पञ्चायतकालपछि नेपालले आँखा उपचारमा फड्को मारेको छ : प्रथम राष्ट्रपति डा यादव

वीरगन्ज दृष्टि आँखा, नाक, कान र घाँटी अस्पतालको नवनिर्मित भवन शनिबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् ।

मंसिर २०, २०८२

शंकर आचार्य

Nepal has made strides in eye treatment since the Panchayat era: First President Dr. Yadav

What you should know

पर्सा — प्रथम राष्ट्रपति डा रामवरण यादवले तीन दशकयता आँखाको उपचारमा नेपालले भारतीय बिरामीको विश्वास जित्न सक्नु गर्वको कुरो भएको बताएका छन् । 

वीरगन्ज दृष्टि आँखा, नाक, कान र घाँटी अस्पतालको नवनिर्मित भवन शनिबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् । ‘भारतको उत्तरी राज्यका आँखा अस्पतालहरुभन्दा नेपालको आँखा उपचार विशिष्टिकृत र अब्बल भएको छ,’ उनले भने, ‘पञ्चायतकालपछि नेपालले आँखा उपचारमा निकै राम्रो फड्को मारेको छ ।’

कुनै समय नेपालीहरु भारतको उत्तर प्रदेशस्थित सितापुर आँखा अस्पतालमा उपचारका लागि जाने गरेको स्मरण गर्दै यादवले हाल भारतको विहार, उत्तरप्रदेश र बंगाललगायतका राज्यका बिरामीहरु समेत गुणस्तरीय आँखाको उपचार गर्न नेपाल आउनेक्रम बढ्नु प्रशंसनीय रहेको बताए ।  

चिकित्सक र स्वास्थ्यकर्मीसँग ठूलो अपेक्षा राखेर बिरामी उपचार गर्न आउने भएकाले यो पेसाकर्मीहरुले स्तरीय सेवा दिन कुनै कसर बाँकी राख्न नहुने पनि उनको भनाइ छ । उनले चिकित्सक पेसा, पैसा कमाउनेभन्दा पनि मानवीय सेवाबाट ओतप्रोत हुनुपर्ने बताए ।

दृष्टि आई केयर सिस्टमका कार्यकारी निर्देशक डा भाइराजा श्रेष्ठले ११ वर्षअघि वीरगन्जमा भाडाको भवनबाट सुरु गरिएको अस्पताल हाल आफ्नै भवनबाट संचालनमा आउन सफल भएको बताए । दृष्टिका देशभरिका तीन वटा अस्पतालले एक दशकमा १३ लाखभन्दा बढी बिरामीको उपचार गर्न सफल भएको उनले जानकारी दिए । जसमा एक लाखभन्दा बढी आँखाको शल्यक्रिया नै भएको उनको भनाइ छ । 

अस्पतालका मेडिकल निर्देशक हरि शर्माले उपचार खर्च अभावमा कोही पनि बिरामी दृष्टिविहीन नहुन् भन्ने उद्देश्यले अस्पतालले सेवा दिइरहेको बताए ।

अस्पतालका अध्यक्ष विश्वराज गौतमले अस्पतालले आगामी दिनमा बिरामीहरुलाई लक्षित गरी थप अत्याधुनिक सेवा सुविधा बढाउँदै लाने योजना रहेको बताए ।

समारोहमा वीरगन्जलाई कर्मथलो बनाई लामो समयदेखि नेत्र विशेषज्ञको रुपमा सेवा दिइरहेका चिकित्सकद्वय डा राधाकृष्ण कोइराला र डा वीरसिंह थापालाई  सम्मान गरिएको थियो । उनीहरुलाई पूर्वराष्ट्रपति यादवले दोसल्ला ओढाई कदरपत्रसहित सम्मान गरेका थिए । सम्मानित चिकित्सकहरु आफ्ना सहपाठी र सहकर्मीसमेत रहेको डा यादवले बताएका थिए ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully