काठमाडौँ — वीर अस्पतालले बिरामी कुरुवाका लागि कुरुवा घर निर्माण गर्ने भएको छ । अस्पतालको १३६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माले यसबारे जानकारी गराए ।
हालसम्म ७७ जिल्लाकै बिरामीको उपचार हुने गरेको वीर अस्पतालमा कुरुवा घर नभएको बताउँदै उनले राजधानीमा उपचारका लागि आउने बिरामी कुरुवाहरू समस्यामा पर्ने भएकाले अब यसका लागि व्यवस्था गर्न लागिएको जानकारी दिए ।
अस्पतालले ओपीडीको बिल्डिङबाट नयाँ सर्जिकल ब्लकमा जाने क्रममा सार्वजनिक सवारीसाधन बढी हिँड्ने बाटो भएकाले बिरामीलाई अफ्ठ्यारो परेको अनुभव गर्दै आकाशे पुल निर्माण गर्ने योजनाअनुसार काम अघि बढाएको उनले बताए । साथै, ओपीडी काउन्टर थप गरी प्रतिक्षालयको स्तरोन्नति गर्ने गरी क्यानोपी निर्माणको योजना पनि बनाइएको जानकारी दिए ।
निर्देशक शर्माले भने, ‘७७ जिल्लाकै बिरामीलाई राजधानीमा उपचारका क्रममा कुरुवा घर नभएकाले आगामी आर्थिक वर्षमा यसको निर्माण गर्ने योजनामा राखेका छौँ । ओपीडी काउन्टर थपेर प्रतिक्षालय स्तरोन्नति गर्नेगरी क्यानोपी निर्माण गर्नेछौँ । वीर अस्पतालको विस्तारित दुवाकोट परियोजनालाई यथाशिघ्र अघि बढाइयोस् । वीर अस्पताल देशको गौरव हो । यसलाई केन्द्रीय रिफरल तथा अनुसन्धान केन्द्र बनाउन एकता, प्रतिबद्धता र समर्पण आवश्यक छ ।’
