चितवनका महिला पत्रकारको स्तन क्यान्सरको निःशुल्क परीक्षण

महिला पत्रकारहरुको स्तन क्यान्सर स्क्रिनिङ गर्ने कार्यक्रमबाट जिल्लाका ३६ जना महिला पत्रकारह लाभान्वित

मंसिर ७, २०८२

कान्तिपुर संवाददाता

Free breast cancer screening for female journalist in Chitwan

काठमाडौँ — नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना एवम् चितवन मेडिकल कलेज (सिएमसी) को सहयोगमा जिल्लामा क्रियाशिल महिला पत्रकाहरुको स्तन क्यान्सरको निःशुल्क परीक्षण गरिएको छ ।

महिला पत्रकारहरुको स्तन क्यान्सर स्क्रिनिङ गर्ने कार्यक्रमबाट जिल्लाका ३६ जना महिला पत्रकार लाभान्वित भएको महासंघ चितवन शाखाको उपाध्यक्ष एवम् महिला विभाग प्रमुख शान्ता अधिकारीले जानकारी दिइन् । केही पत्रकारको आवश्यकताअनुसार स्तन क्यान्सर परीक्षणका लागि मेमोग्रामसमेत गरिएको उनले बताइन् ।

स्तन क्यान्सरको उपचार गर्न शल्यक्रिया गर्नुपरे सिएमसीले ५० प्रतिशत छुट दिने घोषणासमेत गरेको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सकहरुले स्तन क्यान्सरको कारण, लक्षण र बच्ने उपायबारे जानकारी दिएका थिए ।

अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना फैलाउने महिनाको रुपमा मनाउने क्रममा महिला पत्रकारहरुको निःशुल्क स्तन क्यान्सर परीक्षण गरिएको सीएमसीका  प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप देवकोटाले बताए । 

समयमै परीक्षण नगराउँदा नेपालमा धेरै क्यान्सर देखिनेमा स्तन क्यान्सर दोस्रो नम्बरमा आएको छ । स्तन क्यान्सरको स्क्रिनिङ गर्नुपर्छ भन्ने सोच बढ्दै जाँदा विरामीको संख्या पनि थपिँदै गएको उनको भनाइ छ । 

कान्तिपुर

Link copied successfully