What you should know
नवलपुर — स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई परिमार्जन गरेर योगदानमा आधारित बिमा प्रणाली लागू गर्नेतर्फ छलफल भइरहेको बताएका छन् ।
व्यक्तिको आम्दानी र रोजगारको आधारमा राज्यलाई निश्चित रकम बिमा कोषमा योगदान गर्ने र बिमामा रकम जम्मा गर्न नसक्ने नागरिकका लागि राज्यले जिम्मा लिने प्रणाली विकास गर्नुपर्ने उनले बताए ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नवनिर्मित देउराली प्राथमिक अस्पतालको भवन उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । ‘आर्थिक रूपमा बिमा रकम भुक्तानी गर्न सक्षम र विपन्न नागरिकबीच एउटै प्रणाली राखेर हुँदैन,’ उनले भने, ‘बिमा प्रणालीलाई सुधार गर्नुपर्ने अवस्था आएको छ । राज्यले कम्तीमा पनि १० प्रतिशत बजेट स्वास्थ्यमा खर्च गर्नु पर्दछ ।’
स्वास्थ्य बिमाको बाँकी रकम भदौ मसान्त सम्ममा भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गर्दै पौडेलले बिमा बापत प्राप्त हुने रकमको केही प्रतिशत स्वास्थ्य संस्थाको वृद्धि विकासमा लगाउन आग्रह गरे ।
अस्पतालको लागि सुविधा सम्पन्न प्रयोगशाला र आवश्यक उपकरणको प्रवन्ध गरेर सामान्य उपचारका लागि सदरमुकाम र चितवन जानुपर्ने बाध्यता हटेको हुप्सेकोट गाउँपालिकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । पाँच श्य्याको अस्पताल यसअघि पुरानो भवनबाट सञ्चालन हुँदै आएको थियो ।
