुक्तानी गर्ने गरेको र यसको बारेमा बारम्बार स्वास्थ्य बिमा बोर्डलाई भन्दा पनि समस्याको समाधान नभएको उनी बताउँछन् ।
‘टिचिङ हस्पिटलले मासिक २ देखि साढे २ करोडभन्दा बढी घाटा खाएर स्वास्थ्य बिमा कसरी सञ्चालन गर्छ । हामीले स्वास्थ्य बिमा बोर्डसँग बारम्बार हाम्रा समस्याहरूको कुरा राख्छौँ तर उहाँहरू गर्दैछौँ, हुँदैछ भन्नुहुन्छ,’ उनले भने,‘हामीले हाम्रो समस्या सुनाउँदा हामीलाई थाहा छैन । हिसाब मिल्दैन भन्नु हुन्छ ।’
अस्पतालले स्वास्थ्य बिमा नीतिको लागि वर्षको २५/२६ करोड यत्तिकै घाटा धान्न नसक्ने आचार्य बताउँछन् ।
