आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिका लागि यथोचित बजेट पनि छुट्याइएको पनि मन्त्री गौतमको भनाइ छ
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्त्वपूर्ण अंग र कार्यक्रमका रूपमा अघि बढाएको बताएकी छिन् ।
विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गौतमले परम्परागत चिकित्सा पद्धतिबारे कुनै पनि मन्त्रालयको नेतृत्व भएन भन्ने गुनासो आए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व गर्दै आइरहेको बताएकी हुन् ।
आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिका लागि यथोचित बजेट पनि छुट्याइएको पनि मन्त्री गौतमको भनाइ छ । राष्ट्रिय नीतिमा र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति एवं पञ्चवर्षीय रणनीति र कार्यनीतिहरूमा पनि आयुर्वेदका कार्यक्रम परेको उनले बताइन् ।
मन्त्री गौतमको भनाइ
परम्परागत चिकित्सा पद्धतिको बारेमा कुनै पनि मन्त्रालयको नेतृत्व भएन । नयाँ मन्त्रालय भइदिए हुन्थ्यो भन्नेखालका कुरा पनि आयो । परम्परागत चिकित्सा पद्धतिलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महत्त्वपूर्ण अंग र कार्यक्रमका रूपमा अघि बढाएको छ । त्यसमा यथोचित बजेट विनियोजन भएका छन् ।
हजारौँ हाम्रा स्वास्थ्यकर्मी कार्यरत छन् । सयौँको संख्यामा हाम्रा चिकित्सालय छन् । अहिले मेरो मन्त्रालयबाट सचिवज्यु र आयुर्वेद विभागका महानिर्देशक समेत यही कार्यक्रममा उपस्थित हुनुहुन्छ । यहाँहरू कसैलाई आयुर्वेदको र परम्परागत चिकित्सा पद्धतिको बारेमा जानकारी लिनुछ भने हाम्रो आयुर्वेद विभागबाट जानकारी पाउन सक्नुहुनेछ । हाम्रो राष्ट्रिय नीतिमा र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति एवं पञ्चवर्षीय रणनीति र कार्यनीतिमा पनि आयुर्वेदका कार्यक्रम परेका छन् ।
