वीरगन्जमै आँखाको नानी प्रत्यारोपण सेवा

लामो समयदेखि दुवै आँखाका नानीमा गम्भीर समस्याका कारण दृष्टिविहीन रहेका पर्सा जिराभवानी गाउँपालिकाका ६१ वर्षीय राजदेव रामको आँखामा कोर्निया विशेषज्ञ चिकित्सकहरुको टोलीले नानी प्रत्यारोपण गरेको हो ।

पुस ३, २०८२

शंकर आचार्य

Eye transplant service in Birgunj

पर्सा — वीरगन्जस्थित दृष्टि आँखा तथा नाक, कान, घाँटी अस्पतालमा बिहीबार एक बिरामीको सफलतापूर्वक आँखाको नानी प्रत्यारोपण गरिएको छ । 

लामो समयदेखि दुवै आँखाका नानीमा गम्भीर समस्याका कारण दृष्टिविहीन रहेका पर्सा जिराभवानी गाउँपालिकाका ६१ वर्षीय राजदेव रामको आँखामा कोर्निया विशेषज्ञ चिकित्सकहरुको टोलीले नानी प्रत्यारोपण गरेको हो । प्रत्यारोपणपछि बिरामीको अवस्था सन्तोषजनक रहेको अस्पताल स्रोतले जनाएको छ । 

अस्पतालका प्रमुख कोर्निया रोग विशेषज्ञ डा. भाइराजा श्रेष्ठको नेतृत्वमा अस्पतालमा नानी प्रत्यारोपण सेवा सुरु गरिएको अस्पतालका संचालक अध्यक्ष विश्वराज गौतमले जानकारी दिएका छन् । उनले आँखाको नानी प्रत्यारोपण दृष्टि पुनःस्थापनाका लागि प्रभावकारी उपचार विधि रहेको र समयमै उपचार गरिएमा बिरामीले पुनः दृष्टि पाउने उच्च सम्भावना रहने बताए । 

वीरगन्जमै आँखाको नानी प्रत्यारोपण सेवा सेवा उपलब्ध भएपछि यस क्षेत्रका बिरामी यस्ता सेवा लिन अन्यत्र जानु पर्ने बाध्यता हटेको कर्निया रोग विशेषज्ञ डा. मनिष खतिवडाले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully