वीरगन्जबाट पठाइएका १० मध्ये ८ नमुनामा हैजा पुष्टि भएको जानकारी डा रञ्जनराज भट्टले दिएका छन्। बाँकी २ नमुनाको नतिजा आउन बाँकी।
पर्सा — राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वीरगन्जबाट हैजाको आशंकामा पठाइएका बिरामीको नमुना परीक्षण गर्दा आठमा हैजाको संक्रमण पुष्टि गरेको छ ।
१० वटा नमुनामध्ये आठ वटा नमुनामा हैजाको संक्रमण पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले जानकारी दिएका छन् । वीरगन्जबाट नमुना स्वरूप हैजा सङ्क्रमितहरूको दिसा पठाइएको थियो ।
भट्टले वीरगन्जबाट पठाइएका १० वटा नमुनामध्ये आठ वटा नमुनामा हैजाको संक्रमण पुष्टि भएको टेलिफोनमार्फत जानकारी दिएका हुन् । प्रयोगशालामा रहेको ‘भाइटेक’ प्रविधिबाट कल्चर गर्दा १० नमुनामध्ये आठ नमुनामा हैजाको संक्रमण भेटिएको उनले बताए । उनका अनुसार नमुनाहरूको भाइटेक प्रविधिबाट कल्चर गरेर ४८ घण्टामा परिणाम आएको हो । बाँकी दुई नमुनाको परीक्षणको नतिजा बुधबार आउने उनले बताए ।
वीरगन्जबाट हालसम्म आरडीटी गरेर हैजा भएको पुष्टि गरिएकोमा थप पुष्टिका लागि काठमाडौंमा नमुना परीक्षण गरिएको उनले जानकारी दिए । आरडीटी परीक्षणबाट मात्र नतिजा फरक आउन सक्ने भएकाले पनि थप पुष्टिका लागि कल्चर गरिएको उनले स्पष्ट पारे ।
