स्वास्थ्य बीमा धान्नै मुश्किल

बोर्डले वार्षिक करिब पौने ४ अर्ब प्रिमियम उठाउँछ भने अस्पतालहरूले बुझाउनुपर्ने भुक्तानी १४ अर्बसम्म पुग्छ।

मंसिर २५, २०८२

न्युज एजेन्सी नेपाल

Health insurance is difficult to afford.

What you should know

काठमाडौँ — स्वास्थ्य बीमाले अस्पतालहरूलाई भुक्तानी समयमै नगर्दा उपचार सेवामा समस्या देखिएको सरोकारवालाले बताएका छन्। स्वास्थ्य बीमा बोर्डले आयोजना गरेको एक कार्यक्रममा धुलिखेल अस्पतालका डाक्टर बलाराम मल्लले गुणस्तरीय सेवा नहुँदा बिमित निराश हुने र स्वास्थ्य बीमा कार्यक्रम नै प्रभावकारी हुन नसक्ने बताए।

उनले भने, 'स्वास्थ्य बीमा कार्यक्रमको सेवा कमजोर छ भन्ने धारणा बनेमा मानिसहरू सेवा लिन नआउने जोखिम छ। त्यसैले गुणस्तरमा विशेष ध्यान दिनुपर्छ। स्वास्थ्य बीमालाई नारामै सीमित हुन नदिन अब यसको संरचनामा सुधार गर्दै नयाँ प्याकेज प्रणाली ल्याउन आवश्यक छ।'

कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका सदस्य डाक्टर मुक्तिराम श्रेष्ठले बोर्ड परनिर्भर बन्दा कार्यक्रम प्रभावकारी बन्न नसकेको बताए। उनका अनुसार बोर्डले वार्षिक करिब पौने ४ अर्ब प्रिमियम उठाउँछ भने अस्पतालहरूले बुझाउनुपर्ने भुक्तानी १४ अर्बसम्म पुग्छ।

श्रेष्ठले भने, 'हरेक वर्ष १० अर्ब बराबरको भुक्तानी स्वास्थ्य बीमाबाट तिर्नुपर्दा धान्नै नसक्ने स्थिति आएको छ। भुक्तानी माग र आम्दानीबीच करिब ७५ प्रतिशतको ठूलो ग्याप छ, यस्तो अवस्थामा कार्यक्रम अघि बढाउन कठिन हुन्छ। यसलाई घटाउन ऐनअनुसार संगठित संस्थाका सदस्यलाई स्वास्थ्य बीमामा अनिवार्य रूपमा आबद्ध गराउनुपर्छ।'

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले एक वर्षमा १ करोड २५ लाखले स्वास्थ्य बीमाबाट सेवा दिएको जानकारी दिए। उनका अनुसार एक बिमित नागरिकले वर्षमा सरदर पाँच पटकसम्म अस्पताल सेवा लिने गरेका छन्।

काफ्लेले स्वास्थ्य बीमाबाट मात्र करिब १० अर्ब बराबरको औषधि खरिद हुने गरेको बताए। उनले स्वास्थ्य बीमाबाट सेवा लिनेको संख्या वर्षैपिच्छे बढ्दै गएको उल्लेख गर्दै भने, 'अस्पतालहरूलाई समयमै भुक्तानी गर्न स्रोत अभाव भएको छ। बीमा कोषलाई बलियो बनाएर कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न गृहकार्य भइरहेको छ।'

सम्बन्धित समाचार

 स्वास्थ्य बिमा बोर्डले तिर्नुपर्ने १७ अर्ब ४२ करोड, खातामा ३ अर्ब ७० करोड मात्रै

न्युज

Link copied successfully