स्वास्थ्य बिमाको सुविधा अब एक महिनामै 

श्रावण ४, २०८२

प्रशान्त माली

Health insurance facility in one month now

What you should know

काठमाडौँ — सरकारी स्वामित्वको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको सेवा सुविधा लागू हुने समय छोटिएको छ । नयाँ आर्थिक वर्ष २०८२/८३ को साउन १ गतेबाट नयाँ बिमितले बिमा गरेको एक महिना भित्रमै सेवा लिन सक्ने व्यवस्था गरिएको हो ।

यसअघि बिमामा आबद्ध भएका नागरिकले सेवा लिन तीन महिना कुर्नुपर्ने अवस्था थियो । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बिमितहरुबाट आएको गुनासोको आधारमा तीन महिनाको समय चक्रलाई घटाएर एक महिनामा झारिएको बताए । ‘अहिले तीन महिना कुरेर मात्र नयाँ बिमित हुन पाउने कानुनी व्यवस्था हटेको छ,’ उनले भने, ‘यसले लाखौं बिमितहरु लाभान्वित हुने विश्वास गरेका छौं ।’

त्यस्तै नयाँ आर्थिक वर्षदेखि क्यान्सर, मुटुरोग, मिर्गौला रोग, टाउको र मेरुदण्डमा चोट (हेड इन्जुरी र स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर भएका बिरामीले दुई लाखसम्मको उपचार सुविधा पाउने व्यवस्था पनि लागू भएको छ । 

कार्यकारी निर्देशक काफ्लेले जटिल प्रकारको रोग लागेपछि धेरै खर्च हुने र यसले जग्गा जमिन बेच्नुपर्ने स्थिति भएर व्यक्ति गरिबीको रेखामुनि धकेलिने भइरहेकोमा त्यसलाई केही हदसम्म घटाउन यो योजना लागू गरिएको बताए । बोर्डका अनुसार ६५ लाख बिमित छन् ।

प्रशान्त

Link copied successfully