नारायणी अस्पताल पुगेर स्वास्थ्यमन्त्री पौडेलको निर्देशन : हैजाका बिरामीलाई निःशुल्क उपचार गर्नूस्

वीरगन्जमा हैजाको प्रकोप रोक्न निःशुल्क उपचार र औषधिको व्यवस्थापनमा सरकारको प्रतिबद्धता, निजी अस्पतालको सहयोगको अपेक्षा।

भाद्र ९, २०८२

शंकर आचार्य

After reaching Narayani Hospital, Health Minister Paudel's instructions: Give free treatment to cholera patients

पर्सा —  संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा आउने झाडापखाला तथा हैजाका बिरामीलाई निःशुल्क उपचार गर्न निर्देशन दिएका छन् । सोमबार वीरगन्जस्थित नारायणी अस्पतालमा आयोजित अस्पतालकर्मी तथा सरोकारवालाहरूसँगको छलफल कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

‘नारायणी अस्पतालमा उपचारका निम्ति आउने झाडापखाला र हैजाका बिरामीले कुनै पनि प्रकारको शुल्क तिर्नु नपरोस्,’ उनले भने, ‘अस्पतालमा केही औषधि निःशुल्क र केही खरिद गर्न लगाएको पाइयो ।’ यसका साथै प्रयोगशाला परीक्षण पनि निःशुल्क गर्न उनले निर्देशन दिएका छन् ।

प्रकोपका समयमा औषधिको अभाव हुन नदिन तीनै तहको सरकार प्रतिबद्ध रहने बताउँदै मन्त्री पौडेलले प्रभावित क्षेत्रका अस्पतालमा जनशक्ति अभाव हुन नदिन पनि आफू लागिपरेको बताए । उनले निजी अस्पतालहरूलाई पनि संकटको समयमा मानवता देखाउन आग्रह गरे ।

‘मन्त्रालयले निजी अस्पतालहरूलाई किट उपलब्ध गराउँछ,’ उनले भने, ‘अन्य औषधि पनि उपलब्ध गराउँछ, त्यसबापत बिरामीलाई उपचारमा छुट दिनुपर्‍यो, विपद्‍का बेला सबैले सहयोग गर्नुपर्छ ।’वीरगन्जमा हैजाको प्रकोप देखिने कारण अझै पनि पत्ता लाग्न नसक्नु चिन्ताको विषय भएको बताउँदै मन्त्री पौडेलले समयमै हैजाको प्रकोपको कारण पत्ता लगाउन सके यो बढी फैलिन नपाउने बताए । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully