चौधरी फाउन्डेसन र स्वास्थ्य मन्त्रालयले नेपालका प्रसूति केन्द्रहरूको सेवाको स्थिति र तयारीबारे प्रतिवेदन सार्वजनिक गरेका छन्।
What you should know
काठमाडौँ — स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.टंक बाराकोटीले सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्य राखेको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा डा. बाराकोटीले स्वास्थ्य सेवा ग्रामीण क्षेत्रसम्म विस्तारका लागि थप जनशक्ति, उपकरण आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा चौधरी फाउन्डेसन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संयुक्त रूपमा नेपालका प्रसूति केन्द्रहरूमा मातृ तथा नवजात शिशु हेरचाहका लागि सेवा उपलब्धता र तयारीसम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको थियो । ‘ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन थप जनशक्ति, उपकरण र पूर्वाधार आवश्यक छन्,’ उनले भने । अध्ययनबाट प्राप्त सुझाव आगामी नीति र योजना बनाउँदा उपयोगी हुने उनको भनाइ छ ।
त्यस्तै डा. गौरी प्रधान श्रेष्ठले नेपालमा पर्याप्त मात्रामा मानव संशाधनको कमी भएको बताइन् । ‘अझै पनि हाम्रो देशमा ह्युमन रिसोर्सेस कम छ । त्यसैले अझै चाहेअनुरुप हामीले राम्रो गर्न सकेका छैनौँ,’ उनले भनिन् ।
परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेकलाल कर्णले स्वास्थ्य क्षेत्रमा पनि सार्वजनिक तथा निजी साझेदारीअन्तर्गत गरिएका कार्यले सरकारले हासिल गरेको लक्ष्य पूरा गर्न सहज र प्रभावकारी हुने बताएका छन् । चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले शिक्षा र स्वास्थ्यका क्षेत्रमा विभिन्न काम गरिरहेको जानकारी गराउँदै मातृ तथा नवजात स्वास्थ्यका क्षेत्रमा अध्ययनले औंल्याएका सुझाव कार्यान्वयनका विषयमा आगामी दिनमा थप काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्ययनकर्ता डा.खेम पोखरेलले अध्ययनका क्रममा देखिएका कमजोरीलाई सुधार्न सकिने बताए । डा. पोखरेल भन्छन्, ‘कसरी नवजात शिशु मृत्युदर/मातृ मृत्युदर घटाउन सकिन्छ भन्ने नै महत्त्वपूर्ण कुरा हो । तर सबै प्रदेशमा समान भने छैन ।’
नेपालले मातृ तथा नवजात शिशु स्वास्थ्यमा उल्लेखनीय प्रगति गरेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । सन् २०१६ मा प्रति एक लाख जीवित जन्ममा २३९ रहेको मातृ मृत्युदर सन् २०२२ मा घटेर १५१ पुगेको छ । त्यस्तै, सन् २००१ मा प्रतिएक हजारमा ३९ रहेको नवजात शिशु मृत्युदर सन् २०२२ मा घटेर २१ पुगेको सरकारी तथ्याङ्क छ ।
नेपालभर २ हजार ८ सय ४८ प्रसूति केन्द्रहरू छन्, भने त्यसमा दुई हजार ८३१ सञ्चालनमा छन् । यी केन्द्रहरूले प्रसूतिपूर्व हेरचाह, सामान्य प्रसूति, प्रसूतिपूर्व हेरचाह, र आधारभूत नवजात शिशु सेवाहरू प्रदान गर्छन् । अध्ययन प्रतिवेदनमा ४५ जिल्लाका २ सय २२ प्रसूति केन्द्रहरू समेटिएको छ ।
