मिर्गौलाको पत्थरी निकाल्ने अत्याधुनिक प्रविधि 'मिनी पीसीएनएल' सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि काठमाडौंमा सुरु भएको हो ।
काठमाडौँ — नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको मिनी–पीसीएनएल कार्यशाला तथा सम्मेलन सुरु भएको छ । मिर्गौलाको पत्थरी निकाल्ने अत्याधुनिक प्रविधि 'मिनी पीसीएनएल' सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि काठमाडौंमा सुरु भएको हो ।
खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजी (आरुस लाइफस्टाइल अस्पताल) द्वारा आयोजित यस सम्मेलनमा ४० भन्दा बढी देशका दुई सयभन्दा धेरै विशेषज्ञ चिकित्सक, युरोलोजिस्ट, अनुसन्धानकर्ता र स्वास्थ्यकर्मी सहभागी छन् । कार्यक्रममा मिनी–पीसीएनएल विधिबाट प्रत्यक्ष शल्यक्रिया, संवाद र युरोलोजीसँग सम्बन्धित छलफल हुने छ ।
नेपालमा आयोजित यो पहिलो अन्तर्राष्ट्रिय मिनी–पीसीएनएल सम्मेलनले नेपाललाई विश्व युरोलोजी नक्सामा स्थापित गर्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । सहभागी विशेषज्ञहरूले यसलाई ‘नेपालको चिकित्सकीय क्षमता र अन्तर्राष्ट्रिय सहकार्यको उज्ज्वल उदाहरण’ का रूपमा वर्णन गरेका छन् ।
खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीका मेडिकल डाइरेक्टर तथा वरिष्ठ युरोलोजिस्ट डा. सञ्जय खड्गीले यो सम्मेलन नेपालकै चिकित्सा इतिहासमा महत्त्वपूर्ण उपलब्धि रहेको बताए । मिनी पीसीएनएल प्रविधि युरोलोजीको क्षेत्रमा अत्याधुनिक र कम जोखिमयुक्त शल्य–प्रविधि रहेको डा. खड्गीले बताए । उद्घाटन कार्यक्रममा स्वागत गर्दै उनले भने– 'मिनी–पीसीएनएल प्रविधि युरोलोजीको क्षेत्रमा अत्याधुनिक र जोखिमरहित शल्य–प्रविधि हो, यसले मृगौलाको पत्थरीजस्ता समस्या उपचारमा जोखिम घटाउँदै उपचार प्रक्रिया सहज र छिटो बनाउँछ ।’
खड्कीका अनुसार यो कार्यशाला र सम्मेलनको अवधिमा १४ जना मिर्गौला पत्थरीका बिरामीको लाइभ सर्जरी हुनेछ । जसमध्ये ८ जनाको शनिबार नै सफलतापूर्वक सम्पन्न भएको खड्कीले बताए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका वरिष्ठ चिकित्सक प्रा.डा जगदीशलाल वैद्यले सम्मेलनका आयोजकलाई धन्यवाद दिँदै नेपालको लागि गर्विलो कार्य रहेको बताए । यो सम्मेलनले प्राज्ञिकसँगै स्वास्थ्यकर्मीहरुबीच अनुभव बाढ्ने र व्यावसायिक मित्रता विस्तार गर्ने अवसर प्रदान गरेको उनले बताए । उनले कार्यक्रममा सम्बोधन गर्दै भने– 'यो नेपालको लागि निकै नै गर्विलो कार्यक्रम हो । यसले स्वास्थ्यको क्षेत्रमा सागै नेपालका लागि अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध र मित्रता बिस्तार गर्ने सुनौलो अवसर दिएको छ ।’
जर्मनीका युरोलोजिस्ट प्रो.डा स्वेन लामिङले पनि वैद्यको कुरालाई समर्थन गर्दै यो नेपालको लागि गर्विलो विषय रहेको बताए । 'मिनी–पीसीएनएल प्रविधि युरोलोजीको क्षेत्रमा सबैभन्दा चुनौतीपूर्ण तर प्रभावकारी शल्य–विधि हो । यस्तो विषयमा नेपालले सम्मेलन आयोजना गर्नु गर्वको विषय हो,’ लामिङले भने ।
भारतीय चिकित्सक डा.प्रशान्त के पटनायकले नेपाल युरोलोजी प्रविधिको अग्रणी मञ्च बन्ने दिशामा अघि बढ्दै गएको बताए । उनले मन्तव्यमा भने– 'नेपाली चिकित्सकहरूको दक्षता र उत्साह प्रशंसनीय छ । नेपाल अहिले युरोलोजी प्रविधिको अग्रणी मञ्च बन्ने दिशामा अघि बढ्दैछ ।’
त्यस्तै, बेलायतका चिकित्सक डा.सुबु सुब्रमनियमले पनि सम्मेलनको तयारी, शल्य–प्रदर्शन र नेपाली आतिथ्यप्रति आभार प्रकट गर्दै यसलाई ‘वैज्ञानिकता र सहकार्यको सुन्दर संयोजन’का रुपमा लिएको बताए ।
त्यस्तै, नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा.अनिलबहादुर कार्कीले यस्तो सम्मेलनले नेपालको चिकित्सकीय प्रतिष्ठा विश्वमञ्चमा पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, 'नेपाल जस्तो सानो राष्ट्रले पनि यस्तो गर्विलो सम्मेलनले धेरैलाई आशा जगाएको छ । यसले अन्तर्राष्ट्रिय मञ्चमा निकै राम्रो सन्देश दिएको छ ।’ यो कार्यक्रमले नयाँ युरोलोजिस्टहरुको सहभागितालाई थप बढाउने अपेक्षा राखेको अध्यक्ष कार्कीले बताए । उनले भने– 'नेपालमा यस्तो नयाँ कामहरु बढ्दै जाँदा नयाँ स्वास्थ्यकर्मीहरुलाई हौसला मिल्दै जानेछ ।’
