What you should know
काठमाडौँ — भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक शिक्षण अस्पतालमा मुटुको सिटी एन्जिओग्राम, मस्तिष्क, छाती, पेट, हड्डीलगायतका स्वास्थ्य समस्याको शीघ्र पहिचानका लागि आर्टिफिसियल इन्टिलिजेन्स (एआई) मा आधारित उच्चस्तरीय सिटी स्क्यान मेसिन आइतबारदेखि सञ्चालनमा ल्याइएको छ ।
उक्त मेसिनमा मुटुको नली परीक्षणबाट कुनै पनि व्यक्तिलाई हृदयाघात भए/नभएको जानकारी प्राप्त गर्न सकिनेछ ।
ह्याम्स अस्पतालको व्यवस्थापनमा सञ्चालित गठ्ठाघरस्थित नागरिक अस्पतालमा सेवा प्रारम्भ गरिएको अत्याधुनिक सिटी मेसिनले दुई मिनेटमै रोग निदानका लागि चिकित्सकले हेर्न चाहेको बिरामीको अंगको स्क्यान गर्न सक्नेछ । यस मेसिनमा स्क्यान गर्न चाहेको अंगको विवरण दिएसँगै एआईले आफैँ बिरामीको पोजिसन मिलाएर रिपोर्ट निकाल्न सक्छ ।
‘सिटी स्क्यान गर्ने बिरामी मेसिनमा सुतेपछि दायाँबायाँ ढल्कने वा आफूले सिटी स्क्यान गर्न खोजेको अंगलाई पोजिसनमा राख्नुपर्ने झन्झट हुँदैन,’ अस्पतालका अध्यक्ष आरएस भण्डारीले भने, ‘अर्थात् ‘अटो पोजिसनिङ’ मेसिन भएकाले टेबुलमा बिरामीजस्तो अवस्थामा सुतेको छ थ्रिडी क्यामेरा आफैँले स्क्यान गर्छ ।’
अहिलेसम्म काठमाडौँमा सञ्चालनमा रहेका मेसिनहरूमध्ये यसले सबैभन्दा कम रेडिएसन उत्सर्जन गर्ने पनि अध्यक्ष भण्डारीले दाबी गरे । उनका अनुसार भक्तपुर जिल्लामा विशेष गरेर हृदयाघात भएका बिरामीको समयमा नै निदान र उपचार सम्भव होस् भन्ने उद्देश्यका साथ नयाँ मेसिन जडान गरेर सञ्चालनमा ल्याइएको हो ।
उक्त मेसिन सञ्चालनको शुभारम्भ वरिष्ठ विशेषज्ञ चिकित्सकहरु डा. भोला रिजाल, डा. भगवान् कोइराला र डा. अर्जुन कार्कीले संयुक्त रूपमा गरेका छन् । कार्यक्रममा पूर्वमन्त्री मिनेन्द्र रिजाल, सांसद दुर्लभ थापालगायतले स्वास्थ्य प्रविधिमा आएको आधुनिकताको प्रयोगका लागि सेवा प्रवाह सुलभ पनि हुनुपर्ने बताएका थिए । नागरिक अस्पताल ह्याम्सको व्यवस्थापनमा सञ्चालन भइरहेको छ । ह्याम्सकै सेवासुविधा तथा गुणस्तरीय सेवा प्रदान गरेर नागरिक अस्पताल सञ्चालन गरिरहेको अध्यक्ष भण्डारीले जानकारी दिए । उनले ह्याम्सबाट पनि विशेषज्ञ सेवा सञ्चालन भइरहेकाले भक्तपुर मात्र नभइ उपत्यका पूर्वका जिल्लालाई पनि सुविधा पुग्ने बताए ।
