राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले राष्ट्रिय एचआईभी कार्यक्रमको वार्षिक समीक्षा निर्णयअनुसार उनीहरूलाई पुरस्कृत गर्न लागेको हो ।
काठमाडौँ — राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले एचआईभी रोकथाम, उपचार, हेरचाह तथा सहयोग सेवामा उत्कृष्ट कार्यसम्पादन गरेका सात जना स्वास्थ्यकर्मीलाई पुरस्कृत गर्ने भएको छ ।
केन्द्रले राष्ट्रिय एचआईभी कार्यक्रमको वार्षिक समीक्षा निर्णयअनुसार उनीहरूलाई सम्मान कार्यक्रममार्फत पुरस्कृत गर्न लागेको हो ।
पुरस्कृत हुनेमा स्वास्थ्य निर्देशनालय, राजपुर–डोटीका एचआईभी फोकल पर्सन मनोजप्रसाद ओझा, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीरेन्द्रनगर–सुर्खेतका प्रमुख कमलकुमार थापा, भेरी अस्पताल, नेपालगन्ज–बाँकेका कन्सल्टेन्ट फिजिसियन डा. संकेतकुमार रिसाल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एआरटी काउन्सेलर नारायणी सुवेदी, एफएचएफ नेपाल, ललितपुरका वरिष्ठ कार्यक्रम संयोजक कृष्ण सापकोटा, प्रादेशिक जनस्वास्थ्य अस्पताल, महोत्तरीका एआरटी काउन्सेलर राजिव पाठक र भद्रपुर प्रादेशिक अस्पताल, झापाका एआरटी काउन्सेलर कमल नेपाली रहेका छन्।
केन्द्रका अनुसार एचआईभी रोकथाम, निदान, उपचार तथा सेवाप्रवाहमा उल्लेखनीय योगदान पुर्याएका कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम पुस २८ र २९ गते ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरमा हुने तय भएको छ ।
